काठमाडौं- नेपाल अर्बुद रोग विजेता समाजको आठौँ साधारण सभा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति गठन गर्दै प्रमिता खनाललाई पुनः अध्यक्षमा चयन गरेको छ।
कार्यक्रमको सुरुमा संस्थाकी कोषाध्यक्ष बिनु केसीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। उनी क्यान्सर रोगका कारण केही दिनअघि मात्रै दिवंगत भएकी थिइन्। उपस्थित सदस्यहरूले उनको स्मृतिमा मौन धारण गरेका थिए।
सभामा अध्यक्ष खनालले प्रगति विवरण प्रस्तुत गरेकी थिइन् भने उपाध्यक्ष पुजा कुँवरले लेखा प्रतिवेदन पेश गरेकी थिइन्।
त्यसअवसरमा क्यान्सर विजेता तथा वरिष्ठ गायिका मिरा राणा र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पियालाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।
नयाँ कार्यसमिति अध्यक्षमा खनाल, उपाध्यक्षमा पुजा कुँवर, सचिवमा प्रमिला केसी, कोषाध्यक्षमा सुस्मिता शर्मा र सदस्यहरूमा सजिना पाण्डे, बिमला दाहाल चयन भएका छन्। बाँकी तीन सदस्यलाई मनोनयन गर्ने अधिकार समितिलाई प्रदान गरिएको छ।
त्यसैगरी, संस्थाका सल्लाहकारहरू डा. अरुण शाही, तारा पोखरेल, पूर्वएसएसपी वसन्त कुँवर, डा. तारा सिंह बम, पत्रकार धनबहादुर खड्का र ई. कैलाश शर्मालाई प्रमाणपत्र प्रदान गरिएको थियो।
सभाले आगामी वर्षमा क्यान्सर विरुद्ध जनचेतना, उपचार सहयोग र क्यान्सर विजेताहरूको मनोबल अभिवृद्धिमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको प्रमुख अतिथि क्यान्सर विजेता समेत रहेकी गायिका मीरा राणा थिइन्। उनले क्यान्सर उपचारमा बिरामीले बेहोर्नुपरेको झन्झट कम गर्न नेपाली अस्पतालले ध्यान दिनुपर्ने बताइन्।