नेपाल एक कृषि प्रधान देश हो। यहाँका अधिकांश मानिसहरू कृषि पेशामा आश्रित छन्, जुन प्राय निर्वाहमुखीर परम्परागत प्रणालीबाट नै हुने गरेको पाइन्छ। तर ज्ञानविज्ञान, प्रविधि तथा संचार क्षेत्रको प्रभावका कारण बिस्तारै यस क्षेत्रमा पनि व्यवसायिक पद्दति तथा आधुनिक प्रविधिको प्रयोगहुन थालेको पाइन्छ। नेपालमा कृषि क्षेत्रको अर्को विशेषता भनेको यहाँका किसानहरू मिश्रित प्रकारको कृषिकर्म गर्ने गर्दछन्। चाहे त्यो खेति गर्ने कुरामा होस वा पशुपालनको क्षेत्रमा। धान, मकै, तरकारी होस वा तेल,मसला सकभर किसानहरू आफ्नै खेतमा उत्पादन गर्ने गर्दछन् भने पशुपालनका क्षेत्रमा पनि प्राय किसानहरू एक भन्दा बढी प्रकारका पशुपंछीहरू आफ्नो घरमा पाल्ने गर्दछन्। त्यसो त देशको आर्थिक क्षेत्रमा पनि कृषि क्षेत्रको उल्लेख्य योगदान रहने गरेको पाइन्छ। देशको कुल ग्राहस्थ उत्पादनमा ३३ प्रतिशत हिस्सा कृषि क्षेत्रको रहेको पाइन्छ।
नेपालमा कृषिकर्म गर्ने मानिसहरूलाई समाज तथा सरकारले समेत त्यती महत्व दिने गरेको पाईदैन। त्यसोत पढेलेखेका मानिसहरू पनि अन्य पेशा व्यवसायमा असफल भएभने मात्र कृषि पेशामा आउने गरेको पाइन्छ। जसले गर्दा यो पेशालाई सम्मानको पेशा बनाउन सकिराखिएको छैन। कृषि कर्मको कुरा गर्दा यसमा मुख्यगरी खेती किसान र पशुपालन किसान गरी दुई भागमा बाड्ने गरिन्छ। तर पनि नेपालमा अधिकांश किसानहरू मिश्रित प्रणाली अवलम्वन गरी खेती किसानी तथा पशुपालन गर्ने गरेको पाइन्छ। कृषि एक महत्वपूर्ण पेशा वा व्यवसाय होजुन मानिसका आधारभूत आवश्यकता खाना र नानासँग त सम्बन्धित छ नै, त्यससँगै मानव जीवनमा सुख र समृद्दिको आधार तथा देश विकासको मेरुदण्डका रुपमा पनि लिने गरिन्छ। त्यसैले यसलाई सम्मानित र सुरक्षित पेशाका रुपमा स्थापित गराउन सक्नुपर्दछ। सुरक्षाको कुरा गर्दा एउटा आर्थिक सुरक्षाको कुरा आउछ भने अर्को स्वास्थ्य सुरक्षा। तर यतिखेर यहाँ स्वास्थ्य सुरक्षाको कुरा गर्न खोजिएको छ र त्यो पनि पशुपालन व्यवसायमा संलग्न किसानहरूको स्वास्थ्य सुरक्षाको कुरा।
जुनसुकै पेशा र व्यवसायमा पनि केही न केही स्वास्थ्यसँग सम्बन्धित जोखिमहरू रहने गर्दछन्। त्यसैले उक्त पेशा वा व्यवसायमा संलग्न हुनु पूर्व व्यवसायीहरुलाई त्यस्ता पेशागत जोखिमहरुको बारेमा पूर्व जानकारी हुन अति जरुरी पर्दछ। जसलाई हामी प्रोफेशनल प्रिपरेशनको एक अभिन्न अङ्गका रुपमा लिने गर्दछौ। तर पनि हामीकहाँ बिना कुनै तयारी मानिसहरू पेशा वा व्यवसायमा संलग्न हुने गरेको पाइन्छ। जुन कुरा व्यवसायीहरूका लागि आर्थिक तथा स्वास्थ्यको दृष्टिकोणमा निकै जोखिमपूर्ण मानिन्छ।
