काठमाडौं– नेपाली विशेषज्ञ चिकित्सकलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भयो। कुवेतका लागि भनेर सार्वजनिक उक्त विज्ञापन आएपछि नेपाली चिकित्सा क्षेत्रमा ठूलै हलचल मच्चियो।
कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भएको छ। जसको प्रभावस्वरुप वैदेशिक रोजगार विभागले उक्त विज्ञापन गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडल नामक कम्पनीले उक्त विज्ञापन जारी गरेको थियो।
श्रम स्वीकृती समेत नलिइ झण्डै १ हजारको संख्यामा डाक्टर कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि विभागले उक्त कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो। विभागले बिहीबार अनुगमन गरी सम्पूर्ण कागजात नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए।
‘विभागबाट श्रम स्वीकृति नलिइ विज्ञापन गरेको पाएपछि हामीले अनुगमन गरेर कागजात समेत ल्याइ अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘के कति कामदार पठायो भन्ने अध्ययन गरेर हामी कारबाहीको दायरमा ल्याउछौं।’
श्रमस्वीकृति नलिइ विज्ञापन गरेमा विभागले ५० हजार रुपैयाँ जरिवाना गर्ने सक्ने कानुनी व्यवस्था छ। तर, ओमेगाको हकमा के-कति कारबाही हुने भन्नेबारे अध्ययनपछि मात्र भन्न सकिने महानिर्देशक दाहालले बताए। ‘यदि यो सूचना सत्य र कानुनसम्मत देखिएमा उक्त कम्पनीले चिकित्सकहरु लैजान सक्छ,’ उनले भने।
कुवेतको निजी अस्पतालले डाक्टर माग गरेकै भए ओमेगाले पछि प्रक्रिया पूरा गरेर समेत पठाउन सक्ने उनको भनाइ छ।
शंकास्पद विज्ञापन
नेपालबाट एकैपटक आकर्षक तलबको अफर दिएर विज्ञापन गरेको सार्वजनिक भएपछि धेरैले चासो दिएका थिए। उक्त विज्ञापनबारे चासोका साथै शंका पनि उब्जियो। त्यही शंकाको आधारमा विभागले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
उक्त विज्ञापनको बारेमा सोधखोज गर्दा त्यहाँ उल्लेखित अधिकांस फोन नम्बरमा सम्पर्क हुँदैन। स्वास्थ्यखबरले पटक पटक गरेको प्रयासपछि एक कर्मचारीसँग सम्पर्क भयो। स्वास्थ्यखबरको सम्पर्कमा आएका ती कर्मचारीले कुवेतको एक निजी अस्पतालका लागि दक्ष जनशक्तिको डिमान्ड आफूहरुले ल्याएको र प्रक्रिया पूरा गरेर लैजाने बताए।
ओमेगाकी कर्मचारी छहरा राईले कार्यालयले अहिले डकुमेन्ट कलेक्सन मात्र गरिरहेको बताइन्। कागजातहरु संकलन भएपछि रोजगारीका लागि कुवेत पठाउने बाँकी प्रक्रिया पूरा गरिने उनको भनाइ छ। ‘अहिले पठाइहाल्ने होइन, हामीले डकुमेन्ट (कागजात) संकलन गर्नका लागि विज्ञापन गरेका हौं,’ उनले भनिन् ‘अहिले डकुमेन्ट कलेक्ट गर्छौँ, त्यसपछि उता पठाउँछौँ र उताबाट स्वीकृति आएलगत्तै श्रमस्वीकृतीको प्रक्रिया सुरु हुन्छ।’
कागजातहरु स्वीकृत नभएसम्म कुनै पनि शुल्क तिर्नु नपर्ने उनको भनाइ छ। ‘डकुमेन्ट बुझाउँदा अफिसमै आएर बुझाए पनि हुन्छ। अथवा हाम्रो ईमेल वा ह्वाट्सएप, भाइबरमा पनि पठाउँदा हुन्छ। यहीँ अफिसमा आइराख्न पर्दैन र कुनै शुल्क लाग्दैन,’ उनले भनिन्।
परीक्षा कस्तो किसिमको हुने र कसरी छनौट गरिने भन्ने बारेमा पनि अहिले कुनै मोडल तय नभएको उनले बताइन्। उनले उता (कुवेत)बाट डकुमेन्ट स्वीकृत भएपछि त्यसबारे तय हुने र छनौटमा भाग लिएर छानिए मात्रै जान मिल्ने बताइन्।
‘एकजना चिकित्सक कुवेत जाँदा कति लागत लाग्छ?’ भनेर स्वास्थ्यखबरले प्रश्न गर्दा उनले लागत अहिले नै जानकारी नहुने बताइन्। ‘अहिले कति लागत लाग्छ भन्ने अफिसियल रुपमा निश्चित हुन सकेको छैन,’ उनले भनिन् ‘फ्रि भिसा, फ्रि टिकट हुन्छ भन्ने त होइन। तर कुवेत जान पक्कै पनि अस्ट्रेलिया, क्यानडा जान जति नलाग्ला। कति लाग्छ भन्ने अफिसमा जानकारी आएपछि खबर गर्छौँ,’ उनले भनिन्।
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले केही दिनअघि कुवेतमा ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको सूचना निकालेको थियो।
ओमेगाले सार्वजनिक गरेको सूचनाअनुसार कुवेतको धामन अस्पतालमा काम गर्ने गरी विभिन्न ७ वटा विभागमा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ। एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिस्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिस्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ।
९७५ जना चिकित्सक पहिलो चरणमा २ वर्षका लागि माग गरिएको ओमेगाले जनाएको छ। त्यसपछि थप बस्न मन चाहने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्ने उल्लेख छ।
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने ओमेगाले जानकारी दिएको छ। उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने सूचनामा उल्लेख छ।
कुवेतको उक्त अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवस्था समेत गरेको दाबी गरिएको छ। तर दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने कम्पनीको भनाइ छ। ओमेगाका अनुसार कुवेत जाने चिकित्सकले ओमेगालाई पहिलो महिनाको तलब भने खर्चका रुपमा उपलब्ध गराउनुपर्ने हुन्छ।