आजकल फेसन जस्तै भएर आएको छ- कलिलै उमेर विद्यालय पठाएपछि के-के नै सिक्छन् बालबच्चाले भन्ने कुरा।अझ मन्टेस्वरी, किन्डरगार्डेन वा प्ले ग्रुप जस्ता संस्थाहरुबाट त दुध चुस्दा चुस्दैको बच्चालाई तान्न मरिहत्ते गर्छन्।नातागोता छिमेकी वा अरु कोही देख्ने सुन्नेहरु २-३ वर्ष नपुग्दै साना बालबच्चालाई झोला भिराएर विद्यालय पठाउन प्रेरणा दिन्छन्। ५ वर्ष भन्दा कम उमेरको बालबच्चालाई घरमा नै स्वच्छन्द रुपले खेल्न दिनुपर्ने अवस्थामा रमाउन, हाँस्न अनि आफ्नो चालचलन बहन गर्न बन्देज लगाएर विद्यालय पठाउनु त्यति राम्रो कार्य होइन।
आयुर्वेदको कौमारभृत्यले के भन्छ?
हामीले पूर्विय संस्कृतिलाई चटक्कै भुल्दै गएपछि पशि्चमाको पनि विकृत रुप अंगालिरहेका छौं। जीवन प्रारम्भ भएदेखि मृत्यु उपरान्त मानिसको जीवनमा १६ वटा मुख्य संस्कारहरु रहन्छन्। तीनवटा गर्भस्थ जीवनमा हुने संस्कार, आठवटा बाल्यावस्थामा हुने संस्कार हो भने पाँचवटा युवा एवं प्रौढमा हुने संस्कार रहन्छन्। विशेष गरेर बाल्यावस्थामा हुने आठ संस्कार हरुमा जातकर्म, नामाकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, कर्णवेधन, उपनयन र वेदारम्भ पर्दछन्। यसरी हेर्दा धार्मिक महत्व बोकेको उपनयन र वेदारम्भ पाँच वर्षपछि गरिन्छ। व्रतबन्ध गरिसकेपछि पठनपाठनमा लैजाने हाम्रो पूर्विय दृष्टिकोण वैज्ञानिक रुपले पनि ठिक र शोभनिय छ।
सानैमा विद्यालय भर्ना गर्न किन हतारिन्छन् आमाबुवा?
-शहरिकरणको व्यापकताले गर्दा हरेक घरघरको जीवनशैली पनि परिवर्तन भएको छ। यही परिवर्तनको नकारात्मक स्वरुप हो साना बालबच्चालाई घरमा खेल्ने ठाउँ, साथी भाईको अभाव र यो अभाव पूर्ति गर्न समेत बालबच्चालाई विद्यालय पठाउँछन्।
-आफ्नो बालबच्चा मानसिक,शारीरिकरुपले अरु भन्दा तगडा होस् भन्ने भावना सबै अभिभावकको रहन्छ। यही प्रतिस्पर्धामा वा भनौं अरुको देखासिकीमा राम्रो त्यो पनि छिटो बनाउन हतार हतार बालबच्चालाई विद्यालयमा भर्ना गरिन्छ।
- आजकलका अभिभावकहरु सबैजना दिउँसो अफिसको काममा व्यस्त हुन थालेका छन्। रित्तो घरमा कोही अरुको हेरचाहामा बालबच्चालाई छोड्नु भन्दा बरु विद्यालय नै पठाउन उचित ठान्छन्।
-घरमा बस्दा बालबच्चाहरु धेरै अनुशासनहिन कार्य पनि गरिरहेका हुन्छन्। त्यो कार्यलाई नियमन गर्न गराउन पनि विद्यालय भर्ना गरिदिनेहरु छन्।
- सानै उमेरमा विद्यालय भर्ना गरेपछि उच्च शिक्षा चांडै नै पुरा गर्ने र आफ्नो करियरमा लागेर आफूहरुलाई भविष्यमा पाल्न सक्ने सोच बनाएर पनि अभिभावकहरु बालबच्चालाई विद्यालय पठाउँछन्।
सानै उमेरमा विद्यालय पठाउँदा बालबच्चामा पर्ने नकारात्मक प्रभाव?
