काठमाडौं - स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउन सके कोभिड जस्ता महामारीमा कुनै पनि औषधिको अभाव नहुने सरोकारवालाले बताएका छन्।
स्वास्थ्य खबरपत्रिकाले आयोजना गरेको 'कोभिड महामारीपछिको नेपाली औषधि बजार: अवसर र चुनौती' विषयक अन्तरक्रियामा बोल्दै उनीहरुले स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।
नेपाल औषधि उत्पादक संघ एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले उद्योगको विकास र विस्तार भइरहेपनि विभिन्न कारण आत्मनिर्भर हुन नसकेको बताए। औषधिका मुद्दालाई राजनीतिको विषय र मुद्दा नबनाउन उनको आग्रह थियो।
उनले भने, ‘औषधिलाई राजनीतिक विषय बनाएर अनावश्यक मुद्दा बनाइनु हुँदैन। औषधि सम्बन्धी छुट्टै नीति बनाउनुपर्छ। चाहे जो आओस परिवर्तन हुने खालका हुनु भएन।’
औषधि सम्बन्धी नियमन गर्ने निकाय नै कमजोर भएको उनले बताए।
एपोनका महासचिव विप्लव अधिकारीले स्वदेशमा भएका उद्योगलाई आत्मनिर्भर बनाएर कुनै पनि महामारीमा औषधिको अभाव र समस्या नहुने बताए। नयाँ बन्ने औषधि सम्बन्धी ऐनले स्वदेशी उत्पादकको समस्या सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
मूल्य समायोजनका सम्बन्धमा महासचिव अधिकारीले पारासिटामोल, पुनर्जलीय झोल (जीवनजल) लगायत औषधिको मूल्य समय अनुसार समायोजन गर्नुपर्ने बताए।
‘लागत नै नउठ्ने भएपछि उत्पादन गर्न समस्या हुन्छ। यी सबै समस्याहरु नयाँ बन्ने ऐनले सम्बोधन गर्न आवश्यक छ।’ उनले भने, ‘नेपालमा कुन औषधि बन्छ र बाहिरबाट ल्याउनुपर्ने के के छन् भन्ने कुराको विश्लेषण आवश्यक छ।’
एपोनका पूर्व अध्यक्ष जी नारायण बहादुर क्षेत्रीले नाकाबन्दी, कोरोना महामारी लगायतको विपदमा स्वदेशमा उत्पादन हुने औषधिको अभाव हुन नदिएको बताए। महामारीको बेलामा सरकारले पूर्व तयारी र योजना नबनाएको बताउँदै उनले समस्या आएपछि मात्र छलफल गर्ने प्रचलन बढी भएको उल्लेख गरे। स्वास्थ्य मन्त्रीहरुले आफुहरुलाई आश्वासन मात्र दिने तर कार्यान्वयन नगर्ने गरेको उनको गुनासो थियो।
उनले भने, ‘औषधि उद्योगको विकासका लागि बहाना बनाउने भन्दा पनि कार्यान्वयन र एक्सनमा जान आवश्यक छ।’
एपोनका अर्का पूर्व अध्यक्ष शंकर घिमिरेले स्वदेशी उद्योगीले उत्पादन गर्ने औषधिको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरे। उद्योगको विकासका लागि सरकारले सहज नीति र कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाई थियो।
ओम्निका ल्याब्रोटरिजका कार्यकारी निर्देशक महेश प्रधानले गत २५ वर्षदेखि स्वदेशी उद्योगीहरुले नयाँ–नयाँ औषधिहरु उत्पादन गरिरहेको बताए। स्वदेशी उद्योगीलाई सरकारले सहयोग गरे मात्र आत्मनिर्भर हुन सकिने उनले बताए।
उनले भने, ‘नेपाली उद्योगलाई माया गर्नुभयो। विकास गर्न दिनुभयो भने उद्योगले पनि माया दिन्छ। देशलाई फाइदा हुन्छ। कसैलाई काखा, कसैलाई पाखा गर्नु हुँदैन। मेरो राष्ट्रले मलाई औषधि बाहिर पठाउन सहयोग र्न गरेको छैन। अनि मैले बाहिर औषधि कसरी पठाउने ?’
