दुखाइ के हो?
दुखाइ भनेको सामान्य लक्षण मात्रै हो। यसले हुनसक्ने या भइरहेको समस्यालाई संकेत गर्दछ। यदि हामीलाई दुखाइ नै भएन भने आफूलाई भएको समस्या चाल पाउँदैनौँ। यदि दुखाइ लामो समयसम्म भइराख्यो र त्यसले हाम्रो दिनचर्यामा नै असर गर्यो भने त्यसको चाँही हामीले उपचार गर्नपर्छ। यदि दुखाइ तीन महिनासम्म भयो भने चाँहि दुखाइ आफैँमा रोग भयो।
दुखाइ कति प्रकारको हुन्छ?
दुखाइ धेरै प्रकारको हुन्छ। घुँडाको दुखाइ, ढाडको दुखाइ, गर्दनको दुखाइ, औँलाहरुको दुखाइ आदि। समयको आधारमा दुई प्रकारको हुन्छः
१.अल्पकालिन दुखाइः तीन महिनाभन्दा कम दुखाइ। जस्तैः कहिलेकाँही टाउको दुख्नु, महिनावारी हुँदा तल्लो पेट दुख्नु, ढाड दुख्नु।
२.दीर्घकालिन दुखाइः तीन महिनाभन्दा धेरै समय दुखाइ हुनु। जस्तैः लामो समयसम्म टाउकोको दुखाइ, घुँडाको दुखाइ, क्यान्सर भएपछि शरीरमा हुने दुखाइ आदि।
कस्तो अवस्थामा इन्टरभेन्सनल पेन म्यानेजमेन्ट डाक्टरसँग भेट्ने?
दुखाइ लक्षण मात्रै नभएर रोग भएको अवस्थामा। दुखाइको कारणले दैनिक काम गर्न गाह्रो भएको छ वा सुत्न गाह्रो भएको अवस्थामा। सामान्य उपचार ओखतीले पीडा कम नभएको, रगत वा अन्य जाँचमा केही खराबी नभेटिएको अवस्थामा हामीलाई भेट्नुस् भन्छु। सामान्य दुखाइमा त हामीले डाक्टरलाई देखाइहाल्नुस् भन्दैनौँ। टराईजेमिनल निउराल्जिया, सर्भाइकल रेडिकुलोपाथी, अर्वुद रोगका दुखाइ, कुम वा घुँडाको दुखाइ आदी समस्यामा उपचार गर्दागर्दै ठिक नभएको स्थितिमा बिरामीले इन्टरभेन्सनल पेन डाक्टरसँग भेट्नुपर्छ।
रोगसँगै दुखाइ आउने होइन र?
असी प्रतिशत दुखाइचाँही रोगसँगै जोडिएर आउँछन्। रोगको उपचार गरेपछि दुखाइ पनि हराएर जान्छ। तर बीस प्रतिशत दुखाइचाँही धेरै अप्ठ्यारा हुँन्छन्। कुनै पनि जाँचमा समस्या नदेखिएपछि चिकित्सकले रोग छैन भन्छ। बिरामीलाई चाँही दुखाइ भइरहन्छ। यसले मानसिक समस्या पनि ल्याउँछ। यस्तो अवस्थामा भने हामी कहाँ आउनुस्। अहिले यस्ता दुखाइ पत्ता लगाएर निदान गर्ने एडभान्स टेक्नोलोजी हामीसँग आइपुगेको छ। दुखाइलाई व्यवस्थापन गरेर बाँच्न सकिन्छ।
दुखाइले शरीरमा कसरी असर गर्छ?
दुखाइले गर्दा विभिन्न समस्याहरु आउँछ। जचाउँदा रोग छैन तर दुखाइ छ भने व्यक्तिको लागि झनै जटिल विषय बन्न जान्छ। त्यसले एन्जाइटी, डिप्रेसन निम्त्याउँछ। यतिसम्म कि मान्छेहरुले आत्महत्या गरेका छन्। दुखाइको विषय शारीरिक मात्रै होइन, यसले समग्र व्यक्तित्वमा असर पुर्याउँछ।
दीर्घकालिन दुखाइमा बिरामीले के गर्ने? के दुखाइसँगै बिरामीले बाँच्नपर्ने हुन्छ?
