कुनै पनि बिरामीलाई साम, दाम, दण्डभेद लगाई बचाउन प्रयास गर्ने कसम खाएर आएका हुन्छौं हामी। क्षमता र दक्षताले भ्याएसम्म बिरामीलाई आफूभन्दा माथि राखि उसकै उपचारमा तल्लिन हुन्छौं हामी। बिरामी निको हुँदा सबैभन्दा खुसीको पल हुन्छ हाम्रो भने बिरामीको अवस्था बिग्रंदा सबैभन्दा दुखको पल। र पनि देशले फड्को मार्दैछ भन्दै गर्दा, स्वास्थ्य रणनितीमा क्रान्ति आईसक्यो भन्दै गर्दा, विदेसी संस्थाहरुको सहयोगले आमूल परिवर्तनसहित सफल स्वास्थ्य संरचना हुंदैछ भन्दैगर्दा यस किसिमका हृदयविदारक घटनालाई कसरी स्वीकार्नु हामी।
सुरुमा त म बिरामीसँग कुरा गर्दै उनकै उपचारमा बढी केन्द्रित रहेँ। जब बिरामीको प्राथमिक उपचार सकाएँ, जलवियोजनलाई ठिक गराई व्लड प्रेसर र धड्कन सामान्य भएपछि, अब रगतको केहि जाँच र दिसाको जाँच गर्नुपर्छ भन्दै रिपोर्ट आएपछि पुनः परीक्षण गर्ने वाचा ठोक्दै बिरामीलाई ईमर्जेन्सिमै राखी आफू बस्ने क्वार्टर तिर लागें। जव क्वार्टरतिर लाग्दै थिएँ, मेरो मन कता कता अतालिन थालेको भान भयो। बिरामीले भनेका घटनाक्रमहरु पुनः गुन्जिन थाले। मन भारी भएजस्तो, कताकता दुखेको, कताकता पोलेको अनि कता कता चस्केको। "यो त अन्याय हैन?' आफैँलाई प्रश्न गरें। 'म ठोकेरै भन्छु हो, यो अन्याय हो, अँझ अपराध नै हो।' 'त्यसो भए दोषी को त?" यसको जवाफ चाहिँ तपाईं आफै खोज्नुहोस्। 'कठै दैवको लिला' 'भाविको लेखा' भनेर यदि तपाईं सहानुभूति दिनुहुन्छ भने त्यसको सबैभन्दा नाईके दोषी तपाई नै हो।
यी बिरामी हुन् बाजुरा जिल्ला गौमुल बस्ने पढाईले ८ पास ३८ वर्षिय कृषक। घरबाट १५ मिनेटको हिँडाई दूरिमा स्वास्थ्य ईकाई छ। दुई दिनदेखि आफू र आफ्नो छोरीलाई झाडावान्ता हुन थालेपछि उनले स्वास्थ्य इकाईमा गएर जिवनजल नल्याएका पनि होईनन्। तर उचित परामर्श र समयमै उपचार नपाउँदा उनकी लाउँलाउँ, खाउँखाउँ भन्ने कलकलाउँदो उमेरकी छोरी ७ वर्षकै उमेरमा यस पापी संसारबाट विदा भईन्। छोरीको स्वर्गाहरण भएपछि बाउलाई पनि खतरा छ भन्दै छरछिमेक, आफन्तले कहिँ बोक्दै कहिँ गाडिमा गरेर ८ घण्टा लगाएर जिल्ला अस्पताल बाजुरा ल्याएका हुन्।
सामान्य पखाला समेतको समयमा उपचार पाउन नसकिने, यो कस्तो संरचना हो? यो त एक प्रतिनिधि घटना मात्र हो, यस्तै कानसम्म नआईपुगेका, आँखाले नदेखेका घटनाहरु कति होलान्! न यसको तथ्याङ्क कसैसँग छ न त यो कुनै सरोकारको विषय छ।
स्वास्थ्य नभई अन्य कुनै विषय हुन्थ्यो भने अहिले यस घटनाले ठूलै हाईहाई पाउँथ्यो। न्याय नपाएका बलात्कारका घटनाहरु भित्तै भित्तामा टाँसिदै गर्दा म यस घटनालाई त्यो भन्दा ठूलो अपराधको संज्ञा दिन चाहन्छु। राजनिती लाजनितीमा परिणत हुँदै गर्दा एकअर्काको खिचातानीले देश संकटग्रस्त रणभूमि बन्ने निश्चित छ।
स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रलाई बेवास्ता गरि स्वास्थ्य क्षेत्रका चुनौतीहरुलाई नजरअन्दाज गर्दा यी र यस्ता घटनाहरु घटि नै रहनेछन्। फुस्रो रणनिती र फोहोर राजनितीले हाम्रो धरातल अनि दिशा नै धरापमा पारेको छ। के नेपालको सबैभन्दा न्यून मानव विकास सूचकांक रहेको जिल्ला बाजुरामा जन्मिनु अपराध हो? के नेपालकै न्यून आयु भएको मुगुमा जन्मिनु दुर्भाग्य हो? होईन भने यस किसिमका हृदयविदारक घटनाहरु कहिलेसम्म अमुक तरिकाले हेर्दै बस्नु? कहिले लाग्ला यिनीहरुको घैंटोमा घाम? कहिले जन्मेलान् स्वास्थ्य महाभारतका डा. श्रीकृष्ण? कहिले पढाउलान् भागवत स्वास्थ्य यी देशका टाउकेहरुलाई?
-(डा न्यौपाने जिल्ला अस्पताल बाजुरामा कार्यरत छन्।)