नेपालमा सर्पदंशको व्यापकता, चुनौतीहरु, प्राथमिक उपचार र जनचेतनामूलक जानकारी
हिमालको मुटुमा बसेको नेपाल मनमोहक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाको धनी मानिन्छ । यद्यपि यस सुन्दरताको बीचमा लुकेको एउटा खतरा छ जुन प्राय बेवास्ता गरिन्छ त्यो हो सर्पदंश। यस लेखमा नेपालमा सर्पदंशको व्यापकता, सचेतना, प्राथमिक उपचार र यसको आवश्यकताको बारेमा प्रकाश पारिएको छ।
सर्पदंश एक मौन खतरा:
सर्पदंश नेपालमा एक महत्वपूर्ण जनस्वास्थ्य समस्या हो। नेपालका ग्रामीण भेगहरु जहाँ कृषिले जंगलको परिदृश्यले भरिपूर्ण ठाउँमा विषालु सर्पहरुको उपयुक्त बासस्थान रहन्छ। नेपाल घातक रसल भाईपर, करेत, कोब्रासहित धेरै विषालु प्रजातिका सर्पहरूको बासस्थान हो। वातावरणीय सन्तुलनका लागि सर्पहरूको भूमिका जरुरी रहे पनि सर्पको टोकाइले मानव जीवनमा गम्भीर खतरा निम्त्याउन सक्छन् र समयमै उपचार हुन नसके मानिसको ज्यानसमेत जानसक्छ।
सर्पदंशको व्यापकता र जोखिम क्षेत्रहरू:
हरेक वर्ष विश्वभर विश्वास हरेक वर्ष विश्वभर २० लाख मानिसहरूलाई सर्पले टोकेको कारण अनुमानित ८१,००० देखि १,३८,००० जनाको मृत्यु हुन्छ। विश्व स्वास्थ्य संगठनले नेपालमा सर्पदंशलाई उपेक्षित उष्णप्रदेशीय रोगहरुको समूहमा राखेको छ। सर्पबारे अध्ययन गरेका विज्ञहरूका भनाइमा नेपालमा हालसम्म ९० भन्दा बढी प्रजातिका सर्पहरू पाइएको विवरण छ र त्यसमा १७ प्रजातिका सर्पहरु बिषालु रहेको अनुमान गरिएको छ। अर्थात् झन्डै ८० प्रतिशत सर्पहरु विषालु हुँदैनन्/छैनन्। नेपालमा तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घटना धेरै हुने गरेको बताइन्छ। प्रायः सर्पहरु बर्षात भएपछि उनीहरूको बासस्थानबाट बाहिर निस्कने गर्दछन्। करेत सर्पले प्रायः राती मात्र टोक्ने गर्छ, भने कोब्रा सर्पले बेलुका र दिउँसो धेरै टोक्ने गर्छ।
नेपालको तराई क्षेत्रमा बर्सेनि करिब २६०० (२३८६- ३,२२५ ) सर्पदंशका कारण मृत्यु हुने गरेको अध्ययनले देखाएको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वार्षिक २०,००० अस्पताल भर्ना हुने गरेको र १००० सर्पदंशका कारण मृत्यु हुने गरेको देखाएको छ।
सर्पदंश र यसका चुनौतीहरु:
-स्वास्थ्य सेवामा सिमित पहुँच:
धेरै दुर्गम क्षेत्रहरुमा राम्रोसँग सुसज्जित सेवाहरू छैनन् र नजिकको अस्पताल वा स्वास्थ्य चौकी पुग्न पनि घण्टौ लाग्ने स्थानहरु धेरै छन्। तर घटनाहरु भने ग्रामीण भेगमा धेरै हुने गरेको पाइएको छ। सर्पदंश आफैंमा एउटा आकस्मिक उपचार चाहिने अवस्था पनि हो र यसको जाँच र उपचार समयमै गरिनुपर्छ तर दुर्गम भेगमा तथा अन्य ठाउँमा कतै दुरी धेरै भएका कारण वा कतै उचित जनचेतना नभएका कारण उपचारमा ढिलासुस्ती भएर दीर्घकालीन शारीरिक तथा मानसिक समस्याहरू पनि भोग्नु पर्ने र सर्पदंशले ज्यानसमेत लिन सक्ने अवस्था हुन सक्छन।
