जनतालाई रोग लाग्न नदिइ स्वस्थ राख्ने विधालाई जनस्वास्थ्य भनिन्छ। जनचेतनामुलक कार्यक्रम तथा उचित परामर्शद्वारा मानिसहरुको व्यवहार परिबर्तन गरी रोगबाट बचाउनु नै जनस्वास्थ्य हो। यसले स्वास्थ्यको संरक्षण, प्रवर्धन र रोकथामलाई विशेष जोड दिएको हुन्छ। महिला सामूदायीक स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनस्वास्थ्यका मेरुदण्डको रुपमा लिन सकिन्छ जस्ले मानिसहरुको घरदैलो र स्वास्थ्य आमा समूहमार्फत स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने तथा स्वास्थ्य सेवा पनि प्रदान गर्दछन्। स्वास्थ क्षेत्रमा पहिलो प्राथमिकतामा रहेको राष्ट्रिय खोप कार्यक्रमले बाल मृत्यु तथा बालरोग घटाउन उल्लेखनीय भूमिका खेलेको छ। त्यस्तै समुदाय स्तरमा संचालन हुने गाउँघर क्लिनिक पनि जनस्वास्थ्य सेवा प्रदान गर्ने बलियो विन्दु हो।
पछिल्लो समयमा जनस्वास्थ्यको सुचाकंहरु खस्किनु र उपचारात्मक सेवामा बढी केन्द्रीकृत हुनुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा गाउँघर क्लिनिक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन हुन नसकेको अनुमान गर्न सकिन्छ। यस्तो हुनुको कारणहरु तिनै तहका सरकारको उचित समन्वयको अभाव, ठिक समयमा उचित अनुगमन तथा पृष्ठपोषण नहुनु, जनस्वास्थ्यको लागि पैरवी नगर्नु, भएको कार्यक्रमलाई नै सुदृढ नगरी सेवाहरु विस्तार गर्नु लगायत रहेका छन्।
कम श्रोत र साधनको उचित प्रयोगद्वारा उच्चतम प्रतिफल दिनसक्नु नै कुशल व्यवस्थापन हो। कुशल व्यवस्थापक(मानवश्रोत)ले आर्थिक र भौतिकश्रोतको उचित प्रयोग गर्दछ। वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रमा सरोकारवाला निकायमा जनशक्तिको सही तथ्यांक नहुँदा कतिपय स्थानमा स्वास्थ्यकर्मी कम भइ कामको चाप बढ्न गई र कतै आवश्यकता भन्दा बढी स्वास्थ्यकर्मी भइ तलब भत्ताबाट बञ्चित भइ मानसिक तनावमा गुज्रीरहेको अवस्था छ। सेवा विस्तारसँगै जनशक्तिको उचित व्यवस्थापन तथा जनस्वास्थ्यका आधारभूत सेवाहरुलाई सुदृढ गर्न सम्पुर्ण सरोकारवालाहरुले समयमा नै जोड दिनुपर्ने आवश्यक देखिन्छ।