दीर्घकालिन दुखाइका बिरामीले आफ्नो जीवनशैली सुधार्न आवश्यक छ। हामीले खासमा के गर्छौ भने दुखाइको पहिचान गरेर त्यहीँ फोकस गरेर इन्जेक्सन लगाउँछौ। यसले बिरामीलाई केही राहत मिल्छ। पहिलेभन्दा पचास प्रतिशत दुखाइ कम भयो भने पनि बिरामीको आत्मबल बढ्छ। दैनिक चर्या गर्न नसक्ने बिरामी छ भने उसले दैनिक कामहरु गर्न सक्छ। हामीले सकेसम्म बिरामीलाई सजिलो बनाउँछौ।
दुखाइ व्यवस्थापन गर्दाका औषधिहरु कत्तिको खर्चिलो हुन्छ?
धेरै पुरानो दुखाइ छ भने त्यसलाई पहिचान गर्न केही समय लाग्छ। त्यही अनुसारको प्रविधि प्रयोग गरेर बिरामीको दुखाइलाई हामीले कम गर्नपर्ने हुन्छ। सामान्य खर्चले पनि धेरैजसो दुखाइको उपचार गर्न सकिन्छ।
कस्तो अवस्थामा बिरामी आइपुग्छन्?
हो, ठिक भन्नुभयो। दुखाई भनेको सबैको एउटै हुँदैन। हाम्रो नेपालमा के समस्या छ भने एकजनालाई घुँडा दुखेको छ भने सबैको घुँडा दुखाइ एकै खालको छ भन्ने हुन्छ। घुँडा दुखाइका चालिसभन्दा बढी कारणहरु हुनसक्छन्। ढाड दुखाइको पनि त्यस्तै छ। एकजनाले ढाड दुखाइको उपचार गर्यो ठिक भएन, अर्कोले के भन्छ। मेरो पनि ढाड दुखेको छ। उपचार गरेर पनि ठिक हुने रहेनछ। म त बरु दुखाइ खप्छु तर उपचार गर्दिनँ। वर्षौदेखि लागेको रोगलाई एउटै दबाइले वा एउटै इन्जेक्सनले च्वाट्टै पार्न पर्यो भनिन्छ। त्यस्तो सम्भव छैन। रोगको अवस्था, रोगको प्रकृति, रोगको चरण त्यो पनि हेर्नुपर्छ। रोगअनुसारको उपचार हुन्छ। त्यो अनुसारको खर्च पनि लाग्छ। दुखाइको उपचार गर्न सजिलौ हुँदैन। एउटै उमेरको दुईजना मान्छेको दुखाइ फरक हुनसक्छ। बच्चा र बुढोको दुखाइ फरक हुनसक्छ। यतिसम्म कि हिमालमा बस्नेको दुखाइ र पहाडमा बस्नेको दुखाइ फरक हुनक्छ। दुखाइ भनेको एकदमै व्यक्तिगत कुरा हो। दुखाइको आधारमा कसैलाई जज गर्न हुँदैन। दुखाइ सहने मान्छे चाँही बलियो मनोबलको सहन नसक्ने कमजोर मनोबलको त्यस्तो होइन। यस्तो कारणले हामीकहाँ बिरामीहरु ढिलो आइपुग्नुहुन्छ। त्यतिबेलासम्म हामीले उहाँलाई उपचार गर्ने धेरै बाटाहरु बन्द भइसकेको हुन्छ।
पहिलो उदाहरणः हालसालैको कुरा, एक जना बिरामी मसँग आउनुभएको छ। उहाँ कुमको दुखाइले पीडित हुनुहुन्छ। यो तीन वर्षमा उहाँ दशवटा भन्दा बढी अस्पताल र दशजना भन्दा बढी डाक्टरलाई देखाइसक्नुभयो तर उहाँको दुखाइ घटेन झन् झन् बढ्यो। उहाँको सबै टेष्टहरु पहिल्यै भइसकेको थियो। एमआरआईदेखि लिएर ब्लड टेष्टसम्म। समस्या उहाँको प्रष्ट छैन। गर्दनले गर्दा दुखेको हो कि हातले गर्दा दुखेको हो कि कुमको कारणले दुखेको हो। कुन नसाले गर्दा उहाँलाई दुखाइ भइरहेको थाहा छैन। त्यस्तैमा उहाँ मेरोमा आइपुग्नुभयो।
