काठमाडौं मेडिकल कलेजले बिहीबार एक सूचना जारी गर्दै डा विशद दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गर्यो। डा विशदसहितले पाठ्यक्रममा समावेश नभएका क्रियाकलापहरुमा पनि अस्पतालको अनुरोधमा पटक पटक क्याम्प र पोस्टिङमा खटाउँदा पठन पाठनमा समस्या भइरहेको साथै क्याम्पमा खटिँदा अमानवीय व्यवहार भएको भन्दै उक्त कार्य रोक्न माग गरेका थिए। डा दाहालसहितका आवासीय चिकित्सकहरुले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आइरहेका थिए। यसै सन्दर्भमा स्वास्थ्यखबरका डिबी खड्काले निलम्बनमा परेका डा दाहालसँग कुराकानी गरेका छन्:
निलम्बनमा पर्नुअघिको घटना के थियो?
आवासीय चिकित्सकहरुले धेरै प्रकारका समस्याहरु भोग्नु परिरहेको छ। उनीहरुमाथि तलब तथा काम गर्ने समयमा नै विभेद हुने गरेका कुराहरुमा धेरैलाई थाहा भएकै हुन्। विशेषगरी संस्था अनुसार उनीहरु माथि फरक फरक प्रकारको नियम लगाइएको हुन्छ। उनीहरु माथि सिकाईका नाममा धेरै नै अन्याय हुने गरेको हुन्छ। अझै निजी स्वास्थ्य संस्थामा यस प्रकारको बुझाई बढी मात्रामा रहेको छ। निजी संस्थाहरुमा नियम विपरीत तथा आवासीय चिकित्सकहरुको इच्छा तथा चाहना विपरीत विभिन्न काममा खटाउने गरिन्छ।
निजी स्तरबाट सञ्चालित काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजमा आवासीय चिकित्सकहरुलाई जर्बजस्ती रुपमा स्वास्थ्य शिविरका नाममा लिएर जाने प्रचलन रहि आएको छ। त्यस्ता शिविरहरुमा विशेषज्ञ चिकित्सकहरुले सेवा दिने भनिएपनि एमडी गरिरहेका विद्यार्थीहरु लैजाने प्रचलन छ।
आवासीय चिकित्सकका रुपमा कार्यरत तपाईंका साथी गम्भीर बिरामी परेको, प्रशासनले उद्धार गर्न नमानेको र उद्धारका लागि कुरा उठाउँदा निलम्बनमा पर्नुभयो भन्ने कुरा बाहिर आएको छ, नि?
हामीले सुरुवातदेखि नै स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकलाई प्रयोग गर्नु चिकित्सा शिक्षा आयोगको नियम विपरीत हो भन्दै आवाज उठाइरहेकै थियौं। यद्यपि पछिल्लो स्वास्थ्य शिविरमा आवासीय चिकित्सकहरुलाई धान्न नसक्ने गरी काममा लगाइयो। लगातार शरीरले धान्न नसक्ने गरी कामको बोझ हुँदा एक जना साथी बिरामी नै हुनुभयो। करिब १७, १८ जना चिकित्सकको टोलीले समेत केही गर्न नसक्ने निरीह अवस्थामा पुग्नुभयो। स्वास्थ्य शिविरमा रहेका हाम्रो टोलीले उहाँलाई काठमाडौंसम्म ल्यायौं। त्यसपश्चात् कलेज प्रशासनको विरुद्वमा हामीले बोल्ने साथीहरु बीच सल्लाह भयो। यो अस्पतालभित्रको आन्तरिक विषय भएकोले आन्तरिक रुपमा नै समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो। यसका लागि हामी करिब ७०–८० जना साथीहरुले कलेज प्रशासनलाई माग बुझायौं। यद्यपि अस्पतालले आयोजना गरेको शिविरमा नजाने कुरामा अडिग रहेको भन्दै मलाई एक विज्ञप्ती जारी गरी निलम्बन गरिएको छ। आजसम्मको त्यसबारेको कारण माग गरेर मलाई पत्र प्राप्त भइसकेको छैन। मलाई स्पष्टीकरणको अवसर समेत नदिई निलम्बनमा परेको विज्ञप्ती जारी गरिएको छ।
यो अनुशासनहीन तथा चरित्रहीन विद्यार्थी हो भन्ने हिसाबले लिखितरुपमा विज्ञप्ति आएपछि मैले लामो समय लगाएर प्राप्त गरेको सिकाईमा नै धक्का तथा चरित्रमा नै प्रश्न खडा भएको छ। कुनै पनि मेडिकल कलेजमा आउने विद्यार्थीको मुख्य लक्ष्य नै राम्रो चिकित्सक बन्नु हो। यस्तो अवस्थामा ममाथि काठमाडौं मेडिकल कलेजले गरेको निलम्बन मेरो करिअरमा नै कालो धब्बा हो। काठमाडौ मेडिकल कलेजमा अध्ययनरत्त विद्यार्थीले सामान्य विषयमा आवाज उठाउँदा समेत ठूलै मूल्य चुकाउनु पर्ने भो। जे भएपनि मलाई सिध्याउने खेलमा कलेज प्रशासन लागिरहेकोले त्यसकाविरुद्व यो मेरो अन्तिम लडाईं हो। जसमा मलाई कुनै प्रकारको ग्लानी छैन।
कलेज प्रशासनले तपाईंलाई नै लक्षित गर्नुको केही कारण छ कि?