- जब आफ्नो आवश्यकता र समयअनुकूलको व्यवहार बालबच्चाले गर्न पाउँदैनन्। उनीहरुमा एकप्रकारको चिन्ता र अस्तव्यस्तताले ठाउँ ओगट्छ।
- सिकाईको क्षमता विस्तारै बाल मस्तिष्कले ग्रहण गर्नुपर्ने हुन्छ तर त्यो जबरजस्ती घुसाउँन खोज्दा नकारात्मक असर त्यसले पुर्याउँदछ।
- अलि कम उमेरमा बालबच्चाहरु चञ्चल स्वभावका हुन्छन् र उनीहरु एउटै विषय वा एकै स्थानमा केन्द्रित भएर बस्न सक्दैनन्। तर अनुशासनको परिधि भित्र पिंजडाको सुँगा जस्तै बालबच्चालाई राख्न खोज्दा यसले सकारात्मक प्रतिफल दिंदैन।
-विद्यालयमा जाँदा त्यहाँ प्रतिस्पर्धाको भावना सिर्जना हुन्छ तर बाल मस्तिष्क प्रतिस्पर्धा गर्नका लागि मजबूत भईसकेको हुन्न।
- विद्यालयको औपचारिक शिक्षा ग्रहण गर्न बालबच्चालाई धौ धौ पर्छ। होमवर्क र क्लासवर्कको नाममा बालबच्चालाई बाँधेर राख्दा उनीहरु मनमा लागेका कुराहरु गर्न पाउँदैनन्।
- हिंड्न,बोल्न,खान,बस्न वा अरु सामान्य गतिविधि नै गर्न नसकिरहेका बालबच्चालाई एक्कै चोटी विद्यालयमा पुर्याउँदा उनीहरु रचनात्मक हुनै सक्दैनन्।
साना बालबच्चालाई कस्तो वातावरण आवश्यक छ?
- सानो उमेरमा विद्यालय पठाउँदा तत्काल, अभिभावकहरुलाई पनि राहतको महसूस गराए पनि कालन्तरमा अन्य असरहरु सिर्जना हुन्छन्। त्यसैले विद्यालय भन्दा प्राकृतिक वातावरण र अग्रज (हजुरबुवा-हजुरआमा) सँगको संगत राम्रो हुन्छ। यसो हुँदा अगाडिको पुस्ताले सिकेको कुराहरु सरल भाषामा पुस्तान्तरण हुन्छ।
- विद्यालय पठाएकै अवस्थामा समेत बेलुका होमर्वकको भार होइन अभिभावक सँग घुलमिल हुने समय दिनुपर्छ। शनिवार वा लामो दशैं विदामा होमवर्क होइन अभिभावक नातागोता सँग घुम्न जाने समयका रुपमा छुट्याइदिनुपर्छ।
विद्यालय पठाउनको साट्टो के गर्ने?
- आजकलका विद्यालयहरु कारखाना जस्ता भएका छन्। रेडिमेड एउटा शैली अपनाएर दिमागलाई रचनात्मक भन्दा पनि भुत्ते बनाउन प्रेरित छन्। बालबच्चालाई प्राथमिक तह देखि नै घोकाउने,पेन्सिल समात्न लगाउने, होमवर्क दिने, झोलाको भारी बोकाउने, विद्यालयको बोझिलो पहिरन लगाउन लाउने जस्ता आदि क्रियाकलाप छन्। त्यसैले पाँच वर्ष सम्मको समय बालबच्चाले घरमा नै व्यतित गर्न पाए भने रमाएर हुर्कन पाउँछन्।
-काखे बच्चालाई विद्यालय होइन अभिभावक कै काखको र शरणको आवश्यकता पर्छ।बालबच्चालाई जेल भित्र कोचेर हामी आफू चाहिँ उनमुक्त भएको भ्रम पालिरहेका हुन्छौं।
-विकसित भनिएका देशहरुमा बालबच्चालाई घरमा नै सबै वातावरण मिलाउने हेतुका साथ व्यवस्था गरिएको हुन्छ। तर हामी न पूर्विय संस्कृति मान्न सक्यौं न विकसित देशको नमुना हुबहु कपि गर्न सक्यौं।यो विकृतिलाई रोक्न समेत च्याउ सरी उम्रिएका दुधे बालबच्चा खोसेर लैजाने विद्यालयहरुमा नियमन जरुरी छ।