नेपालका अधिकाशं किसानहरू निर्वाहमुखी खेति तथा पशुपालन गर्ने हुनाले अधिकांश किसानहरूको घरमा खेतीसँगै बिभिन्न प्रकारका पशुपंछीहरू पनि पालिराखेको पाइन्छ। उदाहरणको रुपमा कुनै किसानको घरमा गएर हेर्ने हो भने २-४ वटा हांस ( कुखुरा, भेडा(बाख्रा तथा गाई(भैँसी तथा सुगुर बंगुरहरूजस्ता जनावरहरूपालिराखेका देख्न पाइन्छ। त्यतिमात्र होईन प्राय घरहरूमा कुकुर (बिराला जस्ता जनावरहरू पनि पालिराखेको पाइन्छ। र किसानहरू आफूले पालेका पशुपँछीहरू सँग निकै नजिकको सम्मपर्कमा रहने गरेको तथा कयौँ किसानहरूको खाना खाने ठाउं तथा सुत्ने ओच्छ्यान समेत गोठ वा खोरसंगै रहेने गरेको पनि हामीले देखे सुंनेका छौँर यस्ता अभ्यासहरूले वर्षौँदेखि निरन्तरता पाइराखेकोपाइन्छ।
निश्चय पनि पशुपन्छीहरूलाई मानिसले विभिन्न रुपमा प्रयोगमा ल्याउने गर्दछन्। मासुलाई प्रोटिनको राम्रो स्रोतमानिन्छ भनेऊन, छाला, हाड, मलमुत्र पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छन् त्यसो त आजपनि कैयौँ क्षेत्रमा जनावरहरूलाई यातयाततथा ढुवानीको साधनका रूपमा पनि प्रयोग गरिदैँ आएको पाइन्छ। हिन्दु समुदायमा त जनावरहरूको महत्व मानिसका जन्मदेखि मृत्यु सम्मका सामाजिक, सास्कृतिक तथा धार्मिक रीति( रिवाज तथा संस्कारहरूमा रहने गर्दछ। अन्य धर्म र समुदायहरुमा पनि जनावरहरुको सामाजिक तथा धार्मिक महत्व रहेको पाइन्छ। किसानहरूको जनावरसँगको सामिप्यतताको कुरा गर्दा अन्य पेशा र व्यवसायका मानिसहरू भन्दा यिनीहरू जनावरहरूसंग निकै नजिकको सम्पर्कमा रहने गर्दछन्। तर पनि किसानहरूमा पशुपन्छीहरू मानिसलाई रोग लगाउन सक्ने कैयौँ रोगका श्रोतहरू पनि हुन सक्छन् भन्ने विषयमा जानकारी भने नभएको पाइन्छ।
अध्ययनहरूका अनुसार मानिसमा लाग्ने अधिकांश रोगहरू जनावर जन्य श्रोतबाट आउने गर्दछन् जसलाई हामी जुनोटिक रोग भनेर भन्ने गर्दछौँ। र यस्ता रोगहरूको मुख्य जोखिम पशुपन्छीहरुको प्रत्यक्ष सम्पर्कमा रहने किसान तथा तिनका परिवारहरूलाई हुने गर्दछ। त्यसैले पशुपालनमा संलग्न किसानहरूलाई हामीले पालेका पशुपन्छीहरूविभिन्न प्रकारका रोगका श्रोत पनि हुन सक्दछन् भन्ने विषयमा सुसुचित गराउनु न आवश्यक छ।
हालै नेपालको हिमाल, पहाड र तराईलाई आधार मानेर गरिएको एक अध्ययनमा नेपालका पशुपालक किसानहरूमा जुनोटिक रोगसम्बन्धी रहेको ज्ञान, धारणा तथा अभ्यासको आधारमा नेपालका किसानहरू जुनोटिक रोगको जोखिममा छन् कि छैनन्? स्वास्थ्यको दृष्टिकोणबाट नेपालको पशुपालन क्षेत्र सुरक्षित छ कि छैन भनेर हेरिएको थियो। कुल ३८० जना किसानहरूमा पशुपँछीहरूसँग सम्बन्धित जुनोटिक रोगहरूलाई आधार मानेर गरिएको अध्ययनको निष्कर्ष नियाल्दा अधिकांश किसानहरूले जुनोटिक वर्ड फ्लु र रेबिज रोगको विषयमा तथा आधाभन्दा बढी किसानहरुले स्वाईन फ्लु रोगका विषयमा सुनेको बताएता पनि यी रोगहरुका विषयहरूमा क्रमश वर्ड फ्लु ५.३५, रेबिज १९.५५ तथा स्वाईन फ्लु २३.४२ किसानहरुमा मात्र राम्रो ज्ञान भएको पाईयो।
