काठमाडौं- पाटन अस्पतालमा उपचाररत दुई जना बिरामीको शनिबार उपचारका क्रममा मृत्यु भयो। मृत्यु हुनुभन्दा केही समयअगाडि दुबै बिरामीलाई रोगको उपचारका लागि सुईबाट दिइने औषधि दिइएको थियो।
दुबै जना बिरामीलाई निमोनिया भएका कारण स्वास्थ्यकर्मीले आवश्यक परीक्षण अनुसार लेखिएकै औषधि दिएका थिए। तर औषधि दिएको केही समयपछि दुई जना बिरामीको मृत्यु भयो। ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएपछि आफन्तले औषधिमाथि शंका गरे।
उनीहरुले स्वास्थ्यकर्मीको लापरबाहीको आरोप समेत लगाए। सो क्रममा आफन्तले ड्यूटीमा रहेका चिकित्सक तथा नर्सहरुमाथि दुर्व्यवहार गरेको चिकित्सकहरुको भनाई छ। चिकित्सक र स्वास्थ्यकर्मीले हातपात र दुर्व्यवहारको विरोधमा आन्दोलनमा उत्रेका छन्। नेपाल चिकित्सक संघले पनि उक्त विषयमा ध्यानाकर्षण गर्दै हातपात र दुर्व्यवहारको विरोध गर्दै स्वास्थ्यकर्मीको सुरक्षाका विषय उठाएको छ।
पाटन अस्पतालमा भएको उक्त घटनाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत विवरण माग गरेको छ। मन्त्रालयले उपचारका क्रममा के के भएको हो? सो विषयमा जानकारी लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
उनले घटनाका विषयमा आफन्तले प्रहरीमा जाहेरी दिएका कारण सोही अनुसार आवश्यक प्रक्रिया अगाडि बढ्ने र मन्त्रालयले पनि उक्त विषयलाई चासो दिएर हर्ने जानकारी दिए।
के भएको थियो?
निमोनियाको उपचारका लागि भर्ना भएका दुबै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए। नगरकोटी कात्तिक १० गते र राई कात्तिक १६ गते उपचारका लागि भर्ना भएका थिए। निमोनियाको संक्रमको उपचारका लागि उनीहरु दुबै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको थियो।
अस्पताल निर्देशक डा रवि शाक्यका अनुसार उनीहरुलाई ‘सेफ्ट्रियाक्सोन’ नामक एन्टीबायोटिक्स र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो। 'उक्त औषधि अस्पतालमा अन्य बिरामीहरुलाई पनि चलाउँदै आइरहेको औषधि नै हो,' उनले भने, 'मृत्यु भएका बिरामीमा पनि त्यही औषधि अन्य बिरामीलाई दिएजस्तै दिइएको हो। तर त्यो औषधि दिएको केही बेरमा नै मृत्यु भएपछि आफन्तहरुले औषधिलाई दोष दिनुभएको हो।'
उनले मृत्यु भएका दुबै जनामा निमोनियाको गम्भीर शंक्रमण देखिएको र अन्य स्वास्थ्य समस्या पनि भएका कारण औषधिकै कारण बिरामीको मृत्यु भन्ने आफूहरुलाई नलागेको जानकारी दिए। 'औषधि चलाएको केही समयपछि मृत्यु भएका कारण आफन्तले औषधिमाथि शंका गर्नु भएको हो। तर हामीलाई मृत्युको कारण त्यही औषधि हो भन्ने लाग्दैन,' उनले भने, 'यद्यपि औषधिका विषयमा प्रश्न उठेपछि हामीले उक्त ब्याचका औषधि प्रयोग नगर्न भनेका छौं। र परीक्षण गर्न पनि भनेका छौं।'
उनले मृतक परिवारमध्ये ओखलढुंगाकी राईको परिवार भने चिकित्सकसँगको छलफलका क्रममा सहमत भएर शव लिइसकेको र ललितपुरको नगरकोटीको परिवार भने कानुनी प्रक्रियामा अगाडि बढेको जानकारी दिए।
'उपचार प्रक्रियामा चित्त नबुझेमा वा शंका लागेमा कानुनी प्रक्रियामा नै जानुपर्छ भन्ने हाम्रो पनि मान्यता हो। उहाँहरुले प्रहरीकोमा उजुरी दिनुभएको छ। अब सोही अनुसार प्रक्रिया अगाडि बढ्दै विज्ञहरुले छानबिन गरेर यथार्थ बाहिर ल्याउनु होला,' उनले भने, 'सो क्रममा अस्पतालका तर्फबाट कमजोरी देखिएमा वा त्रुटि देखिएमा कानुन अनुसार कारबाही भोग्न हामी तयार नै छौं।'
उनले अस्पतालले विज्ञहरुसँग छलफल गर्दा भने मृत्युको कारणमा उक्त सुईजन्य औषधि सम्बन्धित नरहेको जानकारी आएको पनि बताए।
मृतकका आफन्तले ललितपुर प्रहरीमा उजुरी दिएका छन्। आफन्तले भने सुई लगाएपछि मृत्यु भएको भन्दै उक्त विषयमा छानबिन गर्दै दोषिलाई कारबाहीको माग गरेका छन्।
शनिबार बिरामीको मृत्यु भएपछि आइतबार प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल पनि भएको थियो। छलफलमा मृत्युको कारण पत्ता लगाउन औषधि परीक्षण गर्नुपर्ने र पोष्टमार्टम पनि गर्ने विषय उठेको थियो। सोही अनुसार अस्पतालले औषधि परीक्षण गर्न पठाएको हो।