काठमाडौं - नेपाल रेडियोलोजिष्ट संघले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस २०२५ मनाएको छ । सो अवसरमा पहिलो नेपाल फिटल समिट भव्य रूपमा सम्पन्न गरिएको संघले जनाएको छ ।
इमेजिङ मास्टर्स क्लासको सहकार्यमा आयोजित यस कार्यक्रमले देशभरका वरिष्ठ रेडियोलोजिस्ट, पूर्व अध्यक्षहरू, सल्लाहकार, कार्यसमिति सदस्य र युवा चिकित्सकहरू उपस्थित थिए ।
एनआरएन अध्यक्ष डा. तेजेन्द्र कार्कीले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए ।उनले आधुनिक स्वास्थ्य सेवामा रेडियोलोजीको अपरिहार्य भूमिकाबारे प्रकाश समेत पारेका थिए । उनले १८९५ मा विल्हेम कोनराड रेन्टगनद्वारा एक्स–रेको खोजदेखि आजका अत्याधुनिक अल्ट्रासाउन्ड र इन्टरभेन्सनल इमेजिङ प्रविधिसम्म रेडियोलोजीले चिकित्सा विज्ञानमा ल्याएको क्रान्तिलाई स्मरण गरे ।
डा. कार्कीले यस वर्षको विश्वव्यापी नारो “Radiologists and Radiographers Supporting Patients” उद्धृत गर्दै सुरक्षित, जिम्मेवार र सहकार्यपूर्ण इमेजिङ अभ्यासको महत्त्वमा जोड दिए ।
उनले फिटल इमेजिङलाई प्रारम्भिक निदान र गर्भअवस्थाको हेरचाहमा महत्वपूर्ण क्षेत्र तथा नेपालमा फिटल मेडिसिन विकासको आधारशिला भएको बताए ।कार्यक्रममा क्विज प्रतियोगिता गरिएको थियो।
पहिलो विजेता टोली आइओएममा कार्यरत डा भूपेन्द्र अधिकारी ,डा शिवाली राव तथा डा आशिष भण्डारी थिए। दोस्रोमा पाटन अस्पतालमा कार्यरत डा समृद्धा बस्न्यात,डा शरद बराल तथा डा राजेन्द्र न्यौपाने थिए । तेस्रोमा न्याम्समा कार्यरत डा आइमिनाथ इस्माइल, डा सीजना सिंह महर्जन तथा डा जसपाल यादव थिए।
विजेता टोलीले भारतमा आयोजित हुने अन्तर्राष्ट्रिय RADQUIZZ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ । कार्यक्रममा सिएनएस इमेजिङ नामक पुस्तकको विमोचन गरिएको थियो ।