तर अध्ययन गरिएका अन्य रोगहरू जस्तै जनावरहरुबाट सर्ने टि बी, नाम्ले जुकाका कारण हुने दिमागको रोग (न्यूरोसिस्टिसार्कोसिस), तथा बुर्सोलोसिसका बारेमा भने निकै कम किसानहरूले मात्र सुनेका तथा लगभग सबै किसानहरूमा यि रोगहरुका विषयमा राम्रो ज्ञान पाइएन।जुनोटिक रोग सम्बन्धमा भएको ज्ञान सम्बन्धी तथ्याङ्कलाई विश्लेषण गर्दा समुदायमा बारम्बार फैलिइरहने, लामो समयदेखि रहिरहेका तथा मृत्युदर बढी भएका जुनोटिक रोगहरूमा किसानहरूको ज्ञान सामान्य पाईएता पनि स्थानीय रोगका रुपमा समुदायमा पाइने अन्य कैयौँ जुनोटिक रोगहरुका सम्वन्धमा किसानहरु बेखवर रहेको पाइयो। यसै सन्दर्भमा जिल्लास्तरबाट हुने माशिक प्रतिवेदनहरु अनुसार जुनोटिक रोगहरूको नेपालमा जोखिम रहेको देखिएता पनि रोगहरू नियन्त्रणका लागि नेपाल सरकारले ठोस कार्यक्रमहरू संचालनमा रहेको पाइदैन। जसले गर्दा नेपाली किसानहरूजुनोटिक रोगको उच्च जोखिममा रहेको कुरा सजिलै बुझ्न सकिन्छ।
त्यसैगरी जुनोटिक रोगबाट बच्नका लागि गरिने अभ्यासहरूलाई नियाल्दा आधा भन्दा केहि बढी प्रतिशत किसानहरूले मात्र पशुपन्छीहरूको स्याहार सुसार गरेपछि नियमित रुपमा साबुन पानीको प्रयोग गरेर हात धुने गरेको पाइयो। भने निकै न्यून प्रतिशत किसानहरूले मात्र आवश्यक अनुसारमाक्स , पन्जा तथा बुटको प्रयोग गरी जनावरको स्याहार सुसार तथा गोठको काम गर्ने गरेको पाइयो। अध्ययनमा सहभागि भएकामध्ये करीब दश प्रतिशत किसानहरूले मरेका जनावरहरू नजिकको नदी, खोला तथा खोल्सामा फाल्ने गरेको पाइयो। त्यसैगरी करीव दुईतिहाइ किसानहरूको घरमा बालबच्चाहरू जनावरसँगको नजिकको सम्पर्कमा रहने गरेको तथा करीब त्यतिकै संख्यामा किसानहरूको घरमा महिलाहरू गर्भवती हुँदा पनि नियमित रुपमा जनावरहरूको स्याहार, सुसारको काम गर्ने गरेको पाइयो। त्यतिमात्र नभई केहि किसानहरुले बिरामी जनावरहरूको मासु समेत खाने गरेको बताउनुभयो भने करीब दुईतिहाइ किसानहरूले आफूले पालेका जनावरहरूलाई कुनैपनि खोप नलगाएको बताउनुभयो। अतः जुनोटिक रोगहरूबाट बच्नका लागि गरिनुपर्ने बचाउका उपायहरूको अभ्यास सम्बन्धी तथ्याङ्कलाई विश्लेषण गर्दा सजिलैसँग अवलम्बन गर्न सकिने सजिला अभ्यासहरू जस्तैस साबुन पानीले हात धुने, माक्स, पन्जा, बुट जस्ता अभ्यासहरू पनि अपेक्षाकृत राम्रो पाइएन।
जुनोटिक रोगहरूका सम्बन्धमा पशुपालक किसानहरूमा रहेको धारणा सम्बन्धी तथ्याङ्कलाई नियाल्दा आफूले पालेका जनावरहरूबाट पनि हामीहरुलाई रोगहरू सर्न सक्छन भनेर जोखिमको शङ्का गर्ने तथा जुनोटिक रोग लागि हालेमा त्यसले पुर्याउन सक्ने जोखिम प्रति सहमत हुने किसानहरूको संख्या नब्बे प्रतिशत भन्दा बढि पाइयो। त्यत्तिकै संख्यामा किसानहरू साबुनपानीले हात धुने तथा माक्स, पन्जा, बुट जस्ता सामाग्रीहरूको प्रयोगले जुनोटिक रोगबाट बच्न सकिन्छ भनेर विश्वास गर्ने गरेको पाईयो। तर करीब आधाजति किसानहरु साबुनपानीले हात धुने, माक्स, पन्जा, बुट जस्ता सामाग्रीहरुको नियमित प्रयोग लागि समय तथा पैसाको समस्या हुने कुरा बताउनुहुन्छ। त्यसैगरी जुनोटिक रोग नियन्त्रणका क्षेत्रमा आएको नयाँ अवधारण एक स्वास्थ्य नीति, जसले बहुक्षेत्रीय समन्वयमा जुनोटिक नियन्त्रण सम्बन्धी कार्यक्रमहरू गर्नुपर्ने कुरा गर्छ।
