मांसपेशीको दुखाइ, जोर्नी दुखाइ र खेलका क्रममा हुने चोटको उपचारका लागि प्रयोग गरिने उपचार पद्धति काइरोप्राक्टिक विधि नेपालमा सुरु भएको धेरै भएको छैन। प्रायजसो बिरामीहरु एलोपेथीबाट आफ्नो समस्या निको नभएपछि थाकेर वैकल्पिक उपचार पद्धतितिर लाग्ने गर्छन्। कतिपय बिरामीको लागि यो उपचार विधि नयाँ हुनसक्छ। नेपालमा काइरोप्राक्टिक पद्धतिबाट उपचार गर्ने स्वास्थ्यकर्मी औंलामा गनिने मात्र छन्। तीमध्ये एक हुन् न्युरो फिजियोथेरापिस्ट डा जय प्रकाश काप्री। बिगत आठ वर्षदेखि उनले हाडजोर्नी तथा कम्मर लगायतका दुखाइ भएका बिरामीलाई उपचार गर्न यो उपचार पद्धति अपनाइरहेका छन्। यो उपचार विधिबाट क-कस्ले लाभ लिन सक्छन त? प्रस्तुत छ उनीसँग गरिएको कुराकानीः
काइरोप्राक्टिक उपचार विधि भनेको के हो?
मानीसको शरीरमा हुने मेरुदण्डमा ३३ वटा भटिब्रा हुनेगर्छ। यी मेरुदण्डहरु एक प्रकारको लेदो पदार्थको सहायतामा चल्ने गर्दछ। कारणवश यी मेरुदण्डका भागहरुमा समस्या उत्पन्न हुनसक्छ र मानिसलाई आफ्नो दैनिक क्रियाकलाप गर्न समस्या हुनसक्छ वा शरीरको हड्डी तथा मांशपेशीहरुमा दुखाइ बढ्न जान्छ। कहिलेकाँही जन्मजात हड्डी बाङ्गिने समस्या भएका बिरामीलाई निको बनाउनका लागि गरिने उपचार पद्धति नै काइरोप्राक्टिक हो।
तपाईंको अनुभवमा नेपालमा मेरुदण्डसम्बन्धी कुन समस्या लिएर बिरामीहरु आउने गरेका छन्?
नेपालमा सबैभन्दा बढी कम्मरको तल्लो भाग जसलाई लम्बर स्पाइन भनिन्छ। त्यस क्षेत्रमा समस्या भएका बिरामी धेरै आउने गरेका छन्।
मेरुदण्डको समस्याको जोखिम कसलाई बढी हुन्छ?
मेरुदण्डको समस्याको जोखिम जसलाई पनि हुनसक्छ। तर प्रायजसो अफिसमा लामो समय कुर्सीमा बसेर काम गर्ने,पानी कम खाने, गह्रौ सामान उचाल्ने, मेरुदण्डलाई सिधा नबनाई बस्ने व्यक्तिहरुमा यो समस्या हुनेगर्छ। कहिलेकाहीँ यस्तो समस्या वंशाणुगत रुपमा पनि देखिने गरेको छ। अझ नेपालको कुरा गर्नुपर्दा मानिसहरुमा दैनिक शारीरिक व्यायाम र मेरुदण्डलाई कसरी सन्तुलित गरेर बस्ने भन्ने बारे चेतना नभएको कारण पनि यस्तो समस्या बढ्दै गएको छ।
काइरोप्राक्टिक उपचार विधि कुन-कुन समस्यामा बढी प्रभावकारी छ?
मेरुदण्ड बांगिएको, डिस्क प्रोल्यापस भएको, जन्मजात हड्डी बाँङ्गो भएको, नशा च्यापिएको, कुम कुप्रो परेको आदिमा अत्यन्त प्रभावकारी छ। र एकपटक मेरुदण्डलाई आफ्नो ठाउँमा सेट गरेपछि फेरि समस्या हुँदैन।
काइरोप्राक्टिक उपचार पद्धति कत्तिको खर्चिलो छ?
वैकल्पिक उपचार पद्धतिमा यो उपचार केही महँगो भएता पनि अन्य विधिभन्दा यो बढी प्रभावकारी छ। यस विधिबाट उपचार गर्दा केही लामो समय लाग्न सक्छ। कम्तिमा पनि ३ देखि १२ पटकसम्म यो थेरापी गर्नुपर्छ। यसरी उपचार गर्दा बिरामीलाई कतिपय अवस्थामा पूर्णलाभ पनि हुन्छ। हामीले कतिपय बिरामीहरुलाई शतप्रतिशत निको बनाएर पठाएका पनि छौं।
काइरोप्राक्टिक उपचार सबै बिरामीले गराउन मिल्छ कि मिल्दैन?
मेरुदण्डमा ट्युमर भएका, मेरुदण्डमा इन्फेक्सन भएका, ओस्टोपोरोसिस भएका, गर्भवती महिला, हड्डी भाँच्चिएकाहरुले काइरोप्राक्टिक पद्धतिबाट उपचार गराउन मिल्दैन।
नेपालका अधिकांश शैलुनहरुमा मालिसको नाममा घाँटी, ढाड पड्काउने चलन छ, के यो चलन सही हो?
मेरुदण्ड शरीरको अत्यन्त महत्वपुर्ण भाग हो। शरीरको हड्डीहरुलाई अध्ययन नगरी क्षणिक रुपमा आराम दिने उद्धेश्यले शैलुनमा हड्डी पड्काउने चलन एकदमै गलत हो। कतिपय स्थानमा यस्तो गर्नाले दुर्घटना पनि भएकोछ। अझ आजकाल सामाजिक सञ्जाल र युट्युब हेरेर आफैंले प्रयास गर्दा अवस्था झनै गम्भीर बन्न सक्छ। तसर्थ काइरोप्राक्टिक राम्ररी जानेको काइरोप्राक्टरसँग मात्र यो उपचार गर्नुपर्छ ।