मधुमेह अर्थात् बोलीचालीको भाषामा भन्दा चिनी रोग भनेको हाम्रो शरीरमा भएको ग्लुकोजको मात्रा बढी हुनु हो। हाम्रो शरीरमा ग्लुकोजको मात्रा खाली पेटमा ८० देखी ११० सम्मको र खाना खाइसकेको अवस्थामा ८० देखी १४० सम्म रहनु सामान्य मानिन्छ। रगतमा ग्लुकोजको मात्रा बढ्नु (सुगर बढ्नु) लाई सुरुमा हाइपर ग्लाइसिमिया भनिन्छ। तर त्यो बढेको सुगर नियन्त्रणमा भएन र त्यससँग सम्बन्धित लक्षणहरू देखियो भने त्यसलाई मधुमेह भनिन्छ। त्यसकारण शरीरमा आवश्यक भन्दा बढी ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो।
हामीले खाने खानाबाट ग्लुकोज प्राप्त गर्छौं। खाना खाएपछि शरीरमा ग्लुकोजको मात्रा बढ्छ। तर बढेपनि हाम्रो शरीरको विभिन्न कुरामा त्यो प्रयोग हुन्छ। प्रयोग भएपछि त्यो मात्रा सामान्यमा आउछ। तर त्यसलाई प्रयोग गराउने भनेको हाम्रो इन्सुलिनले हो।
हाम्रो पेटको तलको भागमा रहेको प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन हर्मोन उत्पादन गर्छ। हाम्रो शरीरमा बन्ने ग्लुकोजलाई शरीरको विभिन्न कोषहरुमा लगेर त्यसलाई प्रयोगमा ल्याउने काम इन्सुलिनको हो। जब हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी हुन थाल्छ अथवा इन्सुलिनले चाहेको जस्तो काम गर्न नसक्ने अवस्था आउछ त्यस्तो अवस्थामा हाम्रो शरीरमा रहेको ग्लुकोज रगतमै रहिरहन्छ र विस्तारै त्यसको मात्रा बढ्छ अनी मधुमेह देखिन्छ। त्यसकारण इन्सुलिनको कमी या इन्सुलिनको काम गर्ने क्षमतामा कमी हुँदा मधुमेह हुन्छ।
०००
केही मानिसहरुमा जन्मजात नै प्यानक्रियाज समस्या हुन सक्छ या पछि गएर प्यानक्रियाज सम्बन्धी रोगहरू लागेर प्यानक्रियाज कमजोर हुन गएर इन्सुलिनको मात्रा कम हुन जान्छ।
हामीसँग इन्सुलिनको मात्रा त हुन्छ तर त्यो इन्सुलिन काम गर्न नसक्ने हुन जान्छ। त्यो चाहिँ मुख्य रोग हो। त्यसलाई हामी टाईप टु डाइबेटिज भन्छौं। त्यो चाहिँ हाम्रो शरीरमा इन्सुलिनले काम गर्ने क्षमता कमी भएर हुने हो। इन्सुलिनले गएर काम गर्ने ठाउँ निष्क्रिय हुँदा त्यो क्षमतामा कमी हुन्छ। त्यसलाई सक्रिय बनाउने काम भनेको हाम्रो हो। हामीले गर्ने नियमित कसरत, शारीरिक क्रियाकलापहरूहरुले त्यसलाई सक्रिय बनाउन सकिन्छ। शारीरिक क्रियाकलाप गरिरहेको मान्छे, अथवा मोटोपन कम भएको मान्छेमा इन्सुलिन सक्रिय भएर काम गरिरहेको हुन्छ।
जब हाम्रो शरीरमा आवश्यकता भन्दा बढी मोटोपन आउछ, शारीरिक क्रियाकलाप कम हुदैं जान्छ त्यस्तो अवस्थामा हाम्रो शरीरमा भएको इन्सुलिनले काम गर्न सक्दैन। किनकी त्यस्तो अवस्थामा इन्सुलिनको काम गर्ने क्षमता घट्छ।
इन्सुलिन घट्ने बित्तिकै हाम्रो शरीरमा ग्लुकोजको मात्रा बढ्न थाल्छ। हाम्रो शरीरमा जति ग्लुकोज बढ्छ त्यसले इन्सुलिन बढाउन खोज्छ। इन्सुलिन बढ्दै जाँदा ग्लुकोज प्रयोगमा आउदैन। किनकी त्यस्तो अवस्थामा शरीरमा भएको इन्सुलिन क्षमता नभएको इन्सुलिन हुन्छ। एउटा बिन्दुमा पुगेर ग्रन्थीले यति इन्सुलिन निकाल्न थाल्छ की ग्रन्थी नै बिस्तारै कमजोर भएर जान्छ।
त्यपछि हाम्रो शरीरमा इन्सुलिनको मात्रा पनि कम हुन थाल्छ। पहिले हामीसँग इन्सुलिन थियो काम गर्ने क्षमतामा मात्रै कमी थियो र ग्लुकोज बढिरहेको थियो। यस्तो अवस्थामा हाम्रो शरीरमा पिसाब बढी लाग्ने, तौल घट्ने, प्यास बढ्दै जाने, शरीरमा विभिन्न संक्रमण हुने र जिउ चिलाउने लगाएतका लक्षण पनि देखा पर्छ। हामीले समयमा मधुमेह भएको थाहा पाउनलाई किन हाम्रो शरीरमा इन्सुलिन कम हुन्छ भन्ने कुरामा बढी जोड गर्नुपर्ने हुन्छ।
०००
जन्मजात हुने मधुमेहलाई टाईप वान पनि भन्ने गरिन्छ। त्यसलाई रोकथाम गर्ने बाटो धेरै कम हुन्छ। तर त्यसलाई समयमा पहिचान गर्नेबारे भने सोच्नु पर्छ। सानो बच्चाहरुलाई धेरै पिसाब लागिराको छ, तौल बढीर हेको छैन, शरीरमा घाउहरू आइरहेको छ भने विचार गर्नुपर्छ।
युवाहरुमा किन बढ्दै छ मधुमेह?
