विरगञ्ज- नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ। महिनावारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रीओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो।
गत बिहीबार कलेजका चिकित्सक डा प्रविण शाह, डा रुवी श्रेष्ठ, रेजिडेन्ट डा सरोज यादव, डा स्नेहा शाक्यको टीमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पिडित युवतीको उपचार गरेको हो। कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनावारी हुने तथा महिनावारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पिडित थिइन्। उनी ५ महिना अगाडी नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएपनि काठमाडौंमा समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो। त्यसपछि उनी नेशनल मेडिकल कलेजमै गएर सोको उपचार गरेकी हुन्।
‘उहाँ ५ महिना अगाडि नै आउनु भएको थियो। बीचमा काठमाडौं पनि जानुभयो। नेशनल मेडिकल कलेजमै ल्याप्रोस्कोपी विधिबाट अप्रेसन हुन्छ भनेपछि उहाँहरु यहीँ आउनु भयो, हामीले ३ वटा प्वाल पारेर ८.८ सेमीको सिस्ट निकाल्यौं।’ शल्यक्रियामा संलग्न डा प्रविण साहले बताए। अप्रेसनमा कलेजका एनेस्थेसियाका डा असिम गौडेल, रेजिडेन्ट डा मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए।
कुनैपनि महिलाहरुमा अनियमित महिनावारी वा महिनावारी हुँदा अत्याधिक पेट दुख्यो भने डिम्वासयमा इण्डोमेट्रिओमाको जोखिम हुन्छ।
‘महिनावारी हुँदा अत्याधिक पेट दुखिरहन्छ, महिनावारी गडबड छ भने दुखाई कम गर्ने औषधिमात्र खाएर बस्नु हुँदैन। विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ, अनियमित महिवानारी हुने सय जना महिनाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुन्छ' डा साहले बताए।
स्त्री तथा प्रसूति सेवाका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकहरु रहेको नेशनल मेडिकल कलेजकी डाइरेक्टर नुसरत जहाँ अन्सारीले बताइन्।