-सानो हुँदा जति प्रिय हुन्छन् बालबच्चा किशोर अवस्थामा पुगेपछि त्यति नहुन सक्छन्। रिसाउने ,झर्किने,घर ढिला आउने ,बाहिर नै साथी बनाउने जस्ता क्रियाकलापहरु उमेर बढे सँगै बढ्दै जान्छ। त्यसैले पनि साना बालबच्चाहरु भनेको अभिभावक सँग झुम्मिदै खेल्न मन पराउने नै हुन्छन्। यस्तो अवसरबाट उनीहरुलाई बन्चित गराउँदा आउने मानसिक सम्स्या बिकराल हुन सक्छ। त्यसैले अभिभावकले अफिसको समयलाई केही कटौती गर्दै पालो पालो बालबच्चालाई पनि समय दिनुपर्ने हुन्छ।
- बालबच्चालाई घरमा नै पनि टिभी वा मोबाइल हेर्न भन्दा गफगाफ र अन्य खेलका गतिविधिमा सारिक गराउनुपर्छ।चराका बनोट नाम,हिमाल,खोला बनजंगल ,जातजाति,भूगोल जस्ता कुराहरु सरल र बुझ्ने शैलीमा खेले जस्तै गरेर सिकाउन घरमा नै सकिन्छ।
- विद्यालय जाँदा साथी भाई सँग भेट होला तर घरमा त्यो अभाव रहन सक्छ।यसका लागि अभिभावक आफैं नै बालबच्चाको साथी भईदिनुपर्छ। कविता लेख्न,चित्र बनाउन,घरका सामग्री बिगार्न र सपार्न,माटो पानीमा खेल्न प्रेरणा दिनुपर्छ।दिसा पिसाब समयमा गर्न पाउने, उन्मुक्त हुन पाउने भएपछि बालबच्चाहरु स्वचालित रुपमा विकसित हुँदै जान्छन्।
-लेखाइ र पढाई भन्दा पनि आफू भन्दा ठुलालाई सम्मान गर्ने र आफू भन्दा सानालाई माया गर्ने जस्ता नैतिक शिक्षा घरमा नै दिन सकिन्छ। आजकल प्राकृतिक विकासक्रम खल्बलिदा नैतिकताको खडेरी परेको छ। युवा पंक्तिमा देशको माया छैन।सामूहिकताहरु मासिंदै गएर एक्लो जीवन फस्टाइरहेको छ।जस्ले डिप्रेसन जस्ता रोगहहरुलाई निम्तो दिएको छ।त्यसैले पनि सबै सँग बोल्ने,आफ्नो कुरा राख्ने,सन्तुष्ट भएर बाँच्न सक्ने कला सकभर सानै उमेरमा घरबाटै दिन सकिन्छ।
-हाम्रो मौलिक संस्कृति धरापमा परिरहँदा,महिनै बिच्छे आइराख्ने चाडपर्व हामीले खाने आहार,लगाउने पहिरन,निमंत्रण गर्ने पाहुनाहरु ,यी सबै सबै कुराहरु बालबच्चालाई देखाउँदै सिकाउनुपर्छ।खाने अन्न, तरकारी ,फलफूल,दुधका स्रोतहरु विस्तारै बुझाउनुपर्छ। अन्नदाता किसान प्रति, गुरु र जन्म दिने आमा बुवा प्रतिको उच्च आदारलाई कायम राख्न सिकाउनुपर्छ।
-सानै देखि घरका अनेकौं क्रियाकलापमा सारिक गराउँदा सिप सिक्ने मौका बालबच्चाले पनि पाउँछन्।ताकि सर्टिफिकेट कै भरमा भोलि जागिरको खोजीमा भौतारिनु पर्दैन।
कुनै पनि कुरा चाँडो वा ढिलो भन्ने हुँदैन,जे सकिन्छ त्यसलाई कत्तिको पूर्णता दिइएको छ र लागु गरिन्छ भन्नेले महत्व राख्छ। आज हतार गरेर विद्यालय पठाउँदा भोलि तिनै बालबच्चाहरु अभिभावकको समय नपाउँदा कुलतमा फसे भने हाम्रो आशा र सपना सबै चकनाचुर हुन्छ। प्रतिस्पर्धाको दुनियाँ भन्दा पनि सिकाई र अनुभूतिको विशाल आकासमा उडान भर्न दिनुपर्छ बालबच्चालाई नत्र देशको विकास गर्ने भोलिका कर्णधारहरुले सबै कोणबाट सोचविचार गर्ने ल्याकत नराख्न सक्छन्। त्यसैले सानो उमेरमा रुवाउँदै हप्काउँदै विद्यालय पठाउने होइन फकाउँदै रमाउँदै सँगसँगै खोला जस्तै आफू पनि बालबच्चा सँग नै बहँदै शैशवकालको सौन्दर्य लाई मर्न नदिन अभिभावक सचेत हुनै पर्छ।