यतिकेम ग्रुपका अध्यक्ष प्रभु वैद्यले नेपालको औषधि बजार बढ्दो क्रममा रहेको जानकारी दिए। उनले कोभिड महामारीको समयमा रेम्डिशिभिर, टोसिलिजुम्याब लगायतका औषधि आयातकर्ताहरुले ल्याउर उपचारमा सहयोग गर्न सकिएको जानकारी दिए।
नेपाल औषधि आयातकर्ता संघका उपाध्यक्ष शम्भु कार्कीले महामारीको बेला औषधि आयात गर्न निकै कठीन भएको सुनाए। विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका औषधिहरु सरकारले सहज तरिकाले ल्याउन दिनुपर्ने उनको भनाई थियो। भारतमा हरेक वर्ष औषधिको मूल्य समायोजन भएपनि नेपालमा १४ वर्षदेखि समायोजन हुन नसकेको उनले बताए।
नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले सरकारी र निजी दुवै उद्योगको विकासका लागि सरकारी साथ र सहयोग आवश्यक रहेको बताएका छन्। अत्यावश्यक औषधिहरु उत्पादन गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले जानकारी दिए। आफुहरुले भ्याक्सिन बनाउने क्षमता भएपनि यसको लागि ठूलो लगानी, नविनतम प्रविधि र समय लाग्ने उनले बताए।
कार्यक्रममा औषधि व्यवस्था विभागका प्रवक्ता एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले स्वदेशी औषधि उद्योगको विकास र आत्मनिर्भरताका लागि आफुहरु प्रतिवद्ध रहेको बताए। स्वदेशी उद्योगलाई आफुहरुले सक्दो सहुलियत सुविधा दिएको उनको भनाई थियो। निर्यात गर्ने तर्फ पनि ध्यान दिन उद्योगीहरुलाई उनको सुझाव थियो। नेपाल अझै पनि नयाँ प्रविधि भित्र्याउन र बजारको विषयमा पछि नै रहेको उनले बताए। उनका अनुसार हाल नेपालमा ७२ वटा औषधि उद्योग दर्ता भएका छन् भने २५/३० वटा दर्ता गर्ने क्रममा छन्।
कार्यक्रममा राष्ट्रिय औषधि प्रयोगशालाका निमित्त निर्देशक पानबहादुर क्षेत्रीले औषधिको गुणस्तर जाँचका लागि संघीय संरचना अनुसार सबै प्रदेशमा औषधि प्रयोगशाला विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए। उनले यसका लागि आवश्यक छलफल अगाडि बढेको पनि जानकारी दिए।
विभागका महानिर्देशक भरत भट्टराईले सीमित जनशक्ति र स्रोत साधनका कारण सोचेको जति काम गर्न नसकेको बताए। यद्यपि स्वदेशी उद्योगको विकासका लागि आफुले सक्दो प्रयास गर्ने उनको भनाई थियो। नीति, ऐनदेखि सबै व्यवस्थाहरु पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायले देशमा राजनीतिक स्थिरता नभएसम्म कुनै पनि क्षेत्रमा समुचित विकास हुन नसक्ने बताए। देश संघीयतामा गएपनि औषधि व्यवस्था विभाग संघीय संरचना अनुसार जान नसकेको पनि उनले बताए।
सरकारले निर्माण गर्न लागेको स्वास्थ्य रणनीतिमा विभाग तथा अस्पतालहरुको पुनर्संरचनाका लागि संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गर्ने तयारी भएको उनले जानकारी दिए। जसले हालका समस्याहरु समाधान हुनेमा उनको विश्वास थियो। औषधिको गुणस्तरमा अझै पनि ध्यान दिन उद्योगीहरुलाई उनको सुझाव थियो।
कार्यक्रममा टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपालमा क्यान्सरका औषधिको बजार, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राखेका थिए भने एभरेष्ट प्यारेन्टियल्सका कार्यकारी निर्देशक उमंग राना सरियाले स्लाइनको उत्पादन र बजारका विषयमा प्रष्ट पारेका थिए।
यस्तै क्यूबिडी फर्मास्युटिक्लसका जेनेरल म्यानेजर मार्केटिङ ऋषि भण्डारीले नयाँ औषधि कम्पनीको चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए।
एपोनको क्वालिटी सर्कल कोअर्डिनेटर सुमित चन्द्र श्रेष्ठले औषधिको गुणस्तरका विषयमा जानकारी दिएका थिए।