काठमाडौं- नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको पुड्कोपनको अवस्थामा उल्लेख्य सुधार आएको छ। पाँच वर्षअघि ३६ प्रतिशत बालबालिकामा उमेर अनुसार पुड्कोपनको समस्या थियो। तर अहिले उक्त अवस्थामा उल्लेख्य सुधार आएको पाइएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडिएचएस) को प्रतिवेदन अनुसार पाँच वर्षमा पुड्कोपनको समस्यामा उल्लेख्य सुधार आएको हो। सर्भेक्षण अनुसार नेपालमा अब पाँच वर्ष मुनिका २५ प्रतिशत बालबालिकामा मात्र पुड्कोपनको समस्या रहेको छ। पाँच वर्षअघि सन् २०१६ मा ३६ प्रतिशतमा पुड्कोपनको समस्या थियो।
नेपालमा हरेक पाँच वर्षमा एनडिएचएस सर्भेक्षण हुँदै आएको छ। यो सर्भेक्षण न्यु एरा नामक संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागी गर्दै आइरहेको छ।
कुन प्रदेशभमा कति पुड्कोपन
सर्भेक्षण अनुसार पुड्कोपनको समस्या सबैभन्दा धेरै कर्णाली प्रदेशमा छ। कर्णालीमा अझै ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेको छ। पाँच वर्षअघि कर्णालीका ५४ दशमलव ५ प्रतिशतमा पुड्कोपनको समस्या थियो।
मधेश प्रदेशमा २९, सुदूरपश्चिम प्रदेशमा २८, लुम्बिनी प्रदेशमा २५, प्रदेश १ र गण्डाकीमा २० र बागमती प्रदेशमा १८ प्रतिशत रहेको छ।
पाँच वर्ष अघि मधेश प्रदेशमा ३७, सुदूरपश्चिम प्रदेशमा ३५ दशमलव ९, लुम्बिनी प्रदेशमा ३८ दशमलव ५, प्रदेश १ मा ३२ दशमलव ६, गण्डकीमा २८ दशमलव ९ र बागमती प्रदेशमा २९ दशमलव ४ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या थियो।
७५ प्रतिशतबाट २५ प्रतिशतमा झर्यो
सन् १९७५ मा नेपालमा पहिलो पटक भएको पोषणसम्बन्धी अध्ययनले ७० प्रतिशत नेपाली बालबालिका उमेर अनुसार बढ्न नसकेको देखाएको थियो। २० वर्षपछि अर्थात् सन् १९९५ मा भएको अर्को अध्ययन अनुसार नेपालमा पुड्का बालबालिकाको संख्या ६८ दशमलव २ प्रतिशतमा झरेको थियो । सन् १९९८ मा डा रमेशकान्त अधिकारी संलग्न रहेको समूहले एउटा पोषण सर्भेक्षण गर्यो। उक्त सर्भेक्षणले नेपालका ६१ दशमलव १ प्रतिशत बालबालिकामा उमेर अनुसार पुड्कोपन रहेको देखायो। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण, २०१६ अनुसार नेपालमा पुड्कोपनको समस्या घटेर ३६ प्रतिशतमा झरेको थियो।
शीघ्र कूपोषणको अवस्था
जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ अनुसार पुड्कोपनसहित ८ प्रतशित बालबालिकामा उचाइ अनुसार कम तौल (जसलाई शीघ्र कूपोषण भनिन्छ) छ। पाँच वर्षअघि सन् २०१६ मा १० प्रतिशत बालबालिकामा उचाइ अनुसार कम तौल थियो।
यसैगरी १ प्रतिशत बालबालिकामा अति कुपोषणको समस्या छ।