कोभिडको दोस्रो लहर सुरु भएको थियो। नयाँ भेरियन्ट झनैं घातक र दिनहुँ मर्नेको संख्या बढेको खबर सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका हुन्थे। बिरामीको बढ्दो संख्याको चापलाई मध्यनजर गर्दै अस्पातलले आफ्नो व्यवस्थापनमा हेरफेर सुरु गरेको थियो। हामी स्वास्थ्यकर्मी आफूलाई जोखिमका बाबजुत सेवा दिन मानसिक रुपमा तयार हुन थाल्यौं। लगभग सबै अस्पातलहरुमा धमाधम कोभिड वार्ड संचालन हुन थाले। गर्मी याममा हातभरी ३–४ जोर पञ्जा, शिर देखी पाउसम्म पिपिइ, बुट, आँखामा आई प्रोटेक्टर र मुखमा कम्तीमा तीन वटा मास्क त्यो पनि बाहिरबाट हावा नछिरोस् भनेर मास्कमाथी टेप। सबै लगाई तयार भएर कोभिड वार्डमा पस्ने बेलामा आफूलाई हेर्दा यस्तो लाग्थ्यो कि मानौं म ठूलै नै युद्ध लड्न जादैछु। जब म बिरामी नजिक पुग्थे कोभिडको कारणले गाह्रो हुनु त छँदैछ त्यो भन्दा बढी कमजोर आत्मबल, त्राश, भयले गर्दा अवस्था अझ जटिल बनाएको महसुस गरिरहन्थें।
बिरामीको कुरा ध्यान दिएर सुनिदिँदा मात्र पनि आत्मबल बढ्छ भन्ने लाग्थ्यो। त्यसैले म हरेक समय ड्युटीमा रहँदा अलिकति समय निकालेर प्रत्येक बिरामीसँग भलाकुसारी गर्न रुचाउँथे। एकदिनको कुरा हो त्यसदिन मेरो रात्रिकालिन ड्युटीको समय थियो। जब म वार्डभित्र छिरेँ हिजोसम्म राम्ररी कुरा गर्दै आफ्नो बारेमा सबै कुरा बताउने बुबा आज भेन्टिलेटरको सहायतामा राखेको देख्दा निकै असहज महसुस गरेँ। बुबाको बेड साइडमा एक जना भर्खर ३२–३३ वर्ष उमेरकी दिदि हुनुहुन्थ्यो। उहाँलाई सास फेर्न निकै गाह्रो भइराखेको सजिलै अड्कल गर्न सकिन्थ्यो। हामी कोही बिरामीलाई औषधि दिँदै थियौं, कोहिलाई खाना खुवाउँदै त कोहिलाई अक्सिजन बढाइदिँदै। यसरी नै रात बितेको पत्तो हुदैन्थ्यो। त्यो दिनपनि रातको दुई बजिसकेको थियो। दिदि निकै अत्तालिदै सिस्टर यता आउनुस् भन्दै मलाई बोलाउनुभयो। म हतारहतार उहाँको नजिक पुगें। उहाँले भन्नुभयो सिस्टर मेरो एउटा अन्तिम इच्छा छ जसरी पनि पुरा गर्दिनुस् है भन्दै हात जोड्न थाल्नुभयो। मैले उहाँको कुरा सुन्दै गएँ, भन्दै हुनुहुन्थ्यो मेरो साइडको बेडको बुबा हिजोसम्म बोलिराख्नु भएको थियो आज बिहान गाह्रो भयो तयसैले डाक्टरले मुखमा पाइप छिराएर जानु भयो अब बाच्नु हुन्न। अस्ति उता छेउको आमापनि त्यसैगरी वित्नुभयो। मलाई थाहा भइसक्यो यो कोरोनाले कोहिपनि बाच्दैन। म पनि मर्छु होला मलाई गाह्रो भइरहेको छ। म भोलिसम्म मरिसक्छु जस्तो छ मेरी सानी ६ महिनाकी छोरी छ, एउटा छोरो छ अनि श्रीमान। मलाई मर्नुअघि जसरी नी एकपटक भेटेर कुरा गर्ने न मन छ प्लिज बोलाइदिनुस भन्दै रुन थाल्नुभयो।