काठमाडौं मेडिकल कलेजमा कुनै पनि कुराको आवाज उठाउनु अपराध नै मानिन्छ। त्यहाँको नियम, कानुन, पद्धति नै भिन्नै प्रकारको छ। त्यसकारण पनि जसले गलत प्रवृतिको विरोध गर्छ उसलाई नै लक्षित गर्नु स्वभाविक नै हो।
म पहिलादेखि नै डा गोविन्द्र केसीको आन्दोलनमा रहेकाले पनि कलेज प्रशासनको लक्षित विद्यार्थीमा परेको हुँ भन्ने मलाई लाग्छ। यद्यपि पछिल्लो घटनाक्रमसँग त्यसको कुनै सम्बन्ध छ जस्तो त मलाई लाग्दैन, तर पनि म विगतदेखि नै कलेज प्रशासनको तारो बनेको थिएँ।
डा गोविन्द केसीको आन्दोलनमा साथ दिएदेखि नै तपाईंलाई कलेज प्रशासनले निगरानी गरिरहेको थियो?
हुनसक्छ, यद्यपि ३ वर्षको आवासीय चिकित्सकको रुपमा कार्यरत समय मेरो जीवनमा सिकाईंको महत्वपूर्ण समय हो। यो समय मेरो लागि एक काँचो माटो हो, यसलाई कस्तो आकारमा ढाल्ने भन्नेमा यस समय महत्वपूर्ण रहन्छ। मैलै यही आधारमा नै जीवनभर चिकित्सकीय कर्म निर्वाह गर्ने हो। ३ वर्षको समय पूर्णरुपमा सिकाईमा नै बिताउने लक्ष्यका साथ म आजभोली अन्य अतिरिक्त कार्यमा संलग्न भएको थिइनँ। तर कलेज प्रशासनको असह्य पेलान तथा स्वास्थ्य शिविरबाट जीवन मरणको दोसाँधमा साथीलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने अवस्थाले मलाई कलेजको प्रशासनको गलत प्रवृतिमाथि बोल्न बाध्य गरायो।
आवाजका परिणामहरु कति जोखिमपूर्ण हुन सक्छन् भन्ने जानेरै यसरी अघि सर्नुभएको हो?
यसबारे धेरै नै सोच विचार पश्चात् मात्रै आवाज उठाइएको हो। यस विषयमा आवासीय चिकित्सकका रुपमा कार्यरत्त सम्पूर्ण साथीहरुको एक मत रहेको अवस्था छ। कसरी र कहिले आवाज उठाउने भन्ने दिनको प्रतिक्षामा हामी थियौं।
यसबारे आवाज उठाउनका लागि अगाडि बढ्ने क्रममा मैलै धेरै सोच विचार पनि गरें। मैलै आवाज उठाइरहेका व्यक्तिसँग लड्न सक्दिन भन्ने पनि मलाई थाहा छ। यद्यपि म सत्यको पछाडी मात्रै लागेको हुँ। यो घटना यतिकै साम्य भएको अवस्थामा पनि आगामी दिनमा समेत मैलै कुनै तनावको स्थितीको सामना गर्नुपर्छ भन्ने समेत मलाई थाहा छ।
तपाईंले उठानुभएको यस आवाजलाई अन्य मेडिकल कलेजमा रहेका आवासिय चिकित्सकहरुले पनि साथ देलान् भन्ने लाग्छ?
यसमा सबै मेडिकल कलेजका आवासीय चिकित्सकहरुले साथ दिनुहुन्छ भन्नेमा म सकारात्मक रहेको छु। यो मेरो व्यक्तिगत लाभका लागि नभई सम्पूर्ण आवासीय चिकित्सकहरुको हक हितका लागि हो। आगामी नयाँ पुस्ताले यस्ता समस्याको सामना गर्नुनपरोस् भन्नका पनि यो मेरो आवाज हो। काठमाडौं मेडिकल कलेजमा मात्रै नभई अन्य निजी मेडिकल कलेजहरुमा समेत यस प्रकारको समस्या रहेको छ। यद्यपि यसबारे आवाज उठेको छैन, मेरो आवाज एकीकृत भएको अवस्थामा त्यसले ठूलो रुप लिन सक्छ। हामीसँग आधिकारिक संघ संस्थाहरुसमेत नभएको अवस्थामा आवाज बुलन्द गराउनमा समेत समस्या छ।
यो मेरो मात्रै नभई सरकारी तथा निजी मेडिकल कलेजमा कार्यरत्त सम्पूर्ण आवासीय चिकित्सकको आवाज हो।