काठमाडौं- नरदेवी आयुर्वेद चिकित्सालयले जटिल खालका गुदगत (एनोरेक्टल) रोगहरूको उपचारको लागि पहिलोपटक स्पाइनल एनेस्थेसिया सहितको क्षारसूत्र विधि सुरु गरेको छ।
चिकित्सालयमा आयुर्वेद चिकित्साका विशेषज्ञ शल्य चिकित्सक र आधुनिक चिकित्साका एनेस्थेसिस्टको संयुक्त प्रयासमा जटिल प्रकारको अर्श (पाइल्स) रोगको उपचार सफलताका साथ प्रयोग गरिएको अस्पतालका निर्देशक डा प्रदिप केसीले जानकारी दिए।
हाल काठमाडौं लगायत विभिन्न ठाउँमा आयुर्वेदिक क्षारसूत्र चिकित्साको नाममा दक्ष जनशक्ति र सुविधासम्पन्न ओटीको व्यवस्था बिना नै सामान्य क्लिनिकमा क्षारसूत्र चिकित्सा गर्ने भन्दै सर्वसाधारणहरूबाट महंगो शुल्क लिने गरिएको केसीको भनाई छ।
हाल यस खालको चिकित्साको लागि ५० देखि ८० हजारसम्म शुल्क लिने गरेको पाइन्छ। नरदेवी आयुर्वेद चिकित्सालयले भने १५ हजार शुल्कमा सुविधासम्पन्न ओटी र शल्यक्रिया पश्चात् बिरामीको स्वास्थ्य स्थितिको मोनिटरिङको व्यवस्थासहित उपचार गरिरहेको केसीको भनाई छ। निजीमा भन्दा चार गुणा सस्तोमा उपचार हुने उनकाे दावि छ।
के हो स्पाईनल एनेस्थेसिया
साधारणतया तल्लो मेरुदण्डमा रहने खाली ठाउँबाट एउटा सुईद्धारा औषधि पठाएर प्राय नाभी भन्दा तलको भाग लठ्याउने प्रक्रिया जसबाट नाभी भन्दा तलको जुनसुकै शल्यक्रिया गर्न सकिन्छ त्यसलाई स्पाईनल एनेस्थेसिया भन्ने गरिन्छ।
यो विशेषगरी खुट्टा र कम्मरको हड्डीको रोगहरुमा, हर्निया, हाइड्रोसिल लगायत जनरल सर्जरीहरुमा, खुट्टाको रक्तनलिको शल्यक्रियामा, मूत्रमार्गका शल्यक्रियामा र स्त्री तथा प्रसूति सम्बन्धी सम्पूर्ण शल्यक्रियाहरुमा उपयुक्त हुन्छ।
जसले बिरामीलाई अत्यन्त कम पिडा हुने र शल्य चिकित्सकलाई सजिलै शल्यक्रिया गर्न मद्दत पुग्ने डा केसी बताउँछन्। भर्खरमात्र केन्द्रीय आयुर्वेद अस्पताल नरदेवीमा यो सुबिधाको सुरुवात भएको छ।
प्राय गुदद्वार र सामान्य शल्यक्रिया भईरहेको यस अस्पतालमा सरल खालका शल्यक्रिया हुनेगरेता पनि जटिल समस्याहरुका लागि अन्य सुबिधायुक्त अस्पतालहरुमा रेफर गर्ने गरिन्थ्यो। जुन अब स्पाईनल एनेस्थेसियाको सुबिधासँगै एनेस्थेसिस्ट डाक्टरको सहयोगले उक्त अस्पतालमा सो सेवा उपलब्ध हुने भएको हो।
यो सुबिधा आए सँगै अब जटिल खालका एनल फिस्टूला (भगंदर), तेस्रो र चौथो स्टेजका पाईल्स, पिलो लगायतका मलद्वार वरिपरि पिप जम्ने समस्या, पोलिप, फिसर, पाइलोनाईडल साइनस, मलद्वार वरिपरि मुसा पलाएको समस्या आदिको शल्यक्रिया गर्न सकिने भएको छ।
यो सँगै अन्य शल्यक्रियाहरुलाई पनि विस्तार गर्न बाटो खुलेको अस्पतालले जनाएको छ। आयुर्वेदमा प्रख्यात रहेको क्षारसूत्रको प्रयोग बाट नै प्राय उपचार गरिने भएतापनि यसलाई अझ व्यवस्थित र मर्यादित बनाएर बिरामीहरुलाई सकेको राम्रो उपचार गर्नका निम्ति आयुर्वेदका शल्यक्रियाका क्षेत्रहरु जसमा क्षारसूत्र एउटा उदाहरण मात्र रहेको र अन्य क्षेत्रको विकासका निम्ति आयुर्वेदको क्षेत्रमा अभाव रहेको एनेस्थेसियासँग आयुर्वेद शल्यचिकित्साको एकीकरणले शल्य चिकित्साकै क्षेत्रमा एउटा नविन सुरुवात भएको डा केसीको भनाई छ।
जसबाट नेपाली नागरिकहरु बढी लाभान्वित हुने र आयुर्वेद र समकालीन चिकित्सा क्षेत्रको आपसी सहयोग बढ्ने डा केसीको भनाई छ।