-एन्टीभेनमको आपूर्तिमा कमी:
एन्टीभेनमको उपलब्धता सर्पदंशको उपचारमा एक महत्वपूर्ण चुनौति हो जुन प्राय धेरै स्वास्थ्य सेवाहरुमा अपर्याप्त छ। नेपालमा प्रायः जिल्ला अस्पताल तथा त्योभन्दा माथिका अस्पतालहरुमा एन्टीभेनमको उपलब्धता हुन्छ तर स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र हरुमा एन्टीभेनमको जनशक्ति अभाव हुन सक्छ ।
-जनचेतनाको अभाव:
नेपालको जनसंख्याको एक महत्त्वपूर्ण भाग विशेषगरी ग्रामिण तथा तराई क्षेत्रहरुमा सर्पदंश रोकथाम र प्राथमिक उपचारका उपायहरु बारे ज्ञानको कमी रहेको छ। सचेतनाको यो अन्तरले समयमै उपचार पाउन बाट बाधा पुर्याउँछ। ग्रामीण भेगका मानिसहरुमा सर्पदंशको सचेतना कम भएका कारण यसले सर्पदंश बाट हुन सक्ने अल्पकालीन र दीर्घकालीन समस्याहरूमा सजिलै निम्त्याउने खतरा हुन्छ।
-परम्परागत विश्वास र अभ्यासहरु:
अझै पनि नेपालका कतिपय स्थानहरुमा आधुनिक चिकित्सा उपचार भन्दा परम्परागत उपचार विधिहरु: सर्पले टोकेपछि अस्पताल लैजानुको सट्टा धामी झक्रिकोमा लैजाने, सर्पको बीस फ़ैलीन नदिन धगोले कसेर बाधने लगायतका अभ्यासहरु अपनाइएको पाइएको छ। यद्यपि यी अभ्यासहरूको सांस्कृतिक महत्व हुनसक्छ तर यिनीहरुले प्रभावकारी उपचारमा धेरै बाधा हरु उत्पन्न गर्न सक्छन् र थप समस्याहरु सिर्जना गर्न सक्दछन्। त्यसैले नेपालमा सर्पदंशको प्रभावकारी व्यवस्थापन गर्नको लागि संयुक्त प्रयासको आवश्यकता छ।
सर्पले टोकिहाले के गर्ने?
-डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
-सर्पले टोकेको ठाउंमा काट्ने चुस्ने, बाँध्ने नगर्ने
मल्हम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने
-बिरामीको आत्मविश्वास कायम राख्ने
-धामी झांक्रीतिर नलाग्ने
-विष सोस्ने ढुंगाको पछि नलाग्ने
-संभव भए सम्म डस्ने सर्पको पहिचान गर्ने तर नमानें
-जति सक्दो चांडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने
कतिपयले (सम्भवत धेरैले) विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन पनि सक्दैनन्। तसर्थ सर्पले टोकेको बिरामीमा निम्न लक्षण वा संकेतहरु देखिए कोब्रा वा करेत जस्ता अत्यन्त विषालु सर्पले टोकेको भनेर बुझ्नु पर्दछ। त्यस्ता बिरामीलाई जति सक्दो चाँडो सर्पदंश उपचार केन्द्र वा अस्पतालमा पुर्याउनुपर्दछ।
विषालु सर्पले टोकेमा देखिने केही घातक लक्षण वा संकेतहरु:
१. आँखाको ढकनी पुरा खोल्न असमर्थ हुनु।
२. मुख पुरा खोल्न असमर्थ हुनु।
३. दृष्टि धमिलो वा वस्तुलाई दुई वटा (डबल भिजन) देख्नु।
४. जिब्रो बाहिर निकाल्न र केही निल्न पनि नसक्नु।
५. मांशपेशी शिथिल हुनु।