उहाँको कुरा सुनेपछि मलाई लाग्यो उहाँलाई रोगभन्दा पनि मर्छु भन्ने सोचले झनै गालिरहेको छ। आफ्नो वरपर मृत्यु भएका र भेन्टिलेटरमा रहेका बिरामी देखेर उहाँले आफ्नो मनोबल गिराउनुभयो कि जस्तो लाग्यो। त्यसपछि मैले सम्झाउन थाले कोरोनाबाट निको भएर घर फर्केका बिरामीहरुको उदाहरण दिन थालेँ। साथै म आफै पनि कोरोना ग्रसित भएर झण्डै एक हप्ता घरमा आराम गरी रातिको ड्युटी आएकी र रोगलाई जितेर जान्छु भन्ने सकारात्मक सोच राख्नुपर्छ भनेर सम्झाइरहेकी थिएँ। त्यसरी नै हामीबीच रातीको २ बजे झण्डै एक घण्टा भलाकुरारी भयो। उहाँ झन झन रुन थाल्नुभयो। जसरीपनि बोलाइदिनुस भन्न थाल्नुभयो। म भन्दै थिए अहिले रातको समय छ म भोलि बिहान अस्पतालको नम्बरबाट फोन गरेर बोलाइदिन्छु अहिले म पिपिइमा छु म वार्ड बाहिर निस्किन मिल्दैन र यहाँ फोन छैन भन्ने कुरा बुझाउँदै थिएँ। उहाँले आफूसँग फोन रहेको तर चार्जर घरमै छुटेकोले अस्पताल आएबाट श्रीमानसँग सम्पर्क नभएको बताउनुभयो। 'फोन मसँग छ अरु कोही बिरामीसँग चार्जर छ भने मागिदिनुस न सिस्टर' भन्नुभयो। म वरपर सबैसँग फोन देखाउँदै सोध्न थाले तर कोहीसँग चार्जर भेटिन र निरास हुँदै फर्के। त्यसपछि दिदि र ममा एउटा सहमति भयो मैले फोन नं लिएर जाने र ड्युटीबाट निस्केपछि अस्पतालको नम्बरबाट दिदिको श्रीमानलाई फोन गरेर बोलाइदिने। त्यसै सहमति अनुसार मैले दिदिको श्रीमानको नम्बर मेरो हातमा लगाएको पञ्जामा मार्करले लेखेँ। त्यसरी नै रात बितिसकेछ, ड्युटी सक्ने बेलापनि भइसकेछ। लामो समयदेखि लगाएको पिपिइ, पञ्जा, मास्क कतिबेला फुकालेर घर गएर आराम गरौंला भन्ने मनमा लाग्थ्यो।
त्यही हतारमा मैले सबै पिपिइ फुकालेर फालिसकेर घर लागेछु। घर पुग्नै लाग्दा बल्ल याद आयो फोन गरिदिने कुरा। फेरि अस्पताल जाने की के गरौं भन्ने दोधार बढ्न थाल्यो। त्यैपनि दिदिलाई केही हुँदैन र केही नहोस् भन्ने प्राथाना गर्दै आराम गर्न लागें। भोलिपल्ट दिदिको परिवारलाई फोन गरेर बोलाइदिन्छु भन्ने सोचमा अलिक छिटै गरेर घरबाट ड्युटी निस्के तर म ड्युटी आउँदा दिदिलाई भेन्टिलेटरमा राखिसकेको थियो। आँखाभरि आँसु आयो, मन भारी भयो, दिन नै अध्यारो लाग्न थाल्यो। फेरि पिपिइ लगाएर हतारहतार भित्र छिरी दिदिलाई एकछिन सुमसुम्याएँ। दिदि बोल्नु हुदैन्थ्यो। अचेत अवस्थामा हुनुहुन्थ्यो। त्यही पनि माफी मागें। मेरो त्यसदिनको ड्युटी सक्नासाथ उहाँको मृत्युको खबर पाएँ। जीवनकै ठूलो भुल गरेको भान भइरहेको थियो। मैले त्यसैरात सपनामा पनि दिदिलाई देखें। धेरै दिनसमम मलाई त्यस घटनाले पिरोलिरह्यो। अनि मनमनै भने धिक्कार छ मलाइ मैले उहाँकी ६ महिनाकी छोरी, ५ वर्षको छोरा र श्रीमानको बोलिमात्र भएपनि सुन्ने अन्तिम इच्छा पूरा गर्न सकिन।