काठमाडौं- नेपाल मेडिकल काउन्सिलले ३६ जना गैर–आवासीय नेपाली (एनआरएन) चिकित्सकहरूलाई दर्ता सूचीबाट हटाएको निर्णयप्रति अमेरिका–नेपाल मेडिकल फाउन्डेशनले गम्भीर चिन्ता र असहमति व्यक्त गरेको छ। फाउन्डेशनले एक प्रेस विज्ञप्ति जारी गर्दै केवल विदेशी नागरिकता लिएकै आधारमा दक्ष चिकित्सकहरूलाई निष्कासन गर्नु नेपालको संविधानको मर्म र अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको बताएको छ। काउन्सिलको नियामक भूमिकाको सम्मान गरे तापनि यो कदमले देशको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने फाउन्डेशनको ठहर छ।
फाउन्डेशनका अनुसार हटाइएका चिकित्सकहरू आफ्नो कार्यक्षेत्रमा पूर्ण रूपमा योग्य, लाइसेन्स प्राप्त र विशिष्ट सेवामा दक्ष रहेका छन्। उनीहरूलाई कुनै क्लिनिकल अयोग्यता, नैतिक उल्लङ्घन वा पेशागत दुर्व्यवहारका कारण नभई केवल प्राविधिक र नागरिकताको आधारमा हटाइनु न्यायसंगत नभएको फाउन्डेशनले स्पष्ट पारेको छ। नेपालमा सहजै उपलब्ध नहुने जटिल उपचार र विशेषज्ञ सेवा दिइरहेका चिकित्सकहरू बाहिरिँदा स्वास्थ्य प्रणालीमै चुनौती थपिने विज्ञप्तिमा उल्लेख छ।
यस निर्णयले विश्वभर रहेका नेपाली चिकित्सक डायस्पोरामा गलत सन्देश प्रवाह हुने र यसको प्रभाव ३६ जनामा मात्र सीमित नरहने फाउन्डेशनले चेतावनी दिएको छ। लामो समयदेखि एनआरएन चिकित्सकहरूले नेपालको क्लिनिकल सेवा, शैक्षिक प्रशिक्षण, अनुसन्धान र प्रविधि हस्तान्तरणमा पुर्याउँदै आएको योगदानमा यसले अवरोध सिर्जना गर्ने बताइएको छ। यस्तो निर्णयले भविष्यमा सहकार्यका कार्यक्रमहरू रद्द हुने र नेपालको स्वास्थ्य क्षेत्रमा हुने वैदेशिक सहयोग र सद्भावमा समेत कमी आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
फाउन्डेशनले समस्या समाधानका लागि तत्काल प्रभावित चिकित्सकहरूको पुनः दर्ता गर्न र विदेशी नागरिकताकै आधारमा हुने थप निष्कासन प्रक्रिया रोक्न माग गरेको छ। साथै, एनआरएन चिकित्सकहरूको सहभागिताका लागि एक पारदर्शी र स्थायी नीतिगत ढाँचा तयार पार्न डायस्पोराका प्रतिनिधिहरूसँग अविलम्ब परामर्श गर्न समेत आग्रह गरेको छ। फाउन्डेशनले यो विषयमा काउन्सिलबाट निष्पक्ष र भविष्य–उन्मुख समाधान निस्कने अपेक्षा राखेको छ।
