विराटनगर- विश्व रेडियोलोजी दिवसका अवसरमा शनिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ । नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशले प्रभातफेरी र सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो ।
सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ । सोसाइटीले आयोजना गरेको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गर्दै शनिहाट चोकस्थित एलिट भवनमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो ।
नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष गणेश बजागाईंले नोभेम्बर ८ लाई एक्स–रेको प्रतिपादन (आविष्कार) भएको दिन मानेर विश्वभरका रेडियोग्राफरहरूले दिवस मनाउने गरेको बताए । “आजको दिनलाई ऐतिहासिक बनाउँदै हामीले कोशीभरका सबै रेडियोग्राफरलाई एकै ठाउँमा भेला गरी पहिलो पटक संयुक्त रूपमा दिवस मनाएका हौं,” अध्यक्ष बजागाईंले भने ।
उनका अनुसार कोशी प्रदेशमा लामो समयदेखि रेडियोग्राफी क्षेत्रमा सेवा पुर्याउँदै आएका अग्रजहरूलाई यस अवसरमा सम्मान गरिएको हो ।
कोशी अस्पतालका विष्णुप्रसाद शर्मा, विनोद काफ्ले, मोहनकुमार थापा र शर्भा मण्डल (खत्वे), नोबेल अस्पतालका सन्तोषकुमार माझी, प्रमेश्वर सरदार, सन्तोष माझी, न्युरो अस्पतालका मदन कामत, सुरेश राजवंशी, पुष्प राजवंशी र विराट अस्पतालका विनय झा गरी ११ जनालाई सम्मान गरिएको थियो ।
साथै सो अवसरमा कोशी अस्पतालमा फलफूल समेत वितरण गरिएको थियो ।
सम्मानित व्यक्तिहरूलाई कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेलगायत अतिथिहरूले सम्मानपत्र प्रदान गरेका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शिव शंकर मण्डलले जानकारी दिए ।