दैलेख- दैलेखमा जटिल प्रसूति अवस्थाको सफल व्यवस्थापन गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएका छन्।
जिल्ला अस्पताल दैलेखका अनुसार सोमबार राति करिब ८ बजेतिर प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा कार्यरत डा. वर्षाले जिल्ला अस्पतालका डा. मनोज विश्वकर्मालाई फोन गरी एक गर्भवती महिलामा 'कर्ड प्रोल्याप्स' अर्थात् नाल बाहिर निस्किने गम्भीर अवस्था देखिएको जानकारी गराएकी थिइन्।
उक्त अवस्था अत्यन्त जोखिमपूर्ण भएकाले डा. विश्वकर्माले तत्काल बिरामीलाई जिल्ला अस्पताल रिफर गर्न तथा एम्बुलेन्ससँगै नर्स पठाउन सुझाव दिएका थिए।
प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एएनएम जमरा घर्ती मगरले बिरामीलाई जिल्ला अस्पताल पुर्याउने क्रममा योनिमार्गभित्र हात राखेर नाल थप बाहिर निस्किन नदिने प्रयास निरन्तर गरिरहेकी थिइन्।
करिब ९ः१५ बजेतिर एम्बुलेन्स जिल्ला अस्पताल दैलेख पुगेको थियो। बिरामी आउनुअघि नै डा. विश्वकर्माले नर्सिङ इन्चार्ज नैना गुरुङलाई शल्यक्रिया कक्ष तयारी अवस्थामा राख्न निर्देशन दिइसकेका थिए।
रक्तस्राव भइरहेकै अवस्थामा बिरामीलाई सिधै शल्यक्रिया कक्षमा लगिएको थियो। त्यहीँ गरिएको भिडियो एक्स–रे परीक्षणमा शिशुको मुटुको धड्कन प्रतिमिनेट ६० मात्र देखिएपछि थप परीक्षण नपर्खी तत्काल शल्यक्रिया गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।
बेहोस बनाउने प्राविधिक बिदामा रहेका कारण डा. मनोज विश्वकर्माले स्वयं बेहोस बनाउने सुई लगाएर शल्यक्रिया सुरु गरेका थिए।
अस्पतालका अनुसार गर्भवती महिलाले एकपटक पनि गर्भजाँच सेवा नलिएको र रगत परीक्षणको प्रतिवेदन आउन समय लाग्ने अवस्था रहेकाले ढिलाइ नगरी तुरुन्तै शल्यक्रिया गरिएको हो।
एएनएम जमरा घर्ती मगरले नौमुलेदेखि जिल्ला अस्पतालसम्म बिरामी ल्याउँदासम्म तथा शिशु जन्मिनुअघिसम्म योनिमार्गभित्र हात राखेर नाल बाहिर निस्किन नदिने काम सफलतापूर्वक गरिरहेकी थिइन्।
करिब १५ मिनेटको शल्यक्रियापछि नवजात शिशुको सफलतापूर्वक जन्म गराइएको थियो।
समयमै गरिएको निर्णय, चिकित्सकीय दक्षता तथा स्वास्थ्यकर्मीबीचको समन्वयका कारण आमा र शिशु दुवैको ज्यान जोगाउन सफल भएको अस्पतालले जनाएको छ।