नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभुत गरेता पनि प्रत्येक दिन २० जना नेपालीले आत्महत्या नै जीवनको अन्तिम बिकल्पका रुपमा लिँदा र अझ प्रत्येक वर्ष बढदो क्रममा देखिएको आत्महत्याका अंकहरुले मानसिक स्वास्थ क्षेत्रमा चुनौती थपिरहेको छ।
बेला बेलामा समाजका प्रतिष्ठित व्यत्तित्व,शिक्षित वर्ग र उच्च पदस्थ ब्यक्तिहरुको आत्महत्याका घटना सामाजिक संजाल शेयर भईरहँदा समान पिडा र समान सोच भएका व्यक्तिहरुको जिवन जिउनु पर्दछ भन्ने विश्वास र आशाहरुमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रहार गरिरहेको हुन्छ।
कुनै एक मानिसको आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ र प्रत्येक आत्महत्याको पछाडि २०-२५ पटकको असफल प्रयासहरु रहेका हुन्छन, कम्तिमा पनि हामीले आत्महत्याको सोच,व्यवहार, जोखिम वा असफल प्रयासलाई समयमा नै पहिचान गर्न सक्यौ भने मात्र आत्महत्याको दरमा कमि ल्याउन सकिन्छ।
गत आर्थिक वर्ष २०७९/२०८० मा आत्महत्याबाट मात्र नेपालमा ६९९३ जनाले ज्यान गुमाएका छन भने विश्वमा वर्षेनी ७ लाख जनाले आत्महत्याका कारण ज्यान गुमाउने गर्दछन र प्रत्येक ४० सेकेण्डमा कुनै न कुनै ब्यक्तिले विश्वको कुनै कुना मा आत्महत्या गरिरहेका हुन्छन र ति मृत्यु मध्य ७७ प्रतिशत आत्महत्या निम्न र मध्यम आय भएको देशमा हुने गर्दछ।
आत्महत्याका कारणहरु के हुन त?
आत्महत्या गर्ने ब्यक्तिहरुमा एक मात्र कारण हुदैन। जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक,सांस्कृतिक तथा वातावरणिय पक्षहरुको जटिल अन्तरक्रियाको उपज हो आत्महत्या। जसका कारण आत्महत्या गर्न व्यक्तिहरु मध्य ९० प्रतिशत व्यक्तिहरु कुनै न कुनै मानसिक स्वास्थको समस्याबाट गुज्रिरहेका हुन्छन्।
हाम्रो समाजमा अझ पनि मानसिक स्वास्थका बारेमा खुलेर कुरा गर्दा हिन्नताबोध महसुस गरेको देखिन्छ तर आफ्ना समस्याहरुका बारेमा परिवार, साथी, मनोचिकित्सक वा मनोपरामर्शदातालाई सुनाउँदा मात्र पनि आत्महत्याका लाग निरुत्साहित बनाउँछ र जीवन जिउने आशा जगाई रहेको हुन्छ।
आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान कसरी गर्ने?
आत्महत्याको सोच भएका ब्यक्तिहरु कुनै न कुनै रुपमा आत्महत्याका बारेमा कुरा गरिरहेका हुन्छन र निम्न कुरा हरुमध्ये केही हुन सक्दछ।
बिगतमा आत्महत्याको प्रयास गरेको
परिवारमा आत्महत्याको इतिहास रहेको
बारम्बार आत्महत्या, हिनतावोघ, हरेस,निराशा वा आत्मग्लानीको कुरा गर्नु
सुसाईड नोट लेख्नु
हालसालै ठुलो बज्रपात हुने गरी कुनै घटना घटेको
मानसिक स्वास्थ्य समस्या जस्तै उदासीनत मनोरोग,सिजोफ्रेनियाको मनोरोग ,लागुऔषधको दुर्व्यसन, सहजै आफ्नो भावनाहरु व्यवस्थापन गर्न नसक्नु।
द्वन्द,हिंसा,प्रकोप ,दुर्व्यवहारका घटनाहरु हुनु
आत्महत्याको जोखिम कसरी न्यूनिकरण गर्ने
आत्महत्याको जोखिन न्यूनीकरणका निम्ति परिवार ,छरछिमेक ,समाज, साथिभाई,कार्यस्थल, संचार माध्यम कलाकर्मी, जनप्रतिनिधि सम्पूर्णको ऐक्यवद्दता निकै जरुरी छ।
कुनै पनि व्यक्ति किन आत्महत्या गर्न चाहन्छ सिधै प्रश्न गर्ने, उनीहरुको जोखिमका कारणहरु आकलन गर्ने
हरेक आत्महत्यासम्बन्धी धम्की वा वचनलाई संवेदनशिलता साथ लिने।
प्रसस्त समय दिने, कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने, भावनात्मक सहयोग गर्ने
उनीहरुलाई परिवारजन वा मित्रजनहरुसँग जोडिदिने।
आत्महत्याको सम्भावित साधनहरु हतियार, विषादि, डोरी जस्ता चिज उनीहरुको पहुँचबाट टाढा राख्ने।
आत्महत्यासम्बन्धी घटनाहरुका बारेमा समाचार सम्प्रेषण वा सामाजिक संजालमा गलत सम्प्रेषणका कारण समेत त्यस्ता सोच भएका व्यक्तिलाई दुरुत्सहान गरी घटनातर्फ बढाउन सक्दछ त्यसैले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा संयम हुनुपर्दछ र सेयर गर्नुपूर्व सोच्नु पर्दछ ,के साच्चै सेयर गर्न आवश्यक छ त?
मानसिक स्वास्थ्य उपचारका लागि प्रवर्द्धन गर्ने,समयमै मनोचिकित्सकको परामर्श लिने।
सबै स्तरबाट मानसिक स्वास्थ कै कारण लाग्ने लान्छाना र विभेद लाई अन्त्य गर्नका लागि पहल गर्ने।
कसैलाई आत्महत्याको सोच आएमा, आत्महत्याविरुद्धको राष्ट्रिय संचार,शुल्क नलाग्ने नं “११६६ “ मा सम्पर्क गरी मनोपरामर्शदातासँग सल्लाह लिने।
विश्वमा हुने विभिन्न मृत्युहरुमध्ये आत्महत्याबाट हुने मृत्युलाई हामी सबैको एैक्यबद्दता रह्यो भने बचाउन सकिन्छ , त्यसैले “आशा जगाउँ, जीवन बचाँउ“।
(लेखक स्वास्थ सेवा विभाग मानसिक स्वास्थ शाखामा कार्यरत छन्।)