मैले हेर्दाखेरी पहिला कुमको मासु च्यातिएको रैछ। मासु च्यातिएको निको नभएर अहिले आएर जोर्नीमा पनि असर गरेको रैछ। जोर्र्नी जाम भइरहेको। सुरुमा जोर्नी जाम भएकोलाई खुलाएर बल्ल कुम च्यातिएको उपचार गर्नुपर्ने हुन्छ। उहाँलाई पहिला इन्जेक्सन नै लगाउनपर्ने हुन्छ। इन्जेक्सन भनेको आँखा चिम्लेर घोच्ने होइन। अल्ट्रा साउण्डबाट आँखाले हेरेर ठ्याक्क जोर्नीमा दबाई हाल्छौ। अनि जाम खुल्यो कि खुलेन पनि हेर्छौ। सबै आँखाले हेरेर गर्नपर्छ। यसमा फरक के छ भने रिजल्ट तत्काल मिल्छ। त्यत्ति गरेर उहाँको रोग निको हुँदैन। जोर्नी खुलेपछि उहाँलाई अलिकति हात चलाउन सजिलो हुन्छ। त्यसपछि हामी उहाँलाई एक्सरसाइज गराउँछौ। औषधि पनि खुवाउँछौ। त्यसको केही चरणमा अलिकति सुधार आएपछि मासु च्यातिएको उपचार गराउँछौ। घाउ पुरियोस् भनेर प्लाज्मा इन्जेक्सन गर्छौ। त्यो पनि सायद एकैचोटीमा निको नहोला, दुईतीन चोटी गर्नपर्छ होला। तर कुरा के हो भने उहाँलाई ठिक हुन्छ। सधैँ दुखाइ लिएर बाँच्नपर्ने हुँदैन। उहाँ त अहिले मलाई हाम्फालम् हाम्फालम् लाग्छ भन्नुहुन्छ। उपचार सम्भव छ। अलिकति खर्चिलो छ। समय पनि लाग्छ तर उपचार सम्भव छ।
दोस्रो उदाहरणः एकजना बुढी आमा हुनुहुन्छ। क्यान्सरको अन्तिम चरण। उहाँ धेरै बाँच्नु पनि हुन्न होला। प्यान्क्रियाजको क्यान्सर छ। मुटु पनि एकदमै कमजोर छ। सामान्यतया उहाँको मुटुले रगत २० प्रतिशत मात्रै पम्प गर्न सक्छ। यो मुटु कमजोर चाँही वर्षौदेखिको अवस्था हो। अहिले क्यान्सर भएपछि यति नराम्रोसँग दुखेको छ कि उहाँ रातदिन ऐय्या ऐय्या गरेर धेरै पीडादायी अवस्था बाँचिराख्नुभएको छ। अब के गर्ने? खाएर दुखाइ निको हुनसक्ने सबै दबाई चलिसक्यो। तर त्यसले छोएको छैन। उहाँलाई मकहाँ लिएर आउनुभयो।
मैले बेसिक जाँच गरेँ। औषधिहरु मिलाए। हाम्रो आन्द्रामा दुखाइ बोक्ने एउटा नसा हुन्छ। त्यो नसालाई चाँही मैले रेडियो फ्रिक्वेन्सी ओवुलेसन भन्ने टेक्नोलोजीले इन्जेक्सन मार्फत सुताइदिए। त्योचाँही पेटको भित्रपट्टि हुने नसा हो। त्यसलाई चाँही मैले एक्सरे मेसिनको माध्यमबाट हेर्दैहेर्दैचाँही ठाउँमा राखेर गर्छु। त्यो गरेपछि उहाँलाई एकदमै राम्रोसँग दुखाइ कम भएर जान्छ। अलिकति औषधि त खानपर्छ तर अहिलेको जस्तो हाइ डोजको औषधि पनि खान परेन। दुखाइ पनि कम भयो। उहाँ जत्ति बाँच्नुहुन्छ, आरामले बाँच्नुहुन्छ। यो चाँही सबैभन्दा जरुरी कुरा हो। आखिर एकदिन हामीहरु सबै मर्ने नै हो। रोग लागेर त्यसमाथि पनि दुखाइका साथ त्यो पीडा चाँही सहेर बाँच्न सजिलो छैन। यो उपचार अप्रेसन होइन। यसैले जति कमजोर मुटु भएको बिरामीले पनि यसलाई धान्न सक्छ। यो चाँही एक हिसाबले रिस्क फ्रि ट्रिटमेन्ट हो।
यहाँ काम गर्दै गर्दा कस्ता खालका बिरामीहरु भेट्नुभएको छ? केके भ्रमहरु छन् बिरामीमा?
