काठमाडौं– स्वास्थ्यमन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससबीच भेटवार्ता भएको छ। आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।
भेटवार्ताका अवसरमा महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको छ। तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्।
'दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं। आफ्नो महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौं।' मन्त्री खतिवडाले भनेका छन्।
नेपाल सन् १९५३ मा डब्लूएचओसँग आवद्ध भएदेखि नै नेपाल र डब्लूएचओबीच उत्कृष्ट कार्यात्मक सम्बन्ध रहिआएको भनदै मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा प्रशंसा गरे।
उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोगका लागि अनुरोध गरे।
उनले स्वास्थ्य संकटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका लागि डब्लुएचओको भूमिका अझै सुदृढ बनाइराख्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जिन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकोमा डब्लुएचओप्रति आभार व्यक्त गरे।
भेटका क्रममा मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको बताए।
उनले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२-२०३० पनि तर्जुमाको चरणमा रहेको बताउँदै सरकारले संक्रामक र नसर्ने रोगहरूको अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, हेरचाह, उन्मूलन र नियमनका लागि राष्ट्रिय स्तरमा एकीकृत संस्था स्थापना गर्ने योजना बनाएको बताए।
विगत केही वर्षहरूदेखि नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धिहरू हासिल गर्न सफल भएको छ भन्दै उनले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताए।