सर्वप्रथम हालसालमा असमायिक, अल्प आयुमै अनि अप्राकृतिक निधन भएको दिंवगत चिकित्सकप्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दै यस्ता पीडादायी घटनाले प्रकाशमा ल्याएको केही मेडिकल क्षेत्रको दुःखद यथार्थ, चुनौती, चिकित्सकहरुको संघर्षमय जीवनबारे अनि ब्याचलर लेभल पास गरी सक्नु भएको चिकित्सक डाक्टरहरुले एमडीएमएस र एमडीएस गर्नै पर्ने बाध्यात्मक जटिल परिस्थितिको बारेमा यो लेखमा जरुरी छलफल गर्न खोजिएको छ।
केही दिन अगाडिको युवा चिकित्सकको सम्भावित आत्मघटनाले विभिन्न प्रश्नहरु धेरैजसोको मन मस्तिष्कमा सजिलै उत्पन्न हुनसक्लान् जस्तै :
१. आखिर किन कोही चिकित्सक आफैँले खोजेको (सोचेको) रोजेको विषयमा पोस्ट ग्राजुएट पढ्न पाउन धेरै मरिहत्ते गर्ने गर्छन् अनि किन कोही यो प्रयासमा असफल भएपछि डिप्रेसन अनि आत्महत्यासम्मको संघारमा पुग्ने गर्छन?
२. ब्याचलर लेभल पास गरी सक्नु भएको एमबीबीएस र बीडीएस चिकित्सक डाक्टरहरुले एमडी र एमएस र एमडीएस गर्नै पर्ने बाध्यातमक जटिल परिस्थितिको अवस्था किन आयो? अनि पोस्ट ग्राजुएट गरिनै सकेपछि पनि के नै त्यस्तो ठुलो समाजिक आर्थिक फरक पर्ने हुन्छन्?
३ के कति कारणले दैनिक वा हप्ता पिच्छे जनताको हुलमुलले, बिरामी कुरुवाहरुले चिकित्सक अनि स्वास्थ्यकर्मीहरुप्रति लक्षित दुर्व्यवहार, कुटपिटको घटनाको बारम्बार दुखद समाचार सुन्न परिररहेको छ? अनि यस्तो प्रवृत्तिको हतोत्साहित पार्ने घटनाहरुले चिकित्सकहरुमा मानसिक अनि सामाजिक तबरमा पार्ने नकारात्मक प्रभावको लेखाजोखा बारे किन कसैले सोच्दैनन्?
४. किन आजकाल धेरैजना चिकित्सकहरु नेपालमा आफ्नो भविष्य उज्वल अनि सुखद नदेखेर विदेशिन बाध्य भैरहेका छन्?
५. अनि किन आजकल महिनैपिच्छे जस्तो चिकित्सक अनि विशेष गरी युवा स्वास्थकर्मीहरुले आत्महत्या जस्तो दुखद उपाय अनि बाटो रोज्न पुग्दैछ्न? अनि यस्तो घटनाहरुको न्यूनीकरणको लागि सरकार, सरोकारवालाहरुले के कतिको प्रयास गरेका छ्न्। सामाजिक, मानसिक अनि आर्थिक रुपमा चिकित्सकहरुलाई सुरक्षित अनि सबल सुदृढ पार्न किन असफल भैरहेका छन्?
६. सबैभन्दा जायज प्रश्न यो पनि छ कि आखिर आधुनिक वनबाश जस्तो चुनौतीपूर्ण मेडिकल भविष्यको लागि नेपाली समाजमा यति होडबाजी अनि दौडधुप किन व्याप्त चलिरहेको छ?
७. नेपालको मेडिकल शिक्षाको लागि सर्वोच्च निकाय चिकित्सा शिक्षा आयोगले अहिलेसम्म लिएको तीन वटा एकीकृत एमडी एमएस र एमडीएस प्रवेश परीक्षामा किन सबै विवादित भए अनि त्यसमध्येमा पनि यस पटकमा सबैभन्दा बढी वरियताक्रम मिचिएको आरोप अनि मुद्दा मामिला र आन्दोलन पनि भएकोले अब अर्को पल्ट यस्तो विवाद नआओस् भनेर सबै सरोकारबाला सचेत अनि संवेदनशील हुन कतिको जरुरी छ?