यसरी जुनोटिक रोगहरू सम्बन्धमा किसानहरूको धारणा सम्बन्धी तथ्याङ्कलाई विश्लेषण गर्दा अधिकांश किसानहरूमा जुनोटिक सम्बन्धमा सकारात्मकशंका, सकारात्मक डर, स्वास्थ्यकर व्यवहार अवलम्बनका फाईदा, असल अभ्यास अवलम्बनमा आईपर्ने व्यवधानहरूमा किसानहरूको धारणा राम्रो भएको पाइयो। तथ्याङ्कलाई गहिरो विश्लेषण गर्दा किसानहरूमा जुनोटिक रोगका सम्बन्धमा राम्रो धारणा भएपनि त्यस अनुसारको अभ्यास भने अपेक्षाकृत राम्रो पाइएन।
नेपालमा जुनोटिक रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपँछी मन्त्रालय मुख्य नेतृत्वदायी निकायहरू हुन् भने अन्य विभिन्न सङ्घ संस्थाहरूले पनि यसमा काम गरिरहेको पाइन्छ। तर पनि जुनोटिक रोग नियन्त्रणमा अपेक्षाकृत सफलता हात पार्न सकिएको देखिदैन। त्यसो त जुनोटिक नियत्रणका लागि राज्यले आवश्यकता अनुसारको बजेट तथा उपयुक्त नीति पनि तय गर्न सकेको देखिँदैन। एकातिर रोगहरूको बारेमा जानकारीको अभावमा सङ्क्रमित पशुपन्छीहरूको स्याहार सुसारको समयमा पनि सुरक्षाका उपायहरू अवलम्बन गर्ने गरेको पाईदैन। भने अर्कोतिर अध्ययन अनुसन्धानको अभावका कारण कुन क्षेत्रमा कुन रोगको जोखिम बढी छ अथवा समुदायमा जुनोटिक रोगको अवस्था कति छ भनेर भन्न सकिने अवस्था पनि छैन।
नेपालमा यस प्रकारका रोग तथा समस्याहरूका लागि राज्यले सक्रिय भइ कार्यक्रम संचालन गर्नु भन्दापनि रोग तथा घटनाहरू घटिसकेपछि प्रतिक्रियाशिलकार्यक्रमहरू संचालन गर्ने गरेको पाइन्छ। जसले गर्दा समयमा नै रोग तथा समस्याहरूलाई नियन्त्रण गर्न कठिनाई भई रोगले भयावह अवस्था सिर्जना गर्ने गरेको पाइन्छ। यदी पशुपन्छीजन्य पेशामा संलग्न किसान तथा व्यवसायीहरूलाई यस्ता विषयबस्तुहरूस जस्तै पशुपँछीहरूबाट मानिसलाई सर्नसक्ने रोगहरू, त्यस्ता रोगहरूका लक्षण चिन्ह तथा बच्ने उपाय र समयमानै सम्बन्धित निकायहरूमा जानकारी गराउने परिपाटीको विकास गर्न सकिएमा रोगहरूको समयमा नै पहिचान भै नियन्त्रण गर्न सहयोग पुग्नेछ। भर्खरै मात्र विश्वले भोगेको कोभिड १९ रोग पनि शुरुवाती अवस्थामा चीनको वुहान प्रान्तको जिउँदा पशुपँछीहरू बेचबिखन गर्ने ठाँउमा देखिएको र त्यहीबाट फैलिएको कुरा अहिले सम्मका तथ्यहरूले पुष्टी गरेको पाइन्छ। त्यसैले यदि वुहानका व्यवसायीकहरूमा जुनोटिक रोगहरूको बारेमा सामान्य मात्रै भएपनि जानकारी भै समयमानै सम्बन्धित निकायहरूमा जानकारी गराउन सकिएको भए कोभिड १९ लाई श्रोतमा नै नियन्त्रण गर्न पनि सकिन्थ्यो होला र यसो भएको भए सायद विश्वका बाँकी मानिसहरूले कोरोना रोग र शोक व्यहोर्नु पर्दैनथ्यो होला। त्यसैले हरेक राज्यले आफ्नो स्वास्थ्य नीति तर्जुमा गर्दा यस्ता विषयहरुमा ध्यान दिन सक्नु पर्दछ।
जुनोटिकरोग नियन्त्रणका लागि अवलम्बन गरिनुपर्ने सामान्य उपायहरू
