काठमाडौं- नेपाल फिजियोथेरापी संघ (नेप्टा) र आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एसोन) बीच आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना सम्बन्धित प्रोटोकल र निर्देशिका बनाउन सम्झौता भएको छ।
काठमाडौंको बिएण्डबी अस्पतालमा भएको सम्झौतामा नेपाल फिजियोथेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारी र महासचिव विनय कंडेल तथा आर्थोस्कोपी सोसाइटीका अध्यक्ष प्राडा अमित जोशी र महासचिव डा विवेक वासुकलाले हस्ताक्षर गरे।
नेपालमा अर्थोस्कोपी जस्तो विशेष किसिम र खर्चिलो सर्जरीपछि पनि फिजियोथेरापी र पुनर्स्थापना गर्नुपर्ने र गरिएकोमा पनि एकरूपता नहुने हुनाले यस्तो किसिमको निर्देशिका बन्नुपर्ने एसोनका अध्यक्ष प्राडा जोशीले बताए।
नेप्टाका महासचिव विनय कंडेलले आर्थोस्कोपी सर्जन र फिजियोथेरापीष्टबीच पर्याप्त संवाद नहुने, विदेशी निर्देशिका पालना गर्नुपर्ने जुन नेपाली सामाजिक परिवेशमा उपर्युक्त नहुने, आस्पताल वा सर्जन वा फिजियोथेरापिष्टको आफ्नै प्रोटोकल हुने हुनाले उपचारको पर्याप्त परिणाम नआउने जस्ता समस्या समाधानका लागि यस्तो निर्देशिका बनाउनुपर्ने बताए।
एसोनको तर्फबाट परियोजनाको समय तालिका प्रस्तुत गर्दै महासचिव डा विवेक वासुकलाले नोभेम्बर २०२४ सम्म परीक्षण गरि उपभोक्ताको हातमा पर्ने जानकारी दिए। आउँदा दिनहरूमा एसोन जस्तै अन्य संघ संस्थाहरुसँग सहकार्य गरेर विभिन्न निर्देशिका बनाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हस्तान्तरण गर्ने र राष्ट्रियकरण गर्ने नेप्टाको योजना रहेको नेप्टाका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।
यस निर्देशिकाले सर्जन, फिजियोथेरापिष्ट र उपभोक्ता तिनै पक्षलाई उल्लेखनिय फाइदा पुग्ने दुवै संस्थाको निचोड थियो। नियमित फिजियोथेरापीको लागि अस्पताल वा पुनर्स्थापना केन्द्र जान नसक्ने बिरामीले पनि उक्त निर्देशिकाको आधारमा घरैमा व्यायाम गर्न सक्ने र कस्तो अवस्थामा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने भनेर पनि उल्लेख हुनेछ। परियोजनाको मुख्य जिम्मेवारी अध्यक्षद्वय डा अमित जोशी र लक्ष्मण अधिकारीले लिएका छन् भने प्रशासनिक जिम्मेवारी महासचिवद्वय विनय कंडेल र डा विवेक वासुकलाई दिइएको छ। निर्देशिका ७ मुख्य विषयमा बन्नेछ जसमा ३ आर्थोस्कोपी सर्जन र ३ फिजियोथेरापीष्ट हरेक विषयमा केन्द्रित रहि काम गर्नेछन्।
कार्यक्रमको अध्यक्षता गरेका बिएण्डबी अस्पतालका मेडिकल डाइरेक्टर प्राडा अशोक कुमार बाँस्कोटाले नेपालमा फिजियोथेरापीको उल्लेखनीय विकाश भएको र आगामी दिनहरुमा पनि प्रमाणमा आधारित विशेषज्ञ फिजियोथेरापी सेवालाई देशव्यापी रूपमा स्थापीत गर्न नेपाल फिजियोथेरापी संघ जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण रहेकोले सबै सरोकारवालाहरुलाई यसप्रति ध्यानाकर्षण गराए।