बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्छ। थप खाना खुवाउँदा बालबालिकाको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा ध्यान दिनु पर्छ।
६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक थप खाना खुवाउनु पर्दछ। खाना शुरु गर्दा २ देखि ३ चम्चाबाट शुरु गर्नु पर्दछ र बिस्तारै एकपटकमा १ चिया गिलास वा कचौरा (१२५ मि.लि) बराबरसम्म खुवाउनु पर्दछ।
९ देखि १२ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनु पर्दछ। खाजामा केरा, अण्डा जस्ता खानेकुरालाई समावेश गर्नु पर्दछ।. थप खाना हरेकपटकमा १ चिया गिलास वा कचौरा (१२५ मि.लि) बराबर खुवाउनु पर्छ।
१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ। हरेक पटकमा २ चिया गिलास वा कचौरा (२५० मि.लि) बराबर खुवाउनु पर्दछ।
'हरेक बार खाना चार'
हरेक दिनको थप खानामा पनि (१) अन्न वा कन्दमूल, (२) गेडागुडी / तेलहन, (३) पशुपंक्षिजन्य श्रोतका खानेकुरा (दूध तथा दूग्ध पदार्थ, माछा/मासु, अण्डा) र (४) हरियो सागपात र फलफूल समूह मिलाएर खुवाउनु पर्दछ।
लिटो, जाउलो, गहुँ, कोदो, मकै, फापर, दाल, पालुङ्गो, मिचेको केरा, तरबुजा/खरबुजा, मेवा, स्याउ र मिचेको काउली, गाजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न प्रकारका तरकारी, अण्डा, माछा, मासु आदि खुवाउनु पर्दछ।
थप खाना बनाउँदा खानेकुरा राम्ररी पखाल्नुपर्छ। पकाउने व्यक्ति, भाँडा बर्तन र बालबालिकाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। बालबालिकालाई खुवाउने खाना बाक्लो र राम्ररी मिचेर नरम बनाएको हुनुपर्छ।
थप खाना खुवाउन शुरु गर्दा सजिलैसँग खान नमान्ने हुनसक्छ।
साथै ६ महिनादेखि दुई वर्षका बालबालिकालाई आवश्यक सम्पूर्ण पौष्टिक तत्व पाउनका लागि नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकाबाट निःशुल्क पाइने बहूसूक्ष्म पोषक तत्व (बाल भिटा) पनि लिटो वा जाउलोसँग मिसाएर खुवाउनु पर्छ।
(यो सामग्री युनिसेफ नेपालबाट लिइएको हो।)