काठमाडौं - जर्मनीको बर्लिन हुने एक स्वास्थ्य सम्मेलनमा जान लागेकी एक नेपाली शाम्भवी अधिकारीले भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भोगेको पीडादायक अनुभवको चर्को आलोचनापछि भारतले स्पष्टिकरण दिएको छ। उनले जर्मनीको बर्लिनमा हुने वर्ल्ड हेल्थ समिटमा सहभागी हुन जाँदै गर्दा दिल्ली विमानस्थलमा आफूलाई अन्यायपूर्ण र अपमानजनक व्यवहार गरिएको बताएकी छिन्।
उनका अनुसार उनी काठमाडौँबाट एयर इन्डिया मार्फत दिल्ली पुगेकी थिइन् र त्यहाँबाट कतार एयरवेज हुँदै बर्लिन पुग्ने योजना थियो। तर दिल्ली विमानस्थलमा उनलाई रोकियो, लगातार सोधपुछ गरियो, र एक अधिकारीले उनको बोर्डिङ पास च्यातिदिए।
'मलाई अपराधीझैं व्यवहार गरियो। मसँग सबै कागजात सही थिए, तर उनीहरूले मेरो यात्रा ‘शंकास्पद’ भन्दै रोकिदिए,' अधिकारीले लेखेकी छिन्, 'मलाई आठ घण्टा विमानस्थलमै पासपोर्ट, झोला, खाना-पानी र इन्टरनेटबिना राखियो। भनियो- अब तिम्रो प्रोफाइल क्लिन छैन, तिमी युरोप सजिलै पुग्दैनौं।'
उनले काठमाडौंस्थित नेपाली दूतावासको सहयोगमा फर्किन पाएकी थिइन्। भोलिपल्ट उनले कतार एयरवेजमार्फत सिधै बर्लिन यात्रा गर्दा कुनै समस्या नभएको बताइन्।
'मसँग समस्या कागजातमा थिएन, समस्या मेरो पासपोर्टमा थियो,' उनले भनिन्। उनको अनुभव सामाजिक सञ्जालमा भाइरल बनेको छ।
त्यसपछि भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।
भारतीय पक्षको स्पष्टीकरण: इमिग्रेशनको कुनै भूमिका छैन
भारतको प्रेस सूचना ब्यूरो (PIB) ले नोभेम्बर १ मा विज्ञप्ति जारी गर्दै उक्त घटनामा भारतीय इमिग्रेशन अधिकारीहरूको कुनै संलग्नता नभएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, 'शाम्भवी अधिकारी, जो काठमाडौँबाट एयर इन्डियामार्फत दिल्ली आइपुगेकी थिइन्, उनी कतार एयरवेजको जर्मनी जाने फ्लाइटमा चढ्ने क्रममा रोकिइन्। यो निर्णय एयरलाइन्सले आफ्नै तर्फबाट गरेको हो, यात्रुको भिसा वैधताको आधारमा।'
अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले आफ्नो अगाडिको यात्राका लागि भारतीय इमिग्रेशनसँग सम्पर्क गर्नुपर्ने हुँदैन र यो विषय पूर्ण रूपमा एयरलाइन्स र यात्रुबीचको मामला रहेको जनाएको छ। 'भारत नेपालसँगको आफ्नो गहिरो मित्रतापूर्ण सम्बन्धलाई उच्च मूल्याङ्कन गर्छ र नेपालका नागरिकहरूप्रति कुनै पनि भारतीय अधिकारी वा निकायबाट पक्षपात गरिएको छैन,' विज्ञप्तिमा भनिएको छ।