काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रको विकासका लागि दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्ने बताएकी छन्। जसको लागि अस्पतालहरूको अनुभव, कार्यक्षेत्र, सेवाको महत्वपूर्ण भूमिका रहने उनले बताइन्।
शुक्रबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सवमा बोल्दै उनले नेपाल सरकारका सम्बद्ध संस्थाहरूले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिन अनुरोध गरेकी छन्।
कार्यक्रममा उनले प्रसूति गृहले विगत ६३ वर्षदेखि मुलुकभरका महिला तथा नवजात शिशुहरूलाई निरन्तर रूपमा प्रदान गर्दै आएको सेवाको योगदानको प्रशंसा गरेकी छन्। साथै मातृ तथा शिशु मृत्युदर घटाउन अस्पतालले पुर्या एको योगदानको प्रशंसासमेत उनले गरेकी छन्। वार्षिकोत्सवका अस्पतालमा शुक्रबारबाट ह्युमन मिल्क बैङ्कको पनि उद्घाटन गरिएको छ।
‘ह्युमन मिल्क बैङ्क ‘अमृत कोष’को स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक थालनीको रूपमा लिएको छु। नेपाली समाजमा आमाको दूध दान गर्नु पुरानै अभ्यासको रूपमा रहेको भए पनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रूपमा आमाहरूबाट लिएको दूधको सङ्कलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने छ। अमृत कोषको स्थापनाबाट नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण योगदान पुग्नुको साथै स्तनपानको महत्त्व बारे जनचेतना जगाउनसमेत सहयोग पुग्ने विश्वास लिएको छु’ उनले भनिन्।
कार्यक्रममा अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले आर्थिक अभावका कारण कुनै पनि बिरामीले उपचारबाट बञ्चित हुनु नपरेको बताए। ‘अस्पतालमा उपचार गराउन आउने गरिब, विपन्न तथा असहाय महिला तथा नवजात शिशुहरूको उपचारमा अस्पतालमा स्थापित सामाजिक सुरक्षा इकाई (एस.एस.यु.) बाट उल्लेख्य सहयोग पुर्याेएकोले आर्थिक अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुनु परेको छैन।’ उनले भने।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा प्रसूति गृहको अतुलनीय भूमिका रहेको बताए। ‘उपचारमा सहज होस् भनेर मन्त्रालयले निकट भविष्यमा अत्याधुनिक सुविधा सम्पन्न मेसिनहरू र औजारहरू नेपालमा भित्र्याउने र अझै सेवा र सुविधालाई सुलभ बनाउने छ। काठमाडौँमा मात्रै होइन देशभरि नै सरल र सहज तरिकाले स्वास्थ्य सेवा पुर्यापउने काम मन्त्रालयले गरिरहेको छ' उनले भने।
वार्षिकोत्सवको अवसरमा अस्पतालमा जन्मिएका फरक फरक उमेर समूहका स्वस्थ शिशुहरुहरुलाई राष्ट्रपतिको हातबाट पुरस्कृत समेत गरिएको थियो। जन्मेएदेखि ४५ दिन सम्मका चार जना शिशु, ४६ दिनदेखि ६ महिनासम्मका चार जना शिशुहरू र ६ महिनादेखि १ वर्षसम्मका ४ शिशु गरी १२ जना शिशुहरूलाई पुरस्कृत गरिएको हो।
साथै अस्पतालमा लामो समयदेखि सेवा दिदैं आएका डाक्टर, नर्स र कर्मचारीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न अस्पतालका डाक्टर, नर्स, युनेस्कोका प्रतिनिधि, डब्ल्युएचओका प्रतिनिधि, काठमाडौँ महानगरपालिकाकाकी उपमेयर सुनिता डङ्गोल लगाएतको उपस्थिति थियो।