पहिले पहिले चालिस वर्ष पछि मधुमेह हुन्छ भन्ने गरिन्थ्यो। आजकल अवस्था त्यस्तो छैन। कोही १५/१६ वर्षको बच्चामा पनि शारीरिक क्रियाकलाप कम गर्ने, मोटोपन बढी भएका, बढी खाने, शरीरमा घाउ खटिराहरू आएको छ भने मधुमेह हो की भनेर शंका गर्नुपर्ने अवस्था छ। त्यसकारण हामीले अब ‘डाईबिटिज इन् योंङ’ भनेर यसमा बढी केन्द्रित हुनुपर्ने छ। किनकी सानो उमेरमा सुगर देखिएका मानिसहरू सुगरसँगै लामो समय बाच्नु पर्ने हुन्छ। अहिले २० देखी ४० वर्षको उमेरकाहरूलाई मधुमेहको समस्या बढीरहेको देख्न सक्छौं।
पहिलेको समयमा शारीरिक क्रियाकलाप थियो, पोषण थिएन्, मानिसहरू शरीरिक रुपले कम्जोर हुन्थे, कति रोगहरुको निदान नै हुँदैन थियो र संक्रामक रोगहरूबाट मृत्यु हुन्थ्यो। अहिलेको पुस्तामा हेर्ने हो भने पोषण बढी भयो। हुन त मधुमेह कुपोषणको कारणले पनि हुन्छ तर अहिले हामीले शरीरको आवश्यकता भन्दा बढी खाइरहेका छौँ र हाम्रो बच्चाहरुलाई पनि आवश्यकता भन्दा बढी खुवाई रहेका छौँ। तर खाए अनुसार शारीरिक क्रियाकलाप छैन। आजकल बच्चाहरू धेरै समय कोठाभित्र र मोबाईल, टिभीमा बिताउछन्।
खान बढी खाने तर शारीरिक क्रियाकलाप नगर्दा इन्सुलिनले काम गर्ने क्षमतामा कमी आउछ। अनी मधुमेह देखा पर्छ।
पछिल्लो पुस्तामा बदलिदो जीवनशैलीको कारणले मधुमेह बढी रहेको छ। जस्तो गाउँबाट शहर झर्ने अनी शहरबाट विदेश जाने चलन बढीरहेको छ। उदाहरणको लागि गाउँमा बर्गर या पिज्जा नखाएको मान्छेले शहर आएर यस्ता चिज खान सुरु गर्छ, शहरमै हुर्किएकाहरू कम्तिमा यस्तो जीवनशैली सँग बाँची रहेको हुन्छ। धेरै चाहिँ गाउँबाट शहर आएका मानिसहरुमा मधुमेह हुन्छ, त्यो सबै जीवनशैली र खानपिनको कारणले हो। त्यस्तै, प्राय: खाडी मुलुक गएर फर्किएकाहरू मधुमेहको समस्या लिएर फर्किनु हुन्छ। किनकि यहाँ र त्यहाँको रहनसहन मिल्दैन, शारीरिक क्रियाकलाप बन्द हुन्छ अनी खानेकुरा बढी खाने गर्नाले मधुमेह बढीरहेको छ। कतिपय मधुमेह भएपछि नै काम गर्न नसकेर फर्किएर आउनेहरू समेत हुन्छन्।
अहिले २० देखी ४० उमेर समुहमा धेरै मधुमेहको समस्या देखिएको छ। त्यसकारण यसमा केन्द्रित भएर काम गर्नु जरुरी छ। मधुमेह हुनबाट बच्न सबैले आफ्नो आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने, शारीरिक क्रियाकलाप गर्ने गर्नुपर्छ।
(डा बुद्ध कार्की मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ हुन्)