८. रेसिडेन्सी गरिरहेका चिकित्सकहरुलाई सिनियरहरुले पेल्ने, शिक्षकहरुले अनावश्यक तनाब दबाब दिने अनि अस्पताल र विभागले अमानवीय तरिकाले गोरु जस्तो दिनरात काममा जोत्ने परिपाटी प्रचलन किन कम वा बन्द हुन सकिरहेको छैन? किन नयाँ रेसिडेन्टहरुलाई हतोत्साहित पारिने गरिएको छ जसको कारण भर्ना भएको विषय कलेज छोडेर जान नत्र संसार नै छोड्नसम्म दुरत्साहित गरिँदैछ।
हो हामी सबै जना मिलेर माथि उजागर गरिएको समय सान्दर्भिक अनि जरुरी जायज प्रश्नहरुको बारेमा बृहत छलफल गरी उत्तर अनि समाधान खोज्न अपरिहार्य देखिन्छ। जबसम्म समाजमा एउटा विशेषज्ञताको विषयलाई अरु विषयभन्दा बढी प्राथमिकता दिने वा बेसिक साईन्स जस्ता विषयका रेसिडेन्टहरुलाई पनि उचित सम्मान नदिने गरिरह्यो भने थप समस्या अनि दुखद घटनाहरु भैरहने जोखिम सजिलै आँकलन गर्न सकिन्छ।
जबसम्म नेपालमै सामाजिक रुपमा चिकित्सकहरुलाई उचित सम्मान अनि साथ सहयोग अनि सुरक्षाको प्रत्याभूतिको साथै उचित्त मूल्यांकन गरेर तलब भत्ताको राम्रो सुबिधा हुँदैन तबसम्म अवश्य पनि हजारौं चिकित्सकहरु विदेश पलायन हुने, समाजिक, आर्थिक अनि मानसिक समस्याले ग्रसित भैरहने छ्न् अनि युवा चिकित्सकहरुलाई राज्यले अकालमा नै गुमाउनु परिरहनेछ।
बिरामीको उपचारको क्रममा बिरामीलाई केही भवितव्य दुर्घटना भएमा चिकित्सक विरुद्ध लापरबाहीको सजायको लागि कानुनी परामर्श वा काउन्सिलद्वारा छानवीन कारबाहीको उचित व्यवस्था भएतापनि आक्रोशमा वा क्षतिपूर्तिको लागि गरिने आन्दोलन, आगजनी, हुलहुज्जत अनि कुटपिटका घटना नरोकिएसम्म नेपालका चिकित्सकहरु निर्धक्क भएर उचित स्वास्थ्यसेवा दिन सक्दैनन्।
मेडिकल शिक्षाको लागि सर्वोच्च निकाय चिकित्सा शिक्षा आयोगले पनि प्रवेश परीक्षा समय तालिका अनुसार, वरियताक्रमलाई नमिच्दै सरल तथा विवादरहित म्याचिङ्गको व्यवस्था गर्न अनि भर्ना अगाडि मानसिक स्वास्थको सर्वेक्षण अनि काउन्सिलिङ गर्न पनि जरुरी देखिन्छ।
रेसिडेन्ट चिकित्सक, ईन्टर्न अनि मेडिकल अफिसरहरुलाई पनि उचित मानवीय व्यवहार गर्दै उहाँहरुको स्वास्थको पनि ख्याल गर्दै केही आरामको लागि समयको व्यवस्था गरी सीमित ड्युटीमा खटाउन पनि मेडिकल कलेजहरुलाई निर्देशन अनि सम्बन्धित निकायले अनुगमन गर्न एकदमै जरुरी देखिन्छ। कोहि चिकित्सकले फेरिपनि आत्महत्याको बाटो रोज्न नपरोस भनी सबैजना सजग, संवेदनशील अनि सहयोगी हुन एक्दमै जरुरी देखिन्छ।
सुरक्षित, सबल अनि स्वस्थ चिकित्सक अनि स्वास्थकर्मी सफल स्वास्थ सेवा अनि स्वस्थ समाजको लागि एकदम अपरिहार्य देखिन्छ्र।
(डा बुद्धीनाथ साह 'सन्जीत' बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमडीजिपीईएम को तेस्रो वर्षमा अध्ययनरत रेसिडेन्ट चिकित्सक हुन्।)