काठमाडौं - क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाउन लागेको ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलोपमेन्ट’ को काम सुरु भएको छ। चालु आर्थिक वर्षभित्र उक्त रणनीति बनाइसक्ने सरकारको लक्ष्य थियो।
तर आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदा बल्ला काम सुरु भएको छ। सबै किसिमको क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलो पटक विशेष रणनीति बनाउन लागेको हो। चालु आर्थिक वर्षभित्र रणनीति बनाउने र आगामी वर्षदेखि लागू गर्ने सरकारको तयारी थियो।
हाल विज्ञहरुले रणनीति बनाउनका लागि ड्राफ्टमा काम भइरहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले बताए।
उनले भने, ‘अहिले ड्राफ्टको काम हुँदैछ। यही असार २ र ३ गते ड्राफ्ट माथि बहस हुन्छ। त्यसमा उठेका सुझावहरुलाई समेटिएर परिमार्जन गर्ने काम हुन्छ। उहाँहरुले फाइनल प्रति असारको मसान्तभित्र हामीलाई बुझाइसक्नुपर्छ।’
आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक भित्र रणनीति बनाएर सक्ने उनले बताए। रणनीति बनिसकेपछि प्रत्येक प्रदेशमा अभिमुखिकीकरण समेत गरिने उनले बताए।
हाल विभिन्न अस्पतालबाट क्यान्सर रोगको उपचार भएपनि राष्ट्रियस्तरको रणनीति नै सरकारसँग छैन। विभिन्न क्यान्सरको जोखिम कारक बारे जनतालाई सूसुचित गर्ने, जोखिम कम गर्ने, प्रारम्भिक पहिचान र उपचार लगायतको कुरा यस रणनीतिमा समेटिने छन्। साथै क्यान्सर सम्बन्धी अध्ययन अनुसन्धानका कुराहरु पनि रणनीतिको प्राथमिकतामा परेको उनले जानकारी दिए।
उनका अनुसार रणनीति बनेपछि सरकार र नागरिक दुवैलाई फाइदा हुनेछ। उक्त रणनीतिले क्यान्सरको क्षेत्रमा सरकारलाई गाइडिङ डकुमेन्टको काम हुने उनले बताए। यसको आधारमा सरकारले बजेट बिनियोजन गरेर कार्यक्रमहरु समेत ल्याइनेछ।
उनले भने, चौथो चरणको क्यान्सर लागिसकेका व्यक्तिको जीवनयापनलाई सहज बनाउने विषयलाई पनि रणनीतिले प्राथमिकतामा राखेको छ। यो रणनीति बनिसकेपछि यसको आधारमा स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयले बजेट बिनियोजन गरेर कार्यक्रम अघि बढाउने छन्।
कुल मृत्युको ७१ प्रतिशत कारण नसर्ने रोगका कारण हुने गरेको छ। सन् २०१८ सम्ममा यो संख्या ६५ प्रतिशत मात्र थियो। ६० वर्ष माथिका व्यक्तिलाई नसर्ने रोग लागे सामान्य मान्न सकिएपनि हाल ४० वर्ष माथिका व्यक्तिमा ह्रदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको उनले बताए।