कोब्राले टोकेमा छिटो भनेको ३० मिनेट भित्रमा बिरामीमा श्वासप्रश्वास अबरुद्ध (फेलर) हुन गइ मृत्यु समेत हुनसक्दछ।समुदायमा आधारित भएर गरिएको एक अनुसन्धानले ८० प्रतिशत बिरामीको मृत्यु समयमा सर्पदंश उपचार केन्द्र वा अस्पताल पुग्न वा पुर्याउन नसक्दा भएको देखाएको थियो। तसर्थ ढिला नगरी सर्पदंश उपचार केन्द्रमा बिरामीलाई पुर्याउन सके मृत्युदर लाई धेरै हदसम्म कम गर्न सकिने छ। तर यसको लागि सर्पदंशको उच्च जोखिम रहेका ठाउँका स्थानीयहरुले भने सर्पदंश उपचार केन्द्र कहाँ छ भनेर थाहा पाउन अति आवश्यक छ।
सर्पदंश रोकथामका लागि गरिनुपर्ने प्रयासहरु:
-स्वास्थ्य सेवामा पहुँच बढाउनु :
दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण र स्तर आपूर्ति सुनिश्चित गर्नाले मृत्युदर लाइ उल्लेखनीय रुपमा घटाउन सक्छ
-बढ्दो जनचेतना र शिक्षा :
सर्पदंश रोकथाम विषालु सर्पको पहिचान र उपयुक्त प्राथमिक उपचारका उपायहरुबारे समुदायलाई शिक्षित गर्नुपर्ने देखिन्छ।
-स्वास्थ्य प्रदायकलाई प्रशिक्षण:
समयमै र प्रभावकारी उपचारको लागि स्वास्थ्य सेवा प्रदायकलाई सर्पदंश व्यवस्थापनको लागि आवश्यक सीप र ज्ञान प्रदान गर्नु आवश्यक छ।
-संयुक्त प्रयास:
सर्पदंश रोकथाम र व्यवस्थापनका प्रयासहरुलाई सुव्यवस्थित बनाउन गैरसरकारी संस्थाहरु, सरकारी निकायहरु र स्वास्थ्य संस्थाहरूलको संयुक्त प्रयास जरुरि छ।
साथै सर्पदंशको बारेमा निम्न्न १० वटा कुराहरूमा ध्यान दिन र सबै समुदायले बुझ्न जरुरी छ:
१) सर्पदंशको सचेतनाकालागि सामुदायिक जनचेतना अभियान संचालन गर्ने
२ ) घर र घर वरिपरि मुसा छुचुन्द्रा हरूको बसिस्थान घटाउने र कुखुरापालन घरबाट टाढा बनाउने,
३) घर वरिपरिको घाँसका झाडी तथा बुट्यान हरु काटेर सर्प बस्नसक्ने स्थानहरुबाट निर्मुल पार्ने,
४) रातीमा झ्याल ढोकाहरु बन्द गरेर सुत्ने र सुत्दाखेरि भुइमा सकेसम्म नसुत्ने र सुत्नै पर्ने अवस्था आयमा झुल लगाएर सुत्नाले सर्प र लामखुट्टे दुइटैको टोकाइबाट बच्न सकिन्छ
५) घरको स्टोर कोठालाई घरभन्दा टाढा बनाउने,
६) रातिमा घरबाट निस्किँदा जुत्ता लगाएर र बत्ती बालेर मात्र हिँड्ने,
७) खेतमा हिँड्दा र काम गर्दा चनाखो भएर हिँड्ने र काम गर्ने,
८) सर्प संग खेल्ने र सर्प लाई धपाउने तर्साउने काम जिउँदो वा मरेको सर्प दुवैलाई नगर्ने,
९) लामो घाँस हुर्केको ठाउँ, रुखको प्वाल तथा जमिनको प्वालमा हात नहाल्ने,
१०) जुत्ता तथा कपडा लगाउनु अगाडि सर्प छ कि छैन जाचेर र चनाखो भएर मात्र लगाउने गर्नु पर्दछ।
निष्कर्षमा, नेपालमा विशेषगरी ग्रामीण क्षेत्रमा सर्पदंश एउटा गम्भीर जन स्वास्थ्य चिन्ताको विषय बनेको छ। यस मुद्दालाई सम्बोधन गर्नका लागि स्वास्थ्य सेवामा पहुँच बढाउने, एन्टिभेनम् को बढ्दो उपलब्धता र सर्पदंश रोकथाम र व्यवस्थापनमा लागि व्यापक जनचेतना सहित बहुआयमिक दृष्टिकोण आवश्यक छ। संयुक्त प्रयास र सामुदायिक संलग्नता मार्फत नेपालमा सर्पदंशको प्रभावलाई कम गर्ने दिशामा उल्लेखनीय प्रगति गर्न सकिन्छ।