काठमाडौं- स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले अगाडि बढाएको आइरन फोलिक एसिड खरिद प्रक्रिया विवादमा आएपछि खरिद प्रक्रिया रद्द भएको छ।
महाशाखाले १५ करोड बराबरको खरिद प्रक्रिया अगाडि बढाएको थियो। देशका विभिन्न स्थानीय तहमा आइरन फोलिक एसिड अभावको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले खरिद गर्ने निर्णय गरेको थियो। सोही अनुसार महाशाखाले गत साउन ३० गते खरिद प्रक्रिया अगाडि बढाउन बोलपत्र आह्वान गरेको थियो।
आइरन फोलिक एसिड खरिदको बोलपत्र आह्वान भएदेखि नै खरिद प्रक्रियामा विभिन्न विवादमा निकालिएको थियो। महाशाखाले खरिदका क्रममा आएका गुनासा र सुझाबलाई समेट्दै समय थप गर्दै खरिद प्रक्रिया अगाडि बढाइरहेको थियो। तर पछिल्लो समय विभागले अगाडि बढाएको खरिद प्रक्रिया भन्दा निकै कम मूल्यमा प्रदेशमा आइरन फोलिक एसिड खरिद भएको तथ्य फेला परेपछि खरिद प्रक्रिया नै रद्द गरिएको छ।
महाशाखाले सातवटै प्रदेशबाट माग गरेको खरिद सम्बन्धी विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा प्रति ट्याब्लेट ५५ पैसामा आइरन फोलिक एसिड खरिद भएको छ। यद्यपि सुदूरपश्चिममा अन्य औषधिहरुसहितको प्याकेजमा आइरन फोलिक एसिड खरिद भएको र सो क्रममा आइरन फोलिक ५५ पैसामा खरिद भएको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा प्याकेजमा खरिद गर्दा ५५ पैसामा ४० हजार ट्याब्लेट खरिद भएको देखिन्छ। ५५ पैसाका हिसाबले ४० हजार ट्याब्लेटको २२ हजार रकम परेको देखिन्छ। तर प्याकेजमा अन्य धेरै मात्रामा जाने औषधिको मूल्य भने बढी राखेर खरिद भएको पनि देखिन्छ। अन्य प्रदेशमा भने आइरन फोलिकको ९१, ८७, ९४ पैसा प्रति ट्याब्लेटमा खरिद भएको देखिन्छ।
सुदूरपश्चिममा प्याकेजमा ५५ पैसामा खरिद भएको विवरण
विभागले प्रति ट्याब्लेट ९३ पैसा लागत अनुमान राखेर खरिद प्रक्रिया अगाडि बढाएको थियो। विभागले सुदूरपश्चिम भन्दा निकै महँगो मूल्य राखेर खरिद प्रक्रिया अगाडि बढाएको तथ्य फेला परेपछि विभागको खरिद रोक्न उजुरी र गुनासाहरु परेका थिए। विभागले सोही आधारमा शनिबार एक सूचना निकाल्दै खरिद प्रक्रिया रद्द गरेको जानकारी दिएको छ।
आइरन फोलिक एसिड स्थानीय तहले नै आवश्यकता अनुसार खरिद गर्न बजेट दिइएको छ। देशका धेरै स्थानीय तहबाट अभावको गुनासो आएपछि सरकारले खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाएकोमा सूदुरपश्चिमको दर कम देखेपछि खरिद रद्दको निर्णय भएको महाशाखाको खरिद शाखा प्रमुख दया पन्तले जानकारी दिए।
विभागले अगाडि बढाएको खरिद प्रक्रियामा विभिन्न पाँच वटा कम्पनीहरुले आवेदन दिएका थिए। यसरी आवेदन दिनेहरुमा क्यान्डेला मेडि कन्सर्न, मेडि सेल्स फर्मा, लभमेडिकल, जिएच मेडिहेल्थ कन्सर्न प्राली र मेडिगोल्ड इन्टरनेसनल प्राली रहेका छन्।