काठमाडौँ- मानसिक स्वास्थ्य र आत्महत्याको विषयमा जनचेतना जगाउन सबैको उत्तिकै भूमिका रहेको सरोकारवालाले बताएका छन्। नेपालमा दिन प्रतिदिन आत्महत्या गर्नेको सङ्ख्या बढीरहेको उनीहरुको भनाइ छ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मानसिक स्वास्थ्य तथा नसर्ने रोग शाखाका प्रमुख डा फडिन्द्र प्रसाद बरालले आत्महत्या रोकथामको लागि अझ सुदृढ कदमहरु चाल्न अत्यावश्यक रहेको बताए।
आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यो वर्ष पनि ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस– २०२२ मनाउन लागिएको छ।
कोभिड–१९ को महामारी, भुकम्प, शहर केन्द्रीत बसाईसराई, अमिल्दो सामाजिक र आर्थिक गतिविधि एवं बोझले आत्महत्याको संख्या दिन प्रतिदिन बढीरहेको डा बरालले जनाए। ‘बिगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार २ सय ९८ जनाले आत्महत्याको कारण आफ्नो ज्यान गुमाएका छन्। जस अनुसार आर्थिक वर्ष ०६९/०७० मा ३ हजार ९ सय ७४ जना, ०७०/०७१ मा ४ हजार ५ सय ४ जना, ०७१/०७२ मा ४ हजार ३ सय ३२ जना, ०७२/०७३ मा ४ हजार ६ सय ८० जना, ०७३/०७४ मा ५हजार १ सय २४ जना, ०७४/०७५ मा ५ हजार ३ सय १७ जना, ०७५/०७६ मा ५ हजार ७ सय ५४ जना, ०७६/०७७ मा ६ हजार २ सय ७९ जना, ०७७/०७८ मा ७ हजार १ सय ४१ जना, र ०७८/०७९मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको तथ्यांक छ,’ उनले भने।
तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०७८/७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.३५ प्रतिशतले घटेको देखिन्छ। तर त्यतीले मात्रै खुसी हुने अवस्था नभएको बराल बताउछन्। उनी भन्छन्,‘नेपालमा अझै पनि हेरक दिन सरदर १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको पाइन्छ। नेपालमा अहिलेसम्म आत्महत्याका प्रयासहरु गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन। नेपालमा आत्महत्याको दर दिनानु दिन बढ्दो क्रममा रहेको तथ्याङ्कले गर्दा पनि यसको रोकथामकालागि अझ सुदृढ कदमहरु चाल्न अत्यावश्यक रहेको देखिन्छ।’
नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा समेत सन् २०१५ देखि २०३० सम्ममा प्रति एकलाख जनसङ्ख्यामा आत्महत्याको दरलाई १६.५ बाट घटाई ४.७ मा ल्याउने भनिएता पनि हाल आत्महत्याको दर २३.४ प्रति एकलाख जनसङ्ख्या रहेको छ।
मानसिक स्वास्थ्य र आत्महत्यासँग सम्बन्धी भ्रम र मिथ्याका कारण कति आत्महत्याका घटनाहरु प्रहरी समक्ष आउन नसकिरहेको अवस्था डा केदार मरहठ्ठा बताउछन्। मानसिक स्वास्थ्य सम्बन्धी भ्रम तोडेर मानसिक रोगहरुको बारेमा खुलेर कुरा गर्ने वातावरण बनाउनु पर्ने अबको आवश्यकता रहेको उनले जनाए। अहिले देशभरका ४४ वटा जिल्लाहरुमा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम संचालन भईरहेको छ। अब यो कार्यक्रमलाई बढाएर देशै भरि बनाउने योजना रहेको छ। जसअन्तर्गत बागमती प्रदेशमा सबै विद्यालयमा काउन्सिलर नर्सको लागि तालिमको काम भई रहेको डा मरहठ्ठाले बताए।
आत्महत्या एक संवेदनशील एवं जटिल विषय भएकोले गर्दा यसलाई एक मात्र निकायको प्रयासले नभई सबै क्षेत्रहरुको साझा र एकीकृत सवालको रुपमा लिई ठोस कदम चाल्न अत्यन्त जरुरी रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह बताउछन्। ‘यसका लागि नेपाल सरकारले एकीकृत बहुपक्षीय रणनीति र कार्ययोजनाको तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले बताए।
आत्महत्या रोकथामका निम्ति यसका प्रारम्भिक लक्षणहरु पहिचान गरी सहयोगका लागि तत्पर भई पूर्वाग्राही भावना नराखी बिनातर्क आत्महत्या सम्बन्धी सोच वा विचार भएकाको कुरा र समस्यालाई सुन्ने बानीको विकास गरेमा यस्ता घटनालाई न्यून पार्न सकिने डा बराल बताउछन्। अहिले देशभरी मानसिक रोगहरुको ११ प्रकारका औषधिहरू निशुल्क वितवरण गरिरहेको र समयसमयमा कैदीबन्द, असहाय र अपाङ्गको उपचारमा पनि काम गरिरहेको उनले बताए।
आत्महत्याको रोकथामको लागि हाल हटलाईन सन्चालनमा छ। आत्महत्याको सोचाई आएका जो कोहिले पनि ११६६ मा सम्पर्क गरेर सेवा लिन सकिन्छ। यो सेवा २४ घन्टै सन्चालनमा छ।