नेपाल एक कृषिप्रधान तथा विकासोन्मुख मुलुक भएको हिसाबले जुनोटिक रोगनियन्त्रण तथा व्यवस्थापनका लागि निम्नअनुसारका लागत प्रभावकारी रणनीतिका साथ कार्यक्रमहरू सन्चालन गर्नुपर्ने देखिन्छ।
१ पशुपालन पेशामा रहेका ब्यक्तिहरूलाई पशुपन्छीबाट मानिसलाई सर्नसक्ने रोगहरू सम्बन्धमा पशु स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयको संयुक्त पहलमा वार्षिक रूपमा कम्तिमा १-२ दिनको भएपनि अभिमुखिकरण कार्यक्रम संचालन गर्नुपर्ने।
२ कम्तिमा पनि माध्यामिक तहको पाठ्यक्रममा जुनोटिक रोग सम्बन्धी विषयबस्तुहरू समेटेर यस अन्तर्गतका मुख्य मुख्य रोगहरू र ति रोगहरुको वर्तमान अवस्था जुनोटिक रोगहरूबाट बच्ने उपायहरूसाथै यी रोगहरूबाट बच्न नेपाल सरकारले उपलब्ध गराएका सेवा सुविधाहरूका बारेमा समेत सुचनाहरू पाठ्क्रममार्फत नै हस्तान्तरण गर्न सकेमा बिद्धालय र बिद्यार्थीहरू मार्फत समुदायमा सूचना हस्तान्तरण भै रोग नियन्त्रणमा सहयोग पुग्नेछ।
३ सङ्घीयतासँगै प्रत्येक स्थानीय तहहरूमा एउटै छानामुनी शिक्षा, स्वास्थ्य, भेटनरी, कृषि, खानेपानि जस्ता सेवामूलक शाखा कार्यालयहरू रहेकोले यसलाई अवसरका रूपमा लिएर समन्वयात्मक ढंङ्गले योजना बनाई एक स्वास्थ्य नीतिको अवधारणा अनुसार काम गरेमा रोग नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न सक्छ।
४ सरकारले आफ्ना स्वास्थ्य नीति तथा कार्यक्रमहरुमा मानव तथा पशुपन्छीमा देखिने सरुवा रोगहरु बिरुद्द भ्याक्सिन लगाएतका कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयनको नीति लिनुपर्ने देखिन्छ।
५ त्यसैगरी हाल देशका प्रत्येक वडाहरूमा कम्तीमा एउटा आधारभूत स्वास्थ्य केन्द्र तथा पशु सेवा केन्द्रहरु छन् त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरूमार्फत विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, किसान तथा सर्वसाधारण लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम वा जुनोसिस सम्बन्धी चेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गरी घरघरमा तथा किसानका गोठ गोठमा पुर्याउने गरी कार्यक्रम संचालन गर्न सकेमा समुदायका मानिसहरुमा स्वास्थ्य प्रतिको ज्ञान धारणा र ब्यवहारमा सकारात्मक परिवर्तन आउनेछ।
यदि यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्न सकेको खण्डमा नेपालको पशुपालन पेशा जुनोटिक रोगहरूको दृष्टीकोणबाट सुरक्षित मानिनेछ भने समुदायमा यस प्रकारका रोगहरूको प्रकोपमा समेत न्यूनिकरण आई किसानहरुको मात्र नभई देशको समग्र आर्थिक अवस्थामा समेत सहयोग पुग्नेछ तथा रोग नियन्त्रणका लागि राष्ट्रले गरेका संकल्पहरु जस्तै सन् २०३० सम्ममा रेबिज रोगलाई न्यूनिकरण गर्ने राष्ट्रिय संकल्प तथा तय गरेका अन्य लक्ष्यहरु समयमानै पुरा गर्नमा समेत कोशेढुङ्गा सावित हुनेछन।
(लेखक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायमा विद्यावारिधी गर्दैछन्।)