काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्वविहीन बनेका अस्पताल, प्रतिष्ठान तथा स्वास्थ्यसम्बन्धी निकायहरूमा निमित्त प्रमुख नियुक्त गर्ने तयारी थालेको छ।
केही दिनअघि सरकारले जारी गरेको अध्यादेशअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न प्रतिष्ठान, काउन्सिल, बोर्ड, अस्पताल तथा चिकित्सा शिक्षा आयोगलगायत संस्थाका प्रमुख पद स्वतः रिक्त भएका थिए। त्यसपछि ती निकायहरू नेतृत्वविहीन बनेका हुन्।
मन्त्रालय स्रोतका अनुसार नेतृत्व अभावका कारण नियमित प्रशासनिक तथा सेवा प्रवाहका काम प्रभावित हुन थालेपछि अस्थायी रूपमा निमित्त जिम्मेवारी दिने प्रक्रिया अघि बढाइएको हो। हालसम्म नयाँ नेतृत्व नियुक्तिको औपचारिक प्रक्रिया सुरु नभएकाले पूर्णकालीन नियुक्ति हुन केही समय लाग्ने देखिएको छ। सो अवधिसम्म निमित्त प्रमुखमार्फत संस्थाको काम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार निमित्त नियुक्तिलाई सकेसम्म विवादरहित बनाउने प्रयास भइरहेको छ। त्यसका लागि मुख्य आधार वरिष्ठतालाई बनाइनेछ। 'वरिष्ठ कर्मचारीलाई प्राथमिकता दिने तयारी छ। तर वरिष्ठ व्यक्ति विवादित भएमा संस्थाभित्रकै अर्को निर्विवाद र सक्षम व्यक्तिलाई जिम्मेवारी दिन सकिने गरी छलफल भइरहेको छ,' मन्त्रालय स्रोतले भन्यो।
विशेषगरी अस्पताल, बोर्ड, स्वास्थ्य प्रतिष्ठान र नियामक निकायमा प्रशासनिक निर्णय, सेवा सञ्चालन तथा आर्थिक गतिविधि रोकिन नदिन तत्काल जिम्मेवारी तोक्नुपर्ने दबाब मन्त्रालयमाथि छ। मन्त्रालयका अधिकारीहरूका अनुसार अधिकांश संस्थामा यही हप्ताभित्र निमित्त जिम्मेवारी तोकिने सम्भावना छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार नेतृत्व रिक्त हुँदा नीतिगत निर्णय, कर्मचारी व्यवस्थापन, खरिद प्रक्रिया तथा सेवा प्रवाह प्रभावित हुने भएकाले मन्त्रालयले यो संक्रमणकालीन व्यवस्थापन अघि बढाएको हो।