काठमाडौं- नेपाल नर्सिङ संघले नर्सहरुका विभिन्न मागलाई लिएर सरकारसँग शनिबार सहमति गरेपछि आन्दोलनरत नर्सहरुले त्यसको चौतर्फी विरोध गरेका छन्।
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए।
नर्सिङ संघले नर्सहरुलाई धोका दिएको भन्दै विरोध हुन थालेपछि संघका पदाधिकारीहरु आन्दोलनरत नर्सहरुकै माग अनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने भएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सरकारलाई आफ्ना सम्पूर्ण माग पूरा गर्न ४८ घण्टाको समय दिएको छ। आन्दोलनरतप नर्सका प्रतिनिधिसँगको आकस्मिक छलफलपछि एक विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र आफ्ना मागहरू सम्बोधन नभएमा देशभरका सम्पूर्ण सरकारी, निजी, गैर-सरकारी स्वास्थ्य संस्था र मेडिकल कलेजहरूमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू ठप्प पार्ने घोषणा संघले गरेको छ।
नर्सिङ संघका महासचिव देवका कुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुँदा नम्बर १ मा ‘सरकारी सरह न्यूनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने’ भन्ने विषयमा सहमति भए पनि अन्य बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेकाले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन लागिएको उल्लेख छ।
विज्ञप्तिमा आन्दोलनमा उत्रिसकेका नर्सहरूलाई कुनै पनि प्रकारको दबाब, प्रभाव, डर, त्रास वा धम्की नदिन सम्बन्धित निकायलाई सचेत गराइएको छ।
यस आन्दोलनका कारण बिरामीलाई पर्न जाने प्रत्यक्ष/अप्रत्यक्ष असर र असुविधाप्रति संघले क्षमायाचना गरेको छ। तर, यसबाट उत्पन्न हुने विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र सम्बन्धित स्वास्थ्य संस्थाले नै व्यहोर्नु पर्ने चेतावनी संघले दिएको छ।
सरकार र नर्सिङ संघबीच शनिबार निजी मेडिकल कलेज र ठूला अस्पतालमा कार्यरत नर्सहरुका लागि सरकारी पाँचौ तह बराबर तलब उपल्बध गराउने र अन्य साना निजी अस्पतालको हकमा अहिलेलाई सरकारीको ८० प्रतिशत र कार्यदलले प्रतिवेदन बुझाएपछि क्रमश शत प्रतिशत पुर्याउने सहमति भएको थियो। नर्सहरु विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनम उत्रिएका हुन्। अन्य मागका विषयमा एक महिनाभित्र प्रतिवेदन अनुसार हुने सहमति भए पनि आन्दोलनरत नर्सहरुले सबै मागका विषयमा सहमति हुनु पर्ने अडान राखेका हुन्।
