काठमाडौं- ललिपुरस्थित आनन्दवन अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै आगामी दिनमा अत्याधुनिक ट्रमा उपचारको थालनी गर्ने भएको छ।
दि लेप्रोसी मिसनका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलका अनुसार अस्पतालले ४० बेडको ट्रमा उपचार सेवाको थालनी गर्न लागेको हो। उक्त ट्रमा सेवा विस्तारका लागि अस्पताललाई आवश्यक सामग्री अमेरिकी सरकारबाट प्राप्त भएको उनले बताए। हाल कूल ११० बेडमा अस्पताल सञ्चालन गरिएको छ।
दि लेप्रोसी मिसनले विगत ७ दशकदेखि नेपालमा विशेषत पिछडिएका वर्गहरुका निम्ति काम गरिरहेको कँडेल बताउँछन्। विगतमा यस संस्थाले कुष्ठरोगको व्यवस्थापनमा सीमित भएपनि संस्थाले दिने सेवा सुविधालाई बढाइएको छ। आनन्दवन अस्पतालले वर्षमा ५० हजार मानिसहरुलाई स्वास्थ्य सेवा दिदैं आइरहेको छ।
जसमा समान्यदेखि गम्भीर प्रकारका स्वास्थ्य सेवालाई पनि समेटिएको छ। त्यस्तै अस्पतालमा रहेको माइक्रोब्याक्टेरियम रिसर्च ल्याबब्रोटोरिज् कुष्ठरोगको अध्ययन र परीक्षणका निम्ति विश्वकै उत्कृष्ट ल्याब मध्येमा गनिएको छ। यहाँ गरिएको अध्ययनले संसारमा नै कुष्ठरोगको उपचारमा नयाँ आयामहरु थप्दै आएको दाबी अस्पतालको छ।
अस्पतालमा रहेको ट्रेनिङ सेन्टरले नेपाल सरकारद्वारा मान्यता प्राप्त कुष्ठरोग सम्बन्धी प्रशिक्षण दिने गरेको छ। यहाँ वार्षिक सयौं डाक्टर, चर्म रोग विशेषज्ञ तथा पारामेडिक्सहरुलाई तालिम दिँदै आइएको छ।
हालसम्म अस्पतालले १५ हजार भन्दा बढीलाई कुष्ठरोग सम्बन्धी तालिम दिइसकेको अवस्था छ। आजका दिनमा दि लेप्रोसी मिसन नेपाल अस्पतालमा मात्रै केन्द्रित नभई सामाजिक पुनर्स्थापनामा समेत केन्द्रित भएको छ।
हाल नेपालका १७ जिल्लामा यसका परियोजनाहरु सञ्चालनमा रहेका छन्। जहाँ कुष्ठरोगको व्यापकता बढी मात्रामा रहेको छ। त्यस्ता जिल्लाहरुमा कुष्ठरोग केन्द्रित कार्यक्रम सञ्चालनमा आएका छन् भने कुष्ठरोगको व्यापकता धेरै नभएको जिल्लामा सामाजिक पुनर्स्थापनाको क्षेत्रमा यस परियोजना कार्यरत छ।
परियोजनाको प्रकार भिन्नभिन्नै भएपनि यस संस्थाको लक्ष्य भनेकै जनमानसको पूर्ण रुपान्तरण हो। संस्थाले सन् २००६ देखि नै कुष्ठरोगको व्यवस्वथापनका साथसाथै अपांगता भएका व्यक्तिहरुको हक हितका लागि समेत कार्य गर्दै आइरहेको छ।
सन् २०१५ को भूकम्पपश्चात् कुष्ठरोग लागेका मानिसहरु तथा अपांगता भएका तथा पिछडिएका समुदाय केन्द्रित भएर काम गरिरहेको अवस्था छ। त्यसको केही वर्ष पछाडि मात्रै अपांगता भएका व्यक्तिहरु केन्द्रित भिन्नै प्रकारको परियोजना बनाएर काम गर्न थालनी गरिएको थियो।
जसको मुख्य लक्ष्य अपांगता समावेशी रोजगारीको सृजना नै हो। विगतका ४ वर्षमा फाउन परियोजनाले पछ्याएका लक्ष्यहरुले हाल कैयौं अपांगता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारी तथा स्वरोजगारीमा जोड्न सफल भएको छ।