स्वास्थ्योपचारमा अनिवार्य छु म, अस्पतालको बहुमूल्य निधि हुँ म !
अमूल्य जीवनको अतुल्य विज्ञान, आधुनिक चिकित्सा प्रविधि हुँ म !
जटिल छ जस्को विज्ञान, अनुसन्धान छ निरन्तर साधना अनि संज्ञान
रोगविज्ञान र उपचारमा युगान्तकारी, प्रविधिको असीमित परिधि हुँ म !
रोग विकारहरु अनेकौ, चोटहरुको सचित्र पहिचान हुँ म !
मार्गदर्शन गर्दछु उपचारलाई, सही र सटिक निदान हुँ म !
एक्स रे, सिटि स्क्यान, एमआरआई अनेक ठाउँ बस्छु म
'रेडियोग्राफी' हो नाम मेरो, सर रोइन्टजेनको सन्तान हुँ म !
सहायक होइन म कसैको, आफ्नो विधाको विज्ञ स्वास्थ्य सहकर्मी हुँ म !
बटनमात्र थिच्ने फोटो खिच्ने मान्छे नबुझ्नु कतै, दक्ष विकिरणकर्मी हुँ म !
अध्ययन तालिमले तिखारिएको, स्वास्थ्यविज्ञान र प्रविधिमा निखारिएको
आधुनिक चिकित्सा विज्ञानको म सारथी, 'रेडियोग्राफी स्वास्थ्यकर्मी' हुँ म !
सारथी म त्यहि चिकित्सा विज्ञानको, 'अन्जान' छु सर्वनाम छु म !
रेडियोग्राफी स्वास्थ्यकर्मी त हुँ म, तर धेरैलाइ मात्र पदनाम छु म !
न त मेरो नाम छ कतै, न मेरो कामको सहि मुल्य र दाम छ कतै
जसका लागि आँखा हुँ म, उसैका कारण अन्देखा गुमनाम छु म !
आधुनिक चिकित्सा विज्ञानको म सारथी, 'रेडियोग्राफी स्वास्थ्यकर्मी' हुँ म !
जसका लागि आँखा हुँ म, उसैका कारण अन्देखा गुमनाम छु म !