काठमाडौं– व्यापारी सुलभ अग्रवालको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। चैत १ गते अग्रवालले ‘सेटिङ’ गरेर सफाइ पाउन खोजेका थिए। तर, सरकारी वकिलको कार्यालयले पेसी स्थगित गर्न निवेदन दिएपछि उनको योजना सफल हुन सकेन।
विवादित न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासमा परेपछि सरकारी वकिलकाे कार्यालय काठमाडौंले पेसी स्थगित गर्न निवेदन दिएको थियो। विवादित फैसलाका कारण कारबाहीको चरणमा रहेका निरौलामार्फत् सफाइ पाउने अग्रवालको योजनाबारे सूचना पाएपछि सरकारी वकिलले पेसी स्थगित गर्न निवेदन दिएको थियो। त्यसपछि जिल्ला अदालतले उक्त मुद्दालाई पेसीबाट हटाएको थियो। जसमा अहिलेसम्म पेसी तोकिएको छैन।
सम्भवत: वैशाख पहिलो साताभित्र मुद्दा पेसीमा जाने काठमाडौं अदालत स्रोतको भनाइ छ। जिल्ला अदालतमा समेत गोलाप्रथाद्वारा पेसी तोकिने भएकाले अब कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने पूर्वआँकलन हुँदैन। गोला तान्ने दिन बिहान ११ बजेपछि मात्र मुद्दाको पेसीको बारेमा जानकारी हुनेछ।
सर्वोच्चदेखि जिल्ला अदालतसम्म गोलाप्रथाबाट पेसी तोक्ने प्रणाली सुरु भएकाले मुद्दामा पहिल्यै 'सेटिङ' हुने सम्भावना नरहेको कानुन व्यवसायीको भनाइ छ। तर, अग्रवाल पक्षले भने आफूले चाहेको न्यायाधीशको बेञ्चमा मुद्दा नपरुञ्जेलसम्म मुद्दा सारिरहने सम्भावना छ।
चैत १ गते सरकारी पक्षले सारेपछि सुलभको कालोबजारीसम्वन्धी मुद्दा चैत १७ गते पेसीमा चढेको थियो। उक्त दिन जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासमा पेसी थियो। तर सुलभ पक्षका कानुन व्यवसायीले हटाउन निवेदन दिएपछि मुद्दा पेसीबाट हट्याे। अबको केही समय पनि उनीहरुले यही प्रक्रिया अपनाउने देखिन्छ।
जिल्ला अदालत काठमाडौका दुई न्यायाधीश फैसलाका कारण विवादित भएर सर्वोच्च अदालत छानबिनका लागि तानिएकाले अग्रवालको पक्षमा फैसला सुनाउन न्यायाधीशहरु अगाडि सर्न तयार नहुने भएकाले उनीहरुले केही समय लगातार सार्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक वकिलले जनाए। उनले उक्त मुद्दा अब छिटै पेसीमा पर्ने वा फैसला नहुने बताए। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अदालतमा हुने चलखेलका विषयमा कडाइका साथ कदम चाल्न जिल्ला र उच्च अदालतलाई निर्देशन दिएकाले यस्ता विवादका मुद्दामा अब केही समय फैसला नहुने सरकारी पक्षको बुझाई छ।
११सयभन्दा धेरै थर्मलगन कालो बजारमा बिक्री भयो
सरकारी पक्षले अदालतमा अग्रवाल ६७ वटा थर्मलगनसहित पक्राउ परेको तर त्यसअघि नै करिब ११ सय थर्मलगन कालोबजारी गरेर बिक्री गरिएको दाबी गर्ने तयारी गरेको छ। अग्रवालले अदालत र प्रहरीको बयानमा आफू नक्सालमा पक्राउ पर्दा ६७ गन साथमै भएको स्वीकार गरेको र प्रहरीले पछि घर र कार्यालय खानतलासी गर्दा थप फेला नपरेकाले तिनीहरु महङ्गो मूल्यमा बिक्री गरेको दावी गर्ने तयारी गरेको हो।
स्वास्थ्यखबरलाई प्राप्त बयानमा अग्रवालले आफूले कोरोना महामारीको समयमा चीनबाट खरिद गरेको र थर्मल गन बिक्री गर्न हिँडेको स्वीकार गरेका छन्। उनले आफू पक्राउ परेको स्थानमा ६७ थान थर्मलगन बिक्रीका लागि लिएर पुगेको बयान दिएका छन्। जिल्ला अदालतमा न्यायाधीशसमक्ष गरेको बयानमा पनि उनले उक्त कुरा स्वीकार गरेका छन्।
उनले केही थान थर्मलगन जोरा इन्टरनेसनलबाट खरिद गरेको भन्दै भ्याट बिल पेस गरेका छन्। उनको यो दाबी पनि झुटो (फल्ट) देखिएको सरकारी वकिलको दाबी छ। चीनबाट नेपाल वायु सेवा निगममा उनले मेडिकल सामग्री भित्र्याएको र ७५ प्रतिशतभन्दा धेरै नाफा लिएर बिक्री गरेको अभियोग लागेपछि त्यसबाट बँच्न जोरा इन्टरनेसनलको नक्कली बिल पेस गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकृतले बताए।
