श्रृंगारको विषयमा नारीहरु शोखिन हुन्छन् नै। नेपाली नारी पनि आधुनिकतासँगै श्रृंगारमा बढी नै सचेत हुन थालेका छन्। यससँगै नारीहरुमा श्रृंगार गर्ने तरिका तथा सौन्दर्य सामग्रीको उपयोगमा पनि विस्तार हँुदै गएको देखिन्छ। यद्दपि नेपाली नारीहरु श्रृंगारका बिषयमा पूर्ण सचेत हुन सकेका छैनन्।
कतिपय अवस्थामा उनीहरुले स्वास्थ्यलाई नै असर पुग्नेगरी जथाभावी श्रृंगार गरेको पाइन्छ। श्रृंगार भनेको सुन्दर देखिनका लागि गरिने सामग्रीहरुको उचित प्रयोग हो। श्रृंगार चाडपर्व, मौसम,पहिरन,समय र ठाउँ अनुसार फरक हुनु पर्छ। श्रृंगारबारे आवश्यक जानकारी आफूलाई छैन भने दक्ष सौन्दर्य व्यवशायीसँग सल्लाह लिनुपर्छ। अन्यथा श्रृंगारले सौन्दर्य बढाउने नभएर आफूलाई हास्य पात्र र रोगीसमेत बनाइरहेको हुन्छ। श्रृंगार समाज र परिवारले पचाउने किसिमले मात्र गर्नुपर्छ।
महिलाले घर बस्दासमेत हलुका श्रृंगार सामग्री प्रयोग गर्ने र बाहिर जाँदा विशेष श्रृंगार गर्ने भएकोले समय,मौसम तथा चाडपर्वबारे हेक्का राख्नु जरुरी हुन्छ। त्यसका लागि उमेर, शारीरिक बनावट, उचाइ अनुसार श्रृंगार सामग्री चयन गर्नु पर्छ। अनुहारमा श्रृंगार गर्नुपूर्व सफासँग धोएर नरम कपडाले पुछेर मात्र श्रृंगार लगाउन शुरु गर्नु पर्छ। कसैले ज्ञानको अभावमा विवाहमा गरिने श्रृंगार अन्य चाडपर्वमा गरिरहेका हुन्छन्। यसले श्रृंगार भद्दा देखिन्छ।
आँखाको पूर्ण सजावट बिवाहमा मात्र गरिने भएकाले अन्य समयमा असुहाउँदो मानिन्छ। आँखाको बनावट र आकार अनुसार श्रृंगार गरेमा जस्तो सुकै आँखा पनि सुन्दर बनाउन सकिन्छ। गाजल पनि आँखाको बनावट अनुसार नै लगाउनु पर्छ। ठूला आँखा भएकाहरुले गाजल थोरै मात्र लगाउने र सानो आँखा भएकाहरुले गाजल बढी लगाउने गर्नु पर्छ। त्यस्तै आँखाको तल्लो भागको छेउमा हलुका सेतो आइस्याडो लगाएर आँखा सुन्दर र आकर्षक बनाउन सकिन्छ। यसका लागि आफूलाई ज्ञान नभएमा जथाभावी पोत्नुभन्दा दक्ष व्युटिसियनको सहयोग लिनुपर्छ।
त्यस्तै लिपिस्टकको प्रयोगमा पनि बिशेष ध्यान पुर्याउनु पर्छ। हलुका रंगका लिपिस्टिक सुन्दरता र स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त मानिन्छन्। गाढा रंगका लिपिस्टिकमा रसायन (लीड) को मात्रा बढी हुने हुँदा स्वास्थ्यमा पनि प्रतिकुल असर पार्छ। त्यसैले सुन्दर बन्ने होडमा स्वास्थ्यलाई पनि ख्याल गर्नु पर्छ। कपाल अनुसार पनि पहिरन र श्रृंगारको संयोजन मिल्नु पर्छ।