काठमाडौं– गत बुधबार साँझ, झरि बल्ल मत्थर हुन लागेको थियो। पानीका स–साना थोपा भने झरिरहेकै थिए। 
पानी रहने छाँट देखिएपछि धादिङकी मनमाया राई गाडा गुडाउँदै सडकमा निस्किइन्। गाडाको एक छेउमा हरिया मकैको थुप्रो थियो। अर्कोतिर एउटा फलामे कराई, ओदान र दाउरा थिए। गाडा कलंकी मन्दिर छेउ पुगेर रोकियो। 
असारे झरीको के भर गर्न सकिन्छ र? भर नलागेर नै मनमायाले गाडामा ठूलो छाता ओढाइन्। ‘यही गाडा पनि नगरपालिकाले लगिदियो भने कसरी खाएर बाँच्नु हो?,’ सायद उनले एक मन यस्तै सोचिन्। अनि दायाँबायाँ पल्याकपुलुक हेरिन्।
लामो सास तान्दै उनले दाउराका चोइटा बोराबाट झिकेर आगो जोर्न थालिन्। आगो अलि ठूलो बल्न थालेपछि मकैका चार वटा खोसेलासहितका घोगा ओदानमाथि राखिदिइन्। 
अब मनमायाको गाडाछेउ मकै खानेहरू जम्मा हुन थाले। खोसेला लैजाने व्यक्ति पनि आइपुगे। पहिले असरल्ल छरिएका खोसेला बटुलेर उनले ती व्यक्तिलाई दिइन्। पिल्सिएका मकैका घोगा नङ्ग्याएर भुंग्रोमा राखिन्।
केही बेर ओल्टाइपल्टाइ गरेपछि मकै पाक्यो। मकै खोसेलाले बेरेपछि हरियो खुर्सानी र टिम्मुरसँग पिसेको नुन राखेर एक जना युवतीलाई दिइन्। 
‘मकैको कति हो आमा?,’ पर्स खोतल्दै ती युवतीले भनिन्। 
‘घोगो ठूलो छ, यसलाई त ३५ रुपियाँ लिन्छु। बोहोनीको समय हो। ३० रुपियाँ नै देनु न,’ उनले भनिन्। 
ती युवतीले ५० रुपैयाँको नोट झिकिन् र भनिन्, ‘यो सबै तपाइँ नै राख्नुस् बुढी आमा।’
‘होइन मकैको जति पर्ने हो त्यति मात्रै राख्छु,’ मनमायाले बाँकी फिर्ता दिइन्।
‘तपाइँको माया लागेर दिएको, त्यति राख्नु न।’ यति भनेर ती युवती हिँडिन्। 
मनमाया नयाँ ग्राहकका लागि मकै पोल्न थालिन्।
‘हिजो आज मकै व्यापार कस्तो छ आमा?’
यो प्रश्न सुन्नेबित्तिकै उनी झोक्किइन्, ‘हैजा आएको छ भनेर महानगरपालिकाले राख्न दिँदैन रे अब। तिमीहरुले धेरै पानीपुरी खाएर त हो नि! मैले व्यापारै गर्न नपाउने भएँ।’ 
त्यति भनेर उनले पिल्सिँदै गरेको मकै अर्कोतर्फ फर्काइन्। 
‘हैजासैजा त मैले यसरी आगोले डढाइदिन्छु,’ केहीबेरमा उनी फेरि बोलिन्। 
महानगरले मकै बेच्न नदिएकोमा उनको गुनासो छ। ‘साँझ ६ बजेपछि गाडा निकाल्दा पनि भागीभागी बेच्नुपर्छ। यो गाडा लगिदियो भने त गरिखाने भाँडो नै हराउँछ,’ उनले भनिन्। 
केही समय कुरा गर्दै गएपछि मनमाया आफ्नो कथा सुनाउन थालिन्।
उनी ६५ वर्षकी भइन्। १४ वर्षदेखि काठमाडौंका सडक किनारमा मकै पोलेरै गुजारा गर्छिन्। उनका श्रीमान् क्यान्सरसँग संघर्ष गरिरहेका छन्। श्रीमान्को उपचार खर्च उनी मकै पोलेरै जुटाउँछिन्।
उनी दुई दशकअघि श्रीमान् र तीन छोरीसँगै काठमाडौं छिरेकी हुन्। काठमाडौंमा डेरा बस्न थालेको त्यति नै वर्ष भयो। त्यसबेला मनमायाका श्रीमान्ले न्यूरोडको एक सहकारीमा सुरक्षा गार्डको काम पाएका थिए। आठ घण्टा काम गर्दा महिनामा ३ हजार ५०० रुपैयाँ कमाइ गर्थे। चार महिना काम गरेपछि सहकारी बन्द भयो। अनि, श्रीमान् बेरोजगार भए।
घर खर्च चलाउन मुस्किल हुन थाल्यो। त्यसपछि मनमायाले अरुको घरमा गएर भाँडा माझ्ने कपडा धुने काम खोजिन्। ‘एउटा घरमा महिनाभर काम गर्दा चार सय कमाइ हुन्थ्यो। दिनभरि काम गर्नुपर्ने होइन, एउटा घरको काम सकेर अरु घरमा पनि गर्थेँ। चार वटा घरमा काम गर्दा बल्ल महिनामा १६ सय कमाउथेँ,’ मनमाया सुनाउँछिन्। 
त्यसबाहेक बारी खन्ने र अरु शारीरिक परिश्रमका काम पनि गर्थिन्। कोठाभाडा महिनाको ४०० थियो। जति काम गर्दा पनि घरखर्च धान्न मुस्किल थियो। एक दिन साथीहरूले मकै पोलेर बेच्दा राम्रो कमाइ गर्न सकिने सुनाए। त्यसपछि सडक किनारामा उभिएर मकै पोल्न थालिन्। 
उनले २०६६ सालमा रविभवन माछागेट नजिक भुईंमै आगो बालेर मकै पोल्न सुरु गरिन्। ‘त्यतिबेला हरियो मकै किन्दा एउटा घोगाको २ रुपियाँ पथ्र्यो। त्यसलाई पोलेर मैले ५ देखि ७ रुपियाँसम्ममा बेच्थेँ,’ उनले सुनाइन्। 
मनमायाले ५०० लगानी गरेर मकै पोल्न सुरु गरेकी हुन्। त्यति बेला दिनमै ३-४ सय कमाइ गरिन्। ‘त्यसपछि अलिअलि गरिखाने बाटो खुल्यो, अनि यही कामलाई निरन्तरता दिएँ,’ उनले भनिन्।
पछि उनका श्रीमान्ले फेरि ढुंगेअड्डास्थित एक सहकारीमा सुरक्षा गार्डको काम पाए। त्यसमा चार वर्षजति काम गरेपछि अचानक छाड्नुपर्ने भयो। ‘उहाँको साथीले लगाइदिएको काम थियो। अब आफैं गर्छु छाड भनेपछि छाडनु भयो,’ उनले भनिन्। 
जागिर छाडेपछि श्रीमान्ले पनि मनमायालाई सघाउन थाले। दुवै जना मकै पोल्न थाले। तर, कमाइले खान धौ–धौ हुन थाल्यो। तीन छोरीलाई प्राथमिक तहभन्दा माथि पढाउन सकेनन्। 
तीन वर्षअघि मनमायाका श्रीमानलाई फोक्सोको क्यान्सर भएको पत्ता लाग्यो। गाउँको जग्गा बेचेर उपचार गराइन्। वीर र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा २० लाख सकिएको उनी बताउँछिन्। ‘वीर अस्पतालमा उपचार गराउँदा १५–१६ वटा किमो चढाइदियो। रोग निको भएन। अहिले त आन्द्रामा पनि समस्या देखिएको छ भन्छन्,’ उनले गहभरी आँशु पार्दै भनिन्। 
अहिले उनका श्रीमान खाना पनि राम्रोसँग खान नसक्ने अवस्थामा छन्। मनमायाले खोले, लिटो पकाएर खुवाउँछिन्। ‘त्यही पनि निल्न सक्नुहुन्न। घाँटीमा अड्किरहन्छ। चेकजाँच गर्न पटकपटक लगिराख्नु पर्छ। मैले अहिले यो काम गरेर उपचार खर्च पुर्याउनै सकेको छैन,’ उनले गुनासो गरिन्। 
उपचारका लागि एक पटक लैजाँदा १० देखि १२ हजार खर्च लाग्ने उनी बताउँछिन्। कोठाभाडा पनि महँगो छ। बत्ती, पानीसहित गरेर महिनामा ७ हजार बुझाउँछिन्। ‘अहिले सबै कुरामा महँगी बढेको छ। आफूले कमाएको पैसा जतिले चामल, नुन, भुटुन र उपचारमा डोहोडोहो गरेर पुर्याएकी छु।
‘कमाइभन्दा खर्च धेरै छ। त्यही पनि महानगरपालिकाले लखेट्छ। हैरान पार्छ। गाडा समातेर लगिहाल्यो भने फिर्ता दिँदैन,’ उनी सुनाउँछिन्। महानगरपालिकाले नलखेटेको दिन ७०० सम्म कमाइ हुने बताउँछिन्। 
पछिल्लो समय काठमाडौं महानगरपालिकाले फुटपाथमा खानेकुरा बिक्री गर्न नदिने नीति सारेसँगै मनमाया चिन्तामा छिन्। ‘अब उपचार त के खानै पाइँदैन जस्तो छ। लखेटेको लखेटै गर्छ,’ उनी भन्छिन्, ‘साँझ ६ बजेपछि यसो निकाल्यो त्यही पनि लखेट्न आइहाल्छ।’ 
यसअघि पनि ढुक्कले सडकमा व्यापार गर्न मनमायाले पाएकी होइनन्। पटक–पटक उनको गाडा महानगरले लगिदिएका थिए। महानरपालिकाले खोसिदिएको गाडा ३-४ पटक त आफूले जरिवाना तिरेर फिर्ता लिएको उनी बताउँछिन्। एक पटक महानगरले गाडा लग्यो भने १५ सय रुपैयाँ तिरेपछि फिर्ता आउँथ्यो। 
पछि महानगरले गाडा फिर्ता दिन छाड्यो। उनको पनि एउटा गाडा भने महानगरले फिर्ता नै दिएन। ‘मैले कत्रो दुःखले १२ हजार तिरेर किनेको गाडा महानगरले पचायो,’ उनले भनिन्। 
मनमायाका तीन छोरीको विवाह भइसक्यो। गाउँ फर्कनलाई जग्गाजमिन केही छैन। त्यसमाथि बिरामी श्रीमान् लिएर गाउँ फर्कने अवस्था पनि छैन।
‘पहिल्यैदेखि यही काम गरियो। अब गरिखाने अर्को केही उपाय छैन,’ उनी भन्छिन्, ‘कि हामीलाई यहीँ काम गरेर खान देओस्, होइन भने सरकारले गरिखाने ठाउँ देखाइदिओस्।’