काठमाडौं- नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) डाक्टर तथा दन्त चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोध सुरु भएको छ। बेलायतस्थित नेपाल डक्टर्स एसोसिएसनले उक्त निर्णयलाई ‘विभेदपूर्ण’ भन्दै तत्काल पुनर्विचार गर्न माग गरेको छ।
संस्थाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकता लिएको आधारमा मात्रै डाक्टर तथा दन्त चिकित्सकहरूको नाम दर्ता खारेज गर्नु अन्यायपूर्ण भएको उल्लेख गरेको छ। साथै प्रभावित चिकित्सकहरूको नाम सार्वजनिक गर्नु व्यावसायिक गोपनीयता र प्रक्रियागत न्यायको उल्लंघन भएको आरोप लगाइएको छ।
एनडीए यूकेका अनुसार गैरआवासीय नेपाली चिकित्सकहरूले नेपालमा स्वास्थ्य सेवा, तालिम, अनुसन्धान तथा मानवीय सहायता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन्। यस्तो अवस्थामा उनीहरूलाई अलग्याउने निर्णयले नेपालको अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यमा नकारात्मक असर पर्ने संस्थाको भनाइ छ।
संस्थाले नेपाल मेडिकल काउन्सिल र सम्बन्धित निकायसँग तत्काल निर्णय स्थगित गरी पुनर्विचार गर्न, कानुनी र पारदर्शी आधार सार्वजनिक गर्न, एनआरएन चिकित्सकहरूसँग संवाद गर्न तथा अन्तर्राष्ट्रिय अनुभव र योगदानलाई सम्मान गर्ने समावेशी नीतिगत व्यवस्था गर्न र गोपनीयता र प्रक्रियागत न्यायको उल्लंघन हुने सार्वजनिक विवरण प्रकाशन अभ्यास रोक्न आग्रह गरेको छ।
संस्था एनआरएन चिकित्सक समुदायको पक्षमा दृढ रूपमा उभिनेछ, एनडीए यूकेकी महासचिव डा. पारुल श्रेष्ठले बताएकी छन्।