१.कति बिरामीहरु इन्जेक्सन लाउँदै लाउँदिन। बरु म दुखाइ सहेर बस्छु भन्ने खालका बिरामीहरु पनि हुनुहुन्छ। इन्जेक्सन भन्नेबित्तिकै त्यसले राम्रो गर्दैन भन्ने भ्रम हामीहरुमा छ।
२.कोही औषधि खादैँ खान्न भन्ने खालको। दुखाइ छ तर इन्जेक्सन पनि नलगाउने, औषधि पनि नखाने तर धामीझाँझी, भूतप्रेतमा विश्वास गर्ने खालको।
हामीहरुकोमा त दुखाइ सहनुपर्छ भन्ने छ नि?
अलिअलि दुखाइमा कोही पनि अस्पताल आउँदैन। मान्छेलाई गाह्रै भएपछि अस्पताल आउने हो। प्राथमिक उपचार त घरमै गर्ने हो। दुखाइ सहन सक्नुहुन्छ र त्यसले तपाईंलाई असर गरेको छैन भने अस्पताल आउनपर्छ भन्ने छैन।
खासमा बिरामीलाई समस्या छ। त्यसको उपचार सम्भव छ तर उसले उपचार गर्दैन भने उसले पुरुषर्थ गरेको होइन। ठूलो काम गरेको होइन। दुखाइले कति समस्या ल्याउन सक्छ भनेर खासमा बिरामीले सोचेको पनि हुँदैन।
दुखाइ भइराख्यो भने त्यसले निद्रामा गडबड हुने, एन्जाइटी बढ्ने, तनावग्रस्त बनाउँछ। खाना पच्दैन। आफूले पहिले गरिराखेको काम गर्न सक्दैन। मोटोपनको समस्या निम्तन्छ। यसले गर्दा मुटुमा समस्या आउँछ। जोर्नीहरुमा समस्या आउँछ। दुखाइले एकपछि अर्को समस्या ल्याइराख्छ। दुखाइ पालेर बस्दैमा आफैँ हराएर कहिल्यै पनि जाँदैन। हामीले दुखाइलाई हेलचक्राइँ गर्न मिल्दैन।
दुखाइको उपचार छैन तर दुखाइको व्यवस्थापन कसरी गर्न सकिन्छ?
सुरुमा त दुखाइको डाइग्नोसिस नै गर्नपर्यो। के कारणले दुखिराछ त? शरीरको कुन अंगको कुन भागले पेइन जेनेरेट गरिराछ? त्यो चाँही पत्ता लगाउनपर्ने हुन्छ। त्यसका लागि एमआरआई, ब्लड टेष्ट, इन्भेष्टिगेसन एक्स रे, डाइग्नोस्टिक इन्जेक्सन आदिको मद्धतले हामी रोग पत्ता लगाउँछौ। त्यसपछि त्योसँग हामी कसरी लड्न सक्छौँ? हामीसँग विभिन्न हतियारहरु हुन्छन्। दुखाइको सबै औषधि पेनकिलर हुँदैन। दुखाइमा खाने सबै औषधिले किड्नी बिगार्ने, साइड इफेक्ट ल्याउने भन्ने हुँदैन। कतिपय औषधिहरु लामोसमयसम्म प्रयोग गर्दा पनि त्यसले केही असर नगर्ने हुन्छ। औषधि भन्ने बित्तिकै डराउनपर्दैन। औषधिले भएन भने हामीले एक्सरसाइज, इन्जेक्सन, फिजियोथेरापी सबै हामीले गर्छौ। त्योबाहेक पनि टार्गेटेड ठाउँमा औषधिहरु दिएर त्यसलाई ठिक गर्छौ। टार्गेटेड ठाउँमा पुर्याउने भएसी धेरै औषधि खान परेन। र बिरामीलाई छिटो सन्चो पनि हुने भयो। त्यस्तो टेक्नोलोजी पनि छ। रेडियो फ्रिक्वेन्सी ओभिलेसन भन्ने छ। ओजोन थेरापी भन्ने छ। यी सबै टेक्नोलोजीबाट हामीले दुखाइसँग लड्छौँ। सबै दुखाइ निदान हुन्छ भन्ने छैन तर पहिलाको भन्दा आधाभन्दा ज्यादा कम पार्न सक्यो भने...... जागिर खानसक्छ। घरमा काम गर्नसक्छ। उसको मनोबल उच्च हुन्छ। उसको आफ्नो शरीरले नै फाइट गर्न सक्षम हुन्छ। यसैले पनि सबै रोगका लागि पेइन म्यानेजमेन्ट आवश्यक छ।
(डा निनादिनी श्रेष्ठ निदान अस्पतालकी इन्भेन्सनल पेन म्यानेजमेन्ट कन्सल्ट्यान्ट हुन्।)