महिनावारी भएको दिनबाट गन्दा २८ साताभन्दा पहिले नै गर्भमा रहेको बच्चा विभिन्न कारणले बाहिर निस्कने प्रक्रियालाई गर्भपत्तन भन्ने गरिन्छ। गर्भ पुरा हुनका लागि २८० दिन वा ४० हप्ता पुरा हुनपर्छ। कुनै पनि महिलाले सुरक्षित तवरले गर्भ खेर फाल्नका लागि गर्ने प्रक्रियालाई सुरक्षित गर्भपतन भनिन्छ।
सुरक्षित गर्भपतन मुख्यतया दुई विधिबाट गर्न सकिन्छ जसलाई औषधिको सेवनबाट गरिने गर्भपतन र औजारको प्रयोगबाट गरिने गर्भपतन गरी दुई भागमा विभाजन गर्न सकिन्छ। सुरक्षित तवरले गरिने भएकोले यसलाई सुरक्षित गर्भपतन भनिएको हो। औषधिको सेवनबाट गर्भपतन गराउन नमिल्ने महिलाहरुलाई औजारको प्रयोग गरेर गर्भपतन गराउने गरिन्छ।
हाल नेपाल सरकारको नियमअनुसार १२ सातासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ। १३ साताभन्दा माथिको गर्भपतन विशेष अवस्थामा मात्रै गर्न मिल्छ। सुरक्षित गर्भपतन तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा मात्रै गर्ने गरिन्छ। यसअन्तर्गत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी दुवै मान्यता हुनु आवश्यक छ।
स्वास्थ्य संस्था पिच्छे यसमा लाग्ने खर्च फरक फरक हुन्छ। प्राय सबैजसो सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ।असुरक्षित रुपमा गर्भपतन हुँदाका खतराहरुलाई कम गर्नका लागि सुरक्षित गर्भपतन सेवालाई सरकारले निःशुल्क बनाएको हो। असुरक्षित रुपमा गरिएको गर्भपतनका लागि धेरै महिलाहरुको अकालमा मृत्यु भइसकेको छ। १३ साता भन्दा माथिको असुरक्षित रुपमा गर्भपतन गराउँदा धेरै महिलाहरुको ज्यान गएको सुन्नमा आएको छ।
गर्भपतनको क्रममा या गर्भपतन पछाडि महिलामा कुनै पनि जटिलता नआउनका लागि सुरक्षित गर्भपतन गर्ने गरिन्छ। सुरक्षित गर्भपतन भन्दैमा कुनै पनि जटिलता आउँदै आउँदैंन भने भन्न सकिन्न। सुरक्षित गर्भपतनसँगै पारिवारिक योजनाबारेका अन्य शिक्षा पनि महिलालाई दिनु अत्यावश्यक छ।
गर्भपतनका कारण
सन्तानको रहन पुग्नु।
बच्चा जन्माउँदा महिलाको स्वास्थ्यमा खतरा हुने भएमा।
बलात्कार तथा हाड नाताबीच सम्बन्ध भई गर्भ बसेमा।
बच्चाको लालनपालनका लागि जिम्मेवारी लिने व्यक्ति नभएमा।
गर्भपतनसम्बन्धी कानुनी अधिकार
सुरक्षित गर्भपतन महिलाहरुको प्रजनन् अधिकार हो। नेपालमा सुरक्षित गर्भपतन सेवा प्रकृया २०६० ले १२ सातासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न पाउने कानुनी मान्यता प्रदान गरिएको छ।
जबरजस्ती करणी र हाडनाता बीचको शारीरिक सम्पर्कबाट गर्भ रहेको अवस्थामा १८ हप्तासम्मको गर्भ पतन गर्न पाइने अधिकार महिलामा निहित छ। लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमति बिना तथा १२ साताभन्दा बढीको गर्भ पतन गराउन नेपालको कानुनले बन्देज लगाएको छ। विशेष अवस्थामा विशेषज्ञ चिकित्सकको अनुमतीमा १८ सातासम्मको गर्भलाई समेत पतन गर्न पाउने अधिकार नेपालको कानुनले प्रदान गरेको छ।
गर्भपतनपछि महिलाको स्याहार
–रक्तस्राव बन्द भएको दुई दिनसम्म शारीरिक सम्पर्क गर्नु हुँदैंन।
–गर्भपतनपश्चात् पेट दुख्ने भइरहेमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ। दुखाई कम गर्ने औषधिको समेत सेवन गर्न सकिन्छ।
–दुखाई कम गर्नका लागि पेटको तल्लो भागलाई हल्कासँग मालिस गर्न सकिन्छ।
–झोलयुक्त खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ।
–अवस्था सामान्य भएपछि मात्रै दैनिक कामकाज गर्न सकिन्छ।
असुरक्षित गर्भपतन भनेको के हो?
असुरक्षित तवरले गरिने जुनसुकै गर्भपतनलाई असुरक्षित गर्भपतन भनिन्छ। असुरक्षित गर्भपतनमा औषधि दिने गर्भपतन पनि पर्न सक्छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार औषधिको सेवनले गरिने गर्भपतन मात्रै सुरक्षित गर्भपतन हो।
यदि विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत औषधिको सेवन गरेर गर्भपतन गरिन्छ, भने त्यसलाई असुरक्षित गर्भपतन भनिन्छ। नेपाल सरकारले १० सातासम्मको गर्भलाई औषधिको सहायताले खेर फाल्न सक्ने नियम बनाएको छ। कतिपयले २० साताको गर्भपतनका लागि समेत औषधि खाइरहेको हामी पाउन सक्छौ, औषधिको डोज फरक परेको अवस्थामा यसरी गरिने गर्भपतनले विभिन्न प्रकारका खतराहरु ल्याउन सक्छन्।
मान्यता प्राप्त स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सहयोगमा औजारको प्रयोग गरेर गरिने गर्भपत्तनका क्रममा निर्मलीकरण गरिएको औजारहरुको प्रयोग गरिन्छ। अवैधानिक रुपमा सञ्चालित स्वास्थ्य संस्थामा निर्मलीकरण बिना नै गर्भपतनका औजारको प्रयोग हुने गर्छ। यसरी गरिने गर्भपतनमा विभिन्न प्रकारका इन्फेक्सनको जोखिम पनि बढी हुन्छ।
असुरक्षित गर्भपतनका जटिलताहरु
रक्तस्राव धेरै हुनसक्ने।
पाठेघर फुट्न सक्ने।
अर्काे बच्चा नबस्न सक्ने।
ज्यानै जान सक्ने।
(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा खड्कासँग स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)