काठमाडौं- त्रिवि शिक्षण अस्पताल अन्तरगत सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको शिलान्यास भएको दश वर्षपछि उद्घाटन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले सो अस्पतालको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै उनले स्व सुरेश वाग्लेको अर्धकदको शालिक अनावरण र रेडियो थेरापी सेवा सम्बन्धी बंकर क्षेत्रको निरीक्षण पनि गरेका छन्।
‘देशकै सबैभन्दा ठुलो र महत्वपूर्ण अस्पतालमा सेवा विस्तारको क्रममा क्यान्सरको सेवा विस्तार भएकोमा बधाई भन्न चाहन्छु। ढिलै भए पनि अस्पतालको निर्माण सम्पन्न भएपछि खुशी लागेको छ,’ उनले भने।
विसं २०६९ मङ्सिर ६ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सो भवनको शिलान्यास गरेका थिए। उक्त समयमा शिलान्यास हुनभन्दा करिब एक वर्ष अघि नै जग भने खनीसकिएको थियो।
शिलान्यासपछि अस्पताल बन्छ कि बन्दैन भन्ने संकट आए पनि लामो समयपछि अस्पतालको उद्घाटन गर्न पाएकोमा खुसि लागेको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र पुर्वाधार समितिका संयोजक प्रा डा योगेन्द्र प्रसाद सिंहले बताए। २०६८ साल मंसिर २८ गते निर्माण कार्य सुरु गरी ३ वर्षभित्र सम्पन्न गरीसक्ने लक्ष्य लिइएको केन्द्रको भवनको निर्माण कार्य विविध कारणले ढिला भएकोमा अस्पताल प्रसाशनको सक्रियता, टियुको समन्वयन र संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कार्यदलको सहयोगमा सम्पन्न भएको सिंहले जनाए। अहिले सरकारले क्यान्सरका बिरामीलाई दिने गरेको १ लाख रुपैयाँ पर्याप्त नभएको भन्दै क्यान्सरको उपचार निःशुल्क गर्नुपर्ने पनि उनले बताए। उनले भने,‘क्यान्सरका बिरामीलाई १ लाख दिनुभन्दा सातैवटा प्रदेशमा सरकारी क्यान्सर सेवा केन्द्र बनाउनुपर्छ।’ साथै उनले अस्पतालमा कम्तिमा एउटा रेडियोथेरापी मेसिन उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरे।
अस्पताल औपचारिक रुपमा उद्घाटन नभए पनि बिगत एक वर्षयता बिरामीहरुको उपचार भने भईरहेको थियो। एक वर्षयता क्यान्सरका करिब सात हजार बिरामीको उपचार गरिसकेको उपकुलपति प्राडा शिवलाल भुसालले जानकारी दिए। उनले त्रिवि शिक्षण अस्पताल स्वास्थ्य या शिक्षा कुन मन्त्रालयमा पर्छ भन्ने दोधारमा परेर झन् अपहेलित हुनु परेको समेत बताएका छन्। ‘स्वास्थ्य र शिक्षा दुवै क्षेत्रमा अन्तर्गत पर्दा त्रिवि शिक्षण अस्पताललाई फाइदा होला भन्ने सोचेको थियौं। तर स्वास्थ्य या शिक्षा कुन मन्त्रालयमा पर्छ भन्ने दोधारमा परेर झन् अपहेलित हुनुपरेको छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न राज्यले कन्जुस्याइँ नगरोस्।’
त्रिवि चिकित्सा शास्त्र अध्ययन सस्थांनकी डिन प्राडा दिव्या सिंह शाहले अस्पतालले क्यान्सरको क्षेत्रमा ठूलो योगदान पुर्यासउने बताइन्। ‘अब जटिल क्यान्सरका बिरामीहरू विदेशमा गएर उपचार गर्ने वाध्यता कम गर्न यो अस्पतालले ठूलो भूमिका खेल्नेछ। साथै देशमा क्यान्सरको उपचारको लागि चाहिने जनशक्ति पनि यस सस्थांन उत्पादन गर्ने छ भन्नेमा म ढुक्क छु,’ उनले भनिन्।
कार्यक्रममा स्व सुरेश वाग्लेका छोरा विकास वाग्लेले ढिलै भए पनि अस्पतालको निर्माण सम्पन्न भएकोमा खुशी हुँदैं अब आउने दिनहरुमा स्वास्थ्य मन्त्रालय लगाएत सम्बन्धित निकायहरुको सहयोगको आशा राखेको बताएका छन्।
एक सय चालिस शय्याको क्यान्सर अस्पतालमा दशवटा आईसियू छन्। अस्पतालमा क्यान्सरको डे केयर सेवासँगै भर्ना भएर बस्ने बिरामीहरूको पनि उपचार भईरहेको छ। अझै रेडियोथेरापी मेसिन आएपछि झन् उपचार गर्नेहरुको संख्या थपिने र उपचारमा पनि सहज हुने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले बताए। सात जना कार्यकारी निर्देशक, नौ जना डिन र एक दर्जन भन्दा बढी स्वास्थ्य मन्त्रीहरुको कार्यकालमा हरेक पटक सो अस्पताल निर्माणको विषयमा कुरा हुँदैं आज आएर उद्घाटन गर्न पाउँदा खुशी लागेको काफ्लेले जनाए।
कार्यक्रममा स्वास्थ्य मन्त्रि खापुङले अस्पताललाई चाहिने आवश्यक सामाग्रीहरुको मागलाई सकारात्मक रुपमा लिएको बताएका छन्।