काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न १३ वटा अस्पतालहरुलाई परिपत्र गरेको छ। उक्त सेवा लागू गर्ने १३ वटा अस्पतालहरुलाई मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको हो।
मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि सरकारले १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा सञ्चालन गर्ने तयारी गरेको छ। हाल पनि धेरै अस्पतालमा मानसिक रोगको उपचारका लागि शय्या छुट्याइएको छैन। उक्त सेवा सुरु भएपछि मानसिक रोगको उपचार गर्न सहज हुने नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले बताए।
‘१३ अस्पतालमा सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयबाट करिब एक महिनाअघि परिपत्र भइसक्यो। कति अस्पतालले सुरु गर्न थालेका छन्। कतिको स्थान नै छैन। सेवा सुरु गर्न बजेट पठाएपनि ठाउँ नै छैन।’ उनले भने, ‘अब यो सेवा सुरु गर्न की नयाँ निर्माण गर्नुप¥यो। तर यो कार्यक्रमले नयाँ भवन बनाउनु भन्दैन। भएको संरचनामा शय्या थपेर सेवा सञ्चालन गर्नु भन्छ।’
१० शय्या सहित सेवा सुरु गर्न भनिएपनि कतिपय अस्पतालको पुरानो भौतिक संरचना र स्थान अभावका कारण समस्या भइरहेको उनले बताए। उनका अनुसार सेवा सुरु गर्न विशेष किसिमको व्यवस्था नै गर्नुपर्ने हुन्छ।
‘गम्भीर खालको मानसिक रोगका बिरामी राख्नुप¥यो भने च्यानल गेट राख्नुपर्छ। गार्ड राख्नुपर्छ। शय्या थपेर मात्र सेवा सुरु हुने होइन। उनीहरु हिंस्रक हुन्छन्। उनीहरुको हेरचाह गर्नुपर्यो’ उनले भने।
उक्त सेवा सुरु गर्न मनोचिकित्सक, कम्तीमा एक जना क्लिनीक साइकोलोजिस्ट, साइकाइट्रिक्स नर्स र काउन्सिलर जनशक्ति आवश्यक पर्छ। १३ अस्पतालहरुमा डिप्रेसन लगायत उपचारमा प्रयोग हुने इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) उपकरण सहितको सेवा सुरु गरिने शाखाले जनाएको छ। तोकिएका १३ अस्पतालमा सेवा सुरु भए/नभएको बारे अनुगमन भदौदेखि सुरु गरिने उनले बताए। आर्थिक वर्ष २०७९/८० मा सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए।
‘कुन अस्पतालमा सेवा सुरु भयो ? कुनमा भएन ? भएन भने किन भएन ? भनेर हामी अनुगमन गर्छौ। सेवा सुरु नभएका अस्पतालमा कारण पत्ता लगाएर डब्लुएचओलाई सहयोगका लागि आग्रह गरेर भएपनि सेवा सुरु गर्ने लक्ष्य हो’ उनले भने।
यी हुन्, मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन हुने अस्पतालहरुको सूचीः
१. मेची अस्पताल, भद्रपुर झापा
२. कोशी अस्पताल, विराटनगर कोशी
३. राजविराज अस्पताल, सप्तरी
४. जनकपुर अस्पताल, धनुषा
५. वीरगञज अस्पताल, पर्सा
६. हेटौडा अस्पताल, मकवानपुर
७. बागलुङ अस्पताल, बागलुङ
८. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रुपन्देही
९. तुलसीपुर अस्पताल, दाङ
१०. भेरी अस्पताल नेपालगञ्ज बाँके
११. सुर्खेत अस्पताल, सुर्खेत
१२. सेती अस्पताल, धनगढी कैलाली
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा