काठमाडौं - तिलगंगा आँखा प्रतिष्ठानले अन्तर्राष्ट्रिय रूपमा मनाइने विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशुसम्बन्धी दिवसको अवसरमा यस वर्ष सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरूआयोजना गर्ने भएको छ।
आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम गर्न सकिने, अन्धोपनाबाट धेरैभन्दा धेरै जनसङ्ख्यामा जनचेतना फैलाउने उद्देश्यले प्रतिष्ठानले उक्त दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।
मधुमेह र समयअघि नै जन्मिएका नवजात शिशु जस्ता दुई महत्वपूर्ण स्वास्थ्य चुनौतीहरूमा समयमै पहिचान सचेतना र सहकार्यपूर्ण उपचारको आवश्यकता औल्याउँदै दिवस मनाउन लागेको एक पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र यसका गम्भीर जटिलताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ। अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक नौ जनामध्ये एकजनामा मधुमेह देखिने गरेको र सोका कारण डाइबेटिक रेटिनोप्याथी अर्थात् मधुमेहका कारण आँखाको पर्दामा समस्या हुनसक्ने सम्भावना रहन्छ।
तिलगंगा आँखा प्रतिष्ठानकी नेत्ररोग विषेशज्ञ डा रबा थापाका अनुसार जसको समयमा उपचार नभएमा व्यक्तिमा अन्धोपनाको समस्या निम्तन सक्छ। तिलगंगा आँखा प्रतिष्ठानले मधुमेह भएका सबै व्यक्तिहरुलाई नियमित आँखा परीक्षण गर्न आग्रह गर्दै आएको छ। आँखामा देखिने समस्यामध्ये ‘डायबेटिक रेटिनेपेथी’ दृष्टिविहीन गराउने कारणमध्ये प्रमुख कारण हो। आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको डा थापा बताउँछिन् ।
नोभेम्बर ८ देखि १६ सम्मको सप्ताहव्यापी अभियान अन्तर्गत सहचेतनामूलक अडियो- भिडियो सामग्री, निर्माण सञ्चारमा सहभागिताका साथै कार्तिक २२ गते शनिबारका दिन सचेतना र्याली आयोजना हुँदैछ। र्यालीमा लाइन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ को एलसीके भिजन सर्कल र अन्य लाइन्स सदस्यहरूको पनि सहभागिता रहनेछ। साथै हप्ताभर मधुमेह सम्बन्धी निःशुल्क आँखा परीक्षण शैक्षिक कार्यक्रमहरू र बिरामी परिवार चिकित्सक अन्तरक्रिया सञ्चालन गरिनेछ।
प्रत्येक वर्ष नोभेम्बर १७ मा मनाइने विश्व समय अगाबै जन्मिएका नवजात शिशु दिवसले समय पूर्व जन्मिएका शिशुहरू र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राखिएको छ। समयअघि नै जन्मिएका नौजात शिशुको हकमा रेटिनो प्याथी अफ प्रिमेच्युरिटी जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ। शिशुले समयमै उपचार नपाएमा दृष्टिविहीन हुने जोखिम बढेर जान्छ।
तिलगंगा आँखा प्रतिष्ठानले यस दिवसका सन्दर्भमा सचेतनात्मक अडियो भिडियो सामग्री निर्माण सञ्चारमा सहभागिताका साथै देशभरका नवजात शिशु उपचार केन्द्र र बाल चिकित्सकहरुले सहकार्यमा समय पूर्व जन्मिएका शिशुहरूको दृष्टि जोगाउनका लागि आँखा परीक्षण गर्न पहल गर्दै आएको छ।