काठमाडौं- विश्वमा कूल अन्धोपनमध्ये ४.८ प्रतिशत मधुमेहकै कारणले हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ। समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन्। डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो।
मधुमेहले गर्दा आँखाको पर्दामा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ। मधुमेहको असरले गर्दा सुरुमा आँखाको पर्दामा रक्तश्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुन्निने हुनसक्छ।
विश्वका कुल मधुमेहका रोगीमध्ये ८० प्रतिशत नेपालजस्तै अल्पविकसित राष्ट्रका मात्र हुने गरेका छन्। अन्तर्राष्ट्रिय मधुमेह संघकाअनुसार विश्वमा ४६ करोड ३० लाख मानिस धुमेहबाट ग्रसित छन्।
मधुमेहका तीन रोगीमध्ये एकजनाले कुनै न कुनै तहको आँखाको दृष्टिमा क्षति बेहोर्नुपर्छ। यो संख्या २५ वर्षमा तीन गुणाले बढेको हो। तथ्यांकअनुसार सन् २००० मा डाइबेटिक रेटिनोप्याथीको समस्या ४.२ प्रतिशतमा थियो भने हाल बढेर ९.२ प्रतिशत पुगेको छ।
चिकित्सकका अनुसार डाइबेटिक रेटिनोप्याथी मधुमेहले आँखामा पुर्याउने प्रमुख जटिल समस्या मध्येमा पर्छ। सबै प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखामा असर परिसकेको हुन्छ।
नेपालमा डाइबेटिक रेटिनोप्याथिक उपचार सेवाको पहुँच कम भएकाले समयमै उपचार अभावमा मधुमेहका बिरामीले आँखाको ज्योति गुमाउनुपरेको अवस्था छ।
मधुमेहले कतिपयमा कुनै लक्षण नदेखिने हुनाले प्रभावित उपचारमा ढिला पुग्ने क्रममा पनि आँखाको दृष्टिमा क्षति पुग्ने गरेको चिकित्सक बताउँछन्। २० वर्षभित्र हुने टाइप वान मधुमेह र ३० वर्षमाथि हुने टाइप टु ले आँखामा असर गर्छ।
मधुमहेले आँखामा हुने हानिबाट बच्न हरेकले समयमै मधुमेहको पहिचान गरी आँखा परीक्षण गराइहाल्नुपर्छ। आँखामा अन्य कारणले हुने दृष्टि समस्या भए उपचार गरिसकेपछि निको हुन सक्छ। तर, मधुमेह नियन्त्रण नभए पुनः आँखामा कुनै पनि समय असर पर्न सक्ने भएकाले मधुमेहलाई नियन्त्रमा राख्ने र समयसमयमा आँखाको परीक्षण गर्नु मुख्य उपाय रहेको डा रबा थापाले बताइन्।