मंकीपक्स सन १९५८ मा बाँदर प्रजातिमा पहिलो पटक देखिएको थियो। यो हेर्दा बिफर (small pox), ठेउला (chicken pox) जस्तो देखिने रोग हो। यो मंकीपक्स भन्ने भाइरस ले गराउछ जुन western african strain र central African stain गरी दुई प्रकार को हुन्छ। यो अफ्रिकी मुलुकमा १९७० देखी नै देखिराखेको भाइरस हो। त्यो बेलादेखि २०१७ सम्म सोही मुलुकहरुमा पटक पटक आउट्ब्रेक भएको देखिन्छ। सन २००३ मा मात्र यो पहिलो पटक आफ्रिकी मुलुक बाहिर अमेरिकामा देखियो।
त्यसपछि क्रमस २०२१ सम्म पटक पटक इजरायलका साथै बेलायत, अमेरिका, सिङ्गापुरहरुमा फैलिँदै गयो। २०२१ सम्म यी मुलुकमा फैलेको मंकीपक्स अफ्रिकी मुलुकबाट अएका मानिस वा जनावरको सम्पर्कले भएको थियो भने अहिले २०२२ मा यो आफ्रकी मुलुकको सम्पर्क बिना नै २० देशका २०० जनामा फैलिसकेको छ जुन चिन्ता र अनुसन्धानको विषय हो। खुशी को कुरा के छ भने यो रोग बिफर जस्तो घातक पनि छैन र कोभिड १९ जस्तो संक्रामक पनि छैन।
यो रोग कसरी सर्छ?
मुसा, बाँदर्, गिल्हरी (squirrel) जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्दछ र यी जनावरहरुको सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ। श्वासप्रश्वास्, संक्रमित छालाको सम्पर्कले मानिसदेखि मानिसमा पनि यो रोग सर्न सक्छ। त्यसैगरी गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्छ। यौन सम्पर्कबाट सर्छ सर्दैन भन्ने अझै एकिन भैसकेको छैन तर यो समलिङगी समाजमा भने बढी देखिएको छ।
लक्षणहरु
सक्रमण भएको ५ देखी २१ दिन सम्ममा लक्षण देखिन सक्छ। पहिले काम ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी, काखीहरुमा गिर्खा आउने हुन्छ। त्यसपछि छालामा विभिन्न प्रकारका बिबिराहरु आउने हुन्छ। जुन पहिला मुखबाट सुरु भएर बिस्तारै शरीर भरि, हत्केला र पैताला, गोप्य अङग, मुखभित्र र आखाभित्र पनि फैलिन्छ। डाबरको प्रकार हेर्ने हो भने पहिला रातो रातो हुन्छ अनि घमौरा जस्तो उठेको हुन्छ।
बिस्तारै पानीको फोका जस्तै अनि पीप भरिएको जस्तो भएर अन्तिममा फुटेर पाप्राहरु बस्ने गर्दछ। झ्ट्ट हेर्दा यो ठेउला वा बिफर जस्तो देखिन्छ तर दुईटा कुरा ले यो छुटिन्छ-
ठेउलामा एक समय एक ठाउँमा विभिन्न प्रकारका डाबरहरु हुन्छन जुन प्राय चिलाउँछ। तर मंकीपक्समा एक समयमा एक ठाउँमा एकै खाले मात्र, प्राय दुख्ने, अलि गहिरो, बिचमा खाल्टो परेको डाबरहरु हुन्छ। बिफर र मंकीपक्स भने हेर्दा उस्तै नै हुन्छ केवल घाँटी र काखीको गिर्खाले मात्र छुट्याउन सकिन्छ।
निदान्
धेरै जसो लक्षणबाट मात्रै पनि यो रोग पत्ता लगाउन सकिन्छ। यो बाहेक छालाको जाँच वा फोकाको पानीको पीसीआर गरेर पनि रोग पत्ता लगाउँन सकिन्छ।
उपचार
धेरै जस्तो मानिस मा यस्ले कुनै जटिल्ता निम्त्याउँदैन र २-४ हप्तामा आफैं निको भएर जान्छ भने बच्चा, वृद्धवृद्धा र दिर्घरोगीलाई भने यसले च्याप्न सक्छ र जटिलता निम्त्याउन सक्छ । जस्तो कि छाला को संक्रमण, अङगहरुको संक्रमण, निमोनिया, इन्सेफलाईटिस र आँखाको संक्ररमण। यो रोगको मृत्युदर ०-११ प्रतिशतको बिचमा छ। अहिले २०२२ मा देखिएको west African strain को मृत्यु दर भने धेरै कम छ। सिकिस्त बिरामीहरुको लागि एन्टिभाइरल औषधि जस्तै टेकोभिरिम्याट पनि उपलब्ध छ। २०२२ मा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन न कि २००३ मा पनि कसैको मृत्यु भयो। त्यसैले यस बारे आत्तिहाल्नु पर्दैन र कोभिड जस्तो महमारी आउला भनेर डराउनु पनि पर्दैन किनकी यो श्वासप्रश्वासबाट पनि छोटो सम्पर्कले सर्दैन।
रोकथाम
संक्रमण फैलिन नदिन जनचेतना मुलक कार्यक्रम गर्ने,संक्रमित र तीनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइन गर्ने र भेक्सिनको प्रयोग गर्नाले यसबाट धेरै हद सम्म बच्न सकिन्छ। बिफरको भेक्सिनले यो रोगमा ८५ प्रतिशतसम्म काम गर्दछ। तर बिफर लोप भई सकेकोले गर्दा भेक्सिन अहिले बजारमा उपलब्द छैन। अन्कारा नाम गरेको भेक्सिनको दुई डोज भने लगाउँन सकिन्छ जुन २०१९ देखी अमेरिका, यूरोप, क्यानडामा मान्यता प्राप्त छ तर पर्याप्त मात्र मा भने छैन। उच्च जोखिम भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले यो लगाउनु जरुरी छ।
कोभिड जस्तो श्वासप्रश्वासबाट छिटो नफैलिने, भेक्सिन बनिसकेको र हाल अफ्रिका बाहिरा देखिएको west african strain को मृत्युदर पनि कम भएकोले गर्दा त्यति आतिहाल्नु पर्दैन तर संक्रमणबाट जोगिन साबधानी भने अपनाउनु पर्छ। यौन सम्पर्कबाट सर्छ सर्दैन भन्ने अझै एकिन नभैसकेको र अफ्रिकी मुलुकको मान्छे र जनावरको सम्पर्क बिना नै अफ्रिकी मुलुक बाहिरा बढीरहेको ले यो ठ्याक्कै कुन गतिमा फैलिन्छ भनेर अनुमान भने गर्न सकिन्न।
(डा भुसाल छाला यौन तथा सौन्दर्य विशेषज्ञको रुपमा माल्दिभ्समा कार्यरत छन्।)