यही तथ्यमा टेकेर उनले आफूले गर्दै आएको सिमेन्ट र अन्य व्यवसायभन्दा फरक व्यवसायमा महामारीको समयमै हात हाल्नु र वायु सेवा निगमको विमानबाट चार्टर गरेर सेटिङमा सामान ल्याएर कालोबजारी नै गर्ने मनसाय देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। २०७७ वैशाख ३ गते नेपाली बजारमा थर्मलगनको मूल्य ३ हजारदेखि ४ हजार १ सय रुपैयाँसम्म रहेको जिकिर गरिएकाे छ।
त्यस्तै, अग्रवाल आफैंले दिएको बयानमा उनी फस्ने अर्को आधार भनेको खरिद दाबी गरेको मूल्य पनि हो। आफूले तत्कालीन समयमा २० अमेरिकी डलरमा खरिद गरेको दाबी अग्रवालकाे छ। तत्कालीन समयको हिसाब अनुसार अनलाइनहरूमा ३ हजार ६३८ रुपैयाँमा पाइने गरेको दाबी अभियोग पत्रमा गरिएको छ। उक्त समयमा एक डलरको नेपाली रुपैयाँ खरिदका लागि ११९.८० र बिक्रीका लागि १२०.४० रहेको देखिन्छ। यसरी हेर्दा उक्त थर्मलगनको भुक्तानी रकम २ हजार ४ सय अधिकतम नेपाली रुपैयाँ पर्न जाने देखिन्छ। उनले सस्तो मुल्यमा ल्याएर महामारीको समयमा महङ्गोमा बिक्री गरेको कुरा उनको कल डिटेलले पनि पुष्टि गर्ने अभियोगपत्रमा दाबी गरिएको छ।
तीन मोबाइलबाट डिल
सुलभले यसरी ल्याएको सामग्री बिक्री गर्न फरक-फरक तीन मोबाइल नम्बर प्रयोग गरेको दावी सरकारी पक्षले गरेको छ। अभियोगपत्रमा नेपाल टेलिकमको पोष्टपेड,प्रिपेड र एनसेलको एउटा नम्बरको कल डिटेल नै अभियोगपत्रसँगै पेश गरिएकाे छ। कल डिटेलमा अग्रवालले कुन-कुन नम्बरमा कसरी डिल गरे भन्ने प्रमाण देखिने सरकारी वकिलको दाबी छ। उनले पछिल्लो समय खरिदकर्ताको आवरणमा पुगेका प्रहरीसँग पनि त्यस प्रकारको कुराकानी गरेको अभियोगपत्रमा दाबी गरिएको छ। यस्तै अग्रवालले एनसेलको फोनबाट २२२१ पटक, नेपाल टेलिकमको पोष्टपेडबाट ९५१ पटक र प्रिपेडबाट ४०८ पटक यस्तो सामग्री खरिद बिक्रीको डिल गरेकाे अभियोगपत्रमा दावी गरिएको छ।
कूटनीतिक आवरणमा गाडी चढ्न चलखेल
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक अग्रवालले प्रयोग गरेको गाडी नै अवैधानिक रहेकोे भन्दै नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाईएको थियो। तर उनले उक्त गाडी पछि उच्च अदालत पुगेर चलखेलमार्फत् छुटाएका थिए। जिल्ला अदालतले गाडी फुकुवा गर्न अस्वीकार गरेपछि उनी जिल्ला अदालतलाई विपक्षी बनाउदै उच्च अदालत पाटन पुगेका थिए। २०७७ पुस २ गते अग्रवालको निवेदनपछि तत्कालीन मुख्य न्यायाधीश कुमार चुडाल र श्रीमणकुमार गौतमको इजलासले गाडी छुटाउन सफल भएका थिए।
तर उच्च अदालतले कडा शर्तसहित गाडी छोड्न आदेश गरेको थियो। उच्चले उनलाई गाडीको रकम बराबर धरौटी वा जमानत राख्नुपर्ने भनेको थियो। अरु आदेशको हकमा जिल्ला अदालतको आदेश उच्चले सदर गरेको थियो। त्यसपछि उनले गाडीको मूल्यांकन बराबरको रकम धरौटी राखेर छुटाएका थिए। उनले उक्त गाडी विनाधरौटी छोड्नुपर्ने दाबी गरेका थिए । तर अदालतले उनको उक्त दावी अस्वीकार गरेको थियो ।
कालोबजारी गर्न ६७ थान थर्मलगन बोकेको नियोगको २०९ एचसिसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो। उनले आफू नेपालका लागि किर्गिजस्तानका मानार्थ महावाणिज्यदूत भएको र सोही सुविधाबापत कूटनीतिक नियोगको गाडी प्रयाेग गर्दै आएको प्रहरीसमक्ष बताएका थिए। उनले अहिले फेरि उक्त सुविधा प्रयोग गर्ने चलखेल पनि गरिरहेका छन्। जिल्ला अदालतमा मुद्दा दर्तापछि सरकारले उनको मानार्थ महावाणिज्यदूतको जिम्मेवारी खोसेको थियो । उनले यसरी कूटनीतिक आवरणमा झन्डा राखेर गाडी चलाउन नपाउने भएका थिए।
थर्मलगनको कालोबजारी हुने गरेको थाहा पाएपछि महाशाखाका प्रहरी ग्राहक बनेर अग्रवालसँग थर्मलगन किन्न गएका थिए। ४ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्न लागेपछि प्रहरीले उनलाई नक्सालबाट पक्राउ गरेको हो।