काठमाडौं- बाल उपचारका लागि सरकारी स्तरबाट स्थापना भएको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पताल आजबाट ६२ औ वर्षमा प्रवेश गरेको छ। सन् १९६३ सालमा ५० शय्याबाट सुरु भएको उक्त अस्पतालले ६१ औं वर्ष पार गरी ६२ औं वर्षमा प्रवेश गरेको हो।
कान्ति अस्पतालमा एक वर्षमा करिब १ लाख ९९ हजार २ सय ५६ जनाले सेवा लिएको अस्पतालका निर्देशक डा पकंज राय बताउँछन्। अस्पताल आइपुगेका १ सय ८५ जना बालबालिकाको मृत्यु भएको छ।
रेफरल सेन्टरको रुपमा रहेको उक्त अस्पतालले ओपिडी तथा इमर्जेन्सीमा गरी दैनिक १ हजार भन्दा बढी बालबालिकाहरुलाई उपचार सेवा दिदैं आइरहेको छ। जाडोयाममा खासै समस्या नभएपनि गर्मीको समयमा एउटै बेडमा ३ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अझै पनि अस्पतालमा रहेको निर्देशक राय बताउँछन्।
३५२ बेडमा सञ्चालित उक्त अस्पतालका स्वास्थ्यकर्मीहरुले अझै पनि अत्याधिक चापकाबीच काम गर्नुपर्ने बाध्यता रहेको निर्देशक राय बताउँछन्। अस्पताललाई डिपिआर सम्झौतामार्फत् १ हजार बेड संख्यामा परिणत गर्न सकेको अवस्थामा स्वास्थ्य सेवा प्रवाहमा सहज हुने निर्देशक राय बताउँछन्।
अस्पतालमा हाल रहेको जनशक्तिलाई ओनएम सर्भे मार्फत् बढाउन सकेको अवस्थामा सेवा प्रवाहमा सहज स्थिती आउन सक्ने उनको दाबी छ। कान्ति बाल अस्पतालले विं सं २०७४ साल पौष १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु भएको सामाजिक सेवा एकाईको तथ्यांक रहेको छ।
अस्पतालले सामाजिक सेवा इकाई अन्तर्गत गरिब, असहाय तथा अपांगताको परिचयपत्र भएको व्यक्तिलाई उपचार सेवामा विशेष छुट दिदैं आइरहेको छ। अस्पतालले २०७९/०८० मा ९८७ बालबालिकाहरुलाई करिब ७७ लाख ५७ हजार ५ सय ५० रुपैयाँ बराबरको उपचार रकम छुट दिएको छ। अस्पतालमा हाल ५३४ जना कर्मचारी कार्यरत रहेका छन्।
त्यस्तै अस्पतालले विपन्न नागरिक औषधोपचार अन्तर्गत विं सं २०७९/०८० मा क्यान्सर भएका ३४१ जना, मिर्गौला रोगका १५७ बालबालिकाहरुको निःशुल्क उपचार गरेको सामाजिक सेवा इकाईको तथ्यांक छ।
अस्पतालको सामाजिक सेवा इकाईलाई चुस्त दुरुस्त बनाउने प्रयास गरिएपनि यस इकाई सञ्चालनमा समस्या देखिएको छ। लक्षित समूहका बिरामी र अभिभावकले देख्नेगरी अस्पताल परिसरमा प्रचार प्रसार सामग्री व्यवस्था गर्नुपर्ने तथा अस्पतालका तल्लो देखि माथिल्लो तहसम्मका कर्मचारीले राजनैतिक दबाबमा शून्य सहनशिलताको पालना गरी सामाजिक सेवा इकाईमा देखिएको समस्यालाई समाधान गर्न सकिने छ।