काठमाडौं–संयुक्त राष्ट्रसंघ–आगामी नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।
संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसंख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसंख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ। हरेक मिनेटमा २७० बच्चा जन्मिने आँकडा सार्वजनिक भएको छ।
उक्त अवसरमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले भने, ‘पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो। यो हामी अझै पनि एक अर्काप्रति प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो।'
‘वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ।
सन् २०२० मा यो दर एक प्रतिशतभन्दा कम भएको थियो। विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ।
वर्ड पपुलेशन प्रोस्पेक्ट, २०१९ काअनुसार, एशियाले विश्वको जनसंख्याको ६० प्रतिशत भन्दा बढि हिस्सा ओगटेको छ। चीन र भारत विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश हुन्।
एउटा अनुमान अनुसार सन् २०२७ को आसपासमा भारत जनसंख्याको हिसाबले चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्नेछ। युएनएफएका अनुसार हाल चीनको जनसंख्या १ अर्ब ४४ करोड छ। योसँगै भारतको जनसंख्या करिब १ अर्ब ४० करोड छ।
‘तीव्र जनसंख्या वृद्धिले गर्दा गरिबी निर्मूल हुन्छ, भोकमरी र कुपोषणविरूद्धको लडाईं अनि स्वास्थ्य तथा शिक्षा प्रणाली अझ जटिल हुन्छ। यसको विपरीत, दिगो विकास लक्ष्यहरू प्राप्त गर्नु, विशेष गरी स्वास्थ्य, शिक्षा र लैङ्गिक समानतासँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्दा प्रजनन स्तर कम गर्न र विश्व जनसंख्या वृद्धिलाई सुस्त बनाउन योगदान पुग्नेछ,’ रिपोर्टमा संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उप–महासचिव लिउ झेन्मिनले बताएका छन्। एजेन्सी