मेरो घर पहाडी जिल्ला भोजपुरमा पर्दछ। हजुरबुवा, काका धामी हुनुहुन्थ्यो। हजुरबुवा रहुन्जेल घरमा बेलाबेलामा धामी बस्नुहुन्थ्यो। गाउँभरिका मान्छेहरु जोखना देखाउन भनेर आउँथे। फलानो धामीले जे भन्यो तै पुग्छ भन्थे। लागो लागेको, मसानले पिछा गरेको, जङ्गली लागेको, बान परेको, आत्माले पछ्याएको आदि देखाउन आउँथे। उहाँ ७४ वर्षको उमेरमा दमले बित्नुभयो। हजुरबुवापछि काकामा धामी उत्रीयो भन्थे। काका पनि पहिला-पहिला त अलिअलि झारफुक गर्नुहुन्थ्यो, एसएलसी दिएपछि छोड्नुभयो। बेलाबेला ठुलोबुवाहरुले यस्ले कुलदेउता मानेन, नराम्रो हुन्छ भन्नुहुन्थ्यो।
मैले अस्ति भर्खरै एमबीबीएस उतिर्ण गरेँ र इन्टर्नसिप सुरु गरेँ। कम्युनिटी पोस्टिङ अन्तर्गत म १५ दिनका लागि भनेर एक हिमाली जिल्लाको स्वास्थ्य चौकी खटाइएँ। एकदिन हामी सबै स्वास्थ्य चौकीमा बसिरहेका थियौँ। डेलिभेरी केस भन्दै ४-५ जना महिलाहरु आउनुभयो। एकजना पेट समातेर दुख्यो भन्दै हुनुहुन्थ्यो। सिस्टरले हतपत डेलिभेरी रूममा लानुभयो र आवश्यक जाँचहरु गर्न थाल्नुभयो। एकैछिनमा उहाँले डाक्टर भन्दै बोलाउनुभयो। म र त्यहाँ कार्यरत मेडिकल अधिकृत डेलिभेरी रूमतिर दौडियौ। बिरामी कामीराख्नु भएको थियो। मेडिकल अधिकृतले अत्यावश्यक औषधि दिइसकेपछि, परिवारसँग सल्लाह् गर्नुभयो र काठमाडौ लैजानका लागि सल्लाह दिनुभयो।
परिवारजनले सुरुमा उहाँलाई यस्तो माता आउने भैराख्छ, केहि हुन्न भन्नुभयो। तर सबैजनाले रेफरलको लागि सल्लाह दिएर एम्बुलेन्स पनी स्टान्डबाई राखेका थियौ। नभन्दै बिरामी दिदिलाई फेरि माता आएजस्तो भयो र काम्दै भन्न थाल्नुभयो ह…ह…हेर बाबु तेरो बच्चा यहाँ जन्मिदैन..ह..ह.. । यति भनेपछि एक्कासी एकछिन एकापसमा सल्लाह गरेर परिवारजनले मान्न्नुभयो र रेफरल जान तयारी हुनुभयो।
एम्बुलेन्स बिरामी राखेर हुइँकियो। त्यहाँ काम गर्ने ल्याब टेक्निसियन सरले बाटोमा पर्ने अस्पतालहरुमा आवश्यक अनुरुप तयारीको खबर गर्नुभयो। सबैको मनमा के भयो होला भनेर कौतुहलता रहिरयो। भोलिपल्ट ल्याब टेक्निसियन सरले त्यस परिवारलाई फोन गर्नुभयो, परोपकार प्रसूति अस्पताल, थापाथली पुर्याउनुभएछ, अप्रेशन गरेर बच्चा निकाल्नु परेछ, आमा र बच्चालाई अहिले ठिक छ भन्नुभएछ, सबैजना खुसी भयौ। मनमनै भने कुलदेवतालाई धन्यवाद!
साच्ची मेरो हजुरबुवाले कसैलाई झारफुक गर्दा, देउता धेरै रिसाएका छन्, अस्पताल लानुपर्छ भन्नुभएन होला है। अहिले पनि गाउँ शहरमा भएका हरेक धामी, झाक्री, माताहरुलाई थर्मोमिटर चलाउन सिकाएर देउता धेरै रिसाए अस्पताल लानुपर्छ भनेर भन्दिन लगाउँदा कस्तो होला है….यही सोच मनमा खेलिरहेकोले यो लेख लेखेको हु। अन्यथा नलिदिनुहोला। कसैलाई केहि घात पुर्याएछ भने माफी माग्न चाहन्छु।
हाम्रो देशको दुर्गममा पुगेर सेवा पुर्याउनुहुने समस्त स्वास्थकर्मीहरुलाई भित्री हृदयदेखि नमन। एम्बुलेन्स चालकहरु प्रति विशेष आभार!
(लेखक एमबिबिएस् इन्टर्न हुन्।)