काठमाडौं - नेपाल मेनोपज सोसाइटीले विश्व मेनोपज दिवस मनाएको छ । महिला स्वास्थ्य तथा मेनोपज सम्बन्धी जागरूकता वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइएको सोसाइटीले जनाएको छ ।
कार्यक्रमको उद्घाट्नमा उपस्थित भएकी स्वास्थ्य मन्त्री प्राडा सुधा शर्माले नेपालमा सार्वजनिक स्वास्थ्य नीतिमा मेनोपज स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक भएको बताईन् । सोसाइटीकी अध्यक्ष डा शीला वर्माले स्वास्थ्यमन्त्री शर्मालाई महिला स्वास्थ्य तथा चिकित्साशास्त्र शिक्षामा पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप सम्मानपद प्रदान गरिन्।
कार्यक्रमको वैज्ञानिक सत्रमा “Vulvovaginal Health मा PRP को भूमिका” विषयमा डा. मनिषा सिंह ले वक्तव्य प्रस्तुत गरिन् । उनले प्लेटलेट-रिच प्लाज्मा (पीआरपी) को ताजा प्रगति, क्लिनिकल लाभ, तथा मेनोपजका लक्षण व्यवस्थापनमा यसको उपयोगिताबारे विस्तृत जानकारी दिईन् ।
नेपालका करिब ६० जना वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरू कार्यक्रममा सहभागी भए। उपस्थित विशेषज्ञहरूले नेपालमा मेनोपज व्यवस्थापन, चेतना अभिवृद्धि, अनुसन्धान, तथा स्वास्थ्य सेवा प्रवर्द्धनका विषयमा विचार-विमर्श गरे।
यस आयोजना मार्फत नेपाल मेनोपज सोसाइटीले निरन्तर रूपमा शिक्षा, अनुसन्धान, तथा पैरवी—यी तीन माध्यमबाट महिलाहरूलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता पुनः दृढ गरेको छ।अध्यक्ष डा.वर्माले प्रा. डा. गणेश दंगाल को प्रमुख सम्पादकत्वमा नेपाल मेनोपज सोसाइटी जर्नल सुरु गर्ने घोषणा गरिन् ।