गुल्मी- स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ।
आर्थिक वर्ष ०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल तेस्रो भएको हो। लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट गुल्मी अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर प्रदेशमा तेस्रो हुन सफल भएको छ।
अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डे सहितको टोलिले अनुगमन मुल्याङ्कन गरेको थियो। गुल्मी अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङन गर्दा विगतमा भन्दा थप उपलब्धी पाइएको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डे बताए।
यो उपलब्धी प्राप्त गर्न हरदम सहयोग गर्ने सबैको सहयोगबाट यस अवस्थामा आउन सफल भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पच्चाले बताए। सबैको सहयोगले अस्पताललाई थप स्तरउन्नती गर्न सकिने डा पच्चाले बताए।
गुल्मी अस्पतालमा अहिले हाडजोर्नी, गाइनोलोजिष्टका डाक्टरहरु पनि थपिएका छन्। अस्पतालको सेवाप्रवाहमा सुधार ल्याउन निरन्तर खटाईका कारणले गर्दा गुल्मी अस्पतालले सुधारका संकेतहरु बृद्धि गर्दै गएको गुल्मी अस्पतालका अध्यक्ष भरत पाण्